जनधनको क्षति जोगाउन प्रभावकारी बन्दै पालिकाको दमकल

0
20

झापा,

शिवसताक्षी नगरपालिका–७ लालझोडामा आगलागीबाट छ वर्षअघि एकै परिवारका चार जनाको मृत्यु भएपछि स्थानीयवासीमा आक्रोश फैलिएको थियो ।

उक्त दर्दनाक आगलागीको घटना २०७५ साल मङ्सिर ९ गते राति भएको थियो । घटनापछि स्थानीयवासीको एउटै स्वर थियो, “नगरपालिका भन्या छ, एउटा पनि दमकल छैन ।” त्यसबेला शिवसताक्षी नगरपालिकामा दमकल थिएन । टाढाबाट दमकल आइपुग्न ढिलो भएको विषयले मिडिया र सामाजिक सञ्जालमा चर्चा पाउँदा नगरपालिकाको विरोध भएको थियो ।

विसं २०७९ मा नवनिर्वाचित नगरप्रमुख मेगाहाङ थोप्राले दमकल किन्ने प्रस्तावलाई नगरपालिकाको पहिलो बोर्डको बैठकबाट निर्णय गराउनुभयो । उहाँकै अग्रसरतामा पालिकाले लगत्तै दमकल खरिद गर्‍यो । त्यसपछि आगलागीका घटनामा क्षति रोक्न दमकलको भूमिका सकारात्मक देखियो । दुई वर्षमा आगलागीका घटनामा शिवसताक्षीमा एक जनाको पनि ज्यान गएको छैन ।

समयमै दमकल पुग्ने र आगलागी निभाउने भएकाले मानवीय र भौतिक दुवै क्षति रोकिएको हो । पालिकाले दमकल सञ्चालनमा ल्याएयताको दुई वर्षमा पालिकाभित्र ७७ स्थानमा आगलागीका घटना भएका छन् । सबै घटनामा आगो निभाउन पालिकाको दमकल पुगेको देखिन्छ ।

आर्थिक वर्षमा २०८०/८१ मा ४० स्थान र चालु आव २०८१/८२ मा ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाको दमकल टोलीको कमान्डर नवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार शिवसताक्षीको दमकलले नगरभित्र नभई झापा जिल्ला र अन्य स्थानमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।

नगरप्रमुख थोप्राले नागरिकको जीउधनको सुरक्षा पहिलो प्राथमिकता भएको हुँदा दमकललाई हरपल तयारीमा राखिएको र पर्याप्त साधन स्रोत उपलब्ध गराइएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले प्राकृतिक प्रकोप, आगलागी, दुर्घटनालगायत घटनामा क्षति न्यूनीकरण गर्न पालिकाको दमकलले पुर्याएको सेवा प्रशंसायोग्य रहेको बताउनुभयो ।

यही पुस २० गते धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र रहेको श्रीसताक्षीधाम गोवर्द्धन गौशालाको गाईगोठमा आगलागी भएको थियो । पालिकाको दमकल तुरून्तै पुगेर आगो निभाएका कारण ठूलो क्षतिबाट बचेको गौशालाका अध्यक्ष आचार्य नन्दकिशार भारद्वाजले जानकारी दिनुभयो । दमकलको प्रभावकारिता देखेका शिवसताक्षीका नगरवासी अहिले भन्न थालेका छन्, “छ वर्षअघि आफ्नै दमकल थियो भने लालझोडामा एउटै परिवारका चार जनाले अकालमा मृत्युवरण गर्नुपर्ने थिएन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here