अर्जुनधारा ।

जय भोले बाबा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण सम्पन्न भएको नेपाली कथानक चलचित्र विक्रम देवाको शनिबार एक कार्यक्रमकोबीच प्रिमियर सो सम्पन्न भएको छ ।
कुमार केसी निर्देशक र प्रताप मेचे निर्माता तथा अर्जुन मेचे सह निर्माता रहेको उक्त चलचित्रको बिर्तामोडस्थित पाथीभरा सिनेप्लाजामा प्रिमियर सो आयोजना गरिएको थियो ।
झापासँगै छिमेकी देश भारतको आसाम राज्यमा सघन बसोबास रहेको मेचे समुदायको संस्कृतिलाई पहिलो पटक अद्भुत कथाको रुपमा जोडिएको चलचित्र विशुद्ध पारिवारिक एवम् साथीसँगको सम्बन्धलाई जोगाउन अर्को साथीले आफ्नो मायाको समेत त्याग गरेको विषयवस्तुलाई उजागर गरिएको छ ।
चलचित्रमा निर्देशक केसीको लेखन तथा निर्देशन, कमल राईको कोरियोग्राफी, सन्तोष भूजेलको द्वन्द निर्देशन, विक्रम डिसीको फोटोग्राफी, बन्दे प्रसादको सम्पादन, विकास चौधरीको संगीत, दीपेन्द्र खड्काको रचना, दीपक लिम्बू र मेलीना राईको गायन रहेको छ ।
दुई घण्टा २१ मिनेट लामो चलचित्रलाई झापा र छिमेकी जिल्ला इलामको विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ । चलचित्रमा अभिनेताहरु सुनिल थापा “राते काँइला”, सुवास मेचे, प्रताप मेचे, पुकार भट्टराई, उर्मिला कार्की, भावना मगर, सकिला गुरुङ, विपिन प्रसाईं, रोहन सेन्च्युरी, रविन मेचे, सत्यम मेचे, टेकराज वि.क., अमर मेचेलगायतको अभिनय रहेको छ ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, कार्यपालिका सदस्य सन्तोष मेचे, चलचित्रका निर्देशक केसी, निर्माता एवम् अभिनेता प्रताप मेचे, सह निर्माता अर्जुन मेचे, अभिनेता सुवास मेचेलगायतको सहभागिता रहेको थियो ।
निर्माण पक्षले आगामी वैशाखमा रिलिज गर्ने तयारी गरेको उक्त चलचित्रको प्रिमियर सोका सहभागी दर्शकहरुले चलचित्र राम्रो र मन छुने भएको प्रतिक्रिया दिएका छन् ।