हुलमुलमा ज्यान गुमाउने मानिस सहिद मान्ने आम प्रचलन हो । सहिदको यो परिभाषा अपुरो होइन, यो त पुरै गलत हो । वास्तवमा सहिद भनेका मुलुकको रूपान्तरणका लागि, नवीन र नूतन संसारको निर्माणका लागि आफ्नो प्रिय जीवन बलिदान गर्ने नेपाल आमाका सन्तान हुन् । पछिल्लो समय हुलमुलमा परेर मर्ने र रिसइबी लगायतका कारणले मृत्युवरण गरेकालाई पनि सहिदको कोटीमा राख्ने क्रम पनि शुरु भएको छ । हाम्रोसामु वास्तविक सहिद को हुन् ? भनेर समकालीन नेपालमा अति नै अप्ठ्यारो प्रश्न उठेको छ । नेपाली बृहत् शब्दकोश अनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान दिएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन् भनी परिभाषित गरिएको छ । तर, अहिले सहिदका नाममा कुनै आन्दोलनका बेला घरमा बसेका व्यक्तिलाई गोली लागी मरेका वा कुनै निश्चित स्वार्थमा मारिएका व्यक्तिलाई पनि सहिद घोषणा गरिएको छ ।
वास्तवमा समाज र राष्ट्रको हितको लागि बलिदान दिने मात्रै सहिद हुन् । आन्दोलन तथा सशस्त्र द्वन्द्वका कारण बाटो हिँडिरहेका वा खेत वा कारखानामा काम गरिरहेका हुलमुलमा मारिएका आन्दोलन तथा सशस्त्र द्वन्द्वमा सम्बन्ध नरहेका व्यक्ति सहिद नभई पीडित हुन् । अहिलेसम्म को को वास्तविक सहिद हुन् भन्नेमा राजनीतिक दलहरूमै विवाद छ । सहिदको परिभाषामा समेत राजनीतिकरण भएको छ । सामाजिक, राजनीतिक, आर्थिक बेथिति र विसङ्गतिका बिरूद्धमा सचेत रूपमा राँको बोकेर यथास्थितिलाई धुस्नो बनाउने महासङ्कल्पका साथ क्रियाशील हुने क्रममा जीवन कुर्बानी गर्ने सहिदहरू सदैव स्तुत्य छन् र रहनेछन् ।
नेपाल आमाका वीर सपूत र क्रान्तिकारीहरूको असीम त्याग र समर्पणका कारणले नै आज हामी अहिलेको अवस्थामा छौं । त्यसैले त ‘सहिदको सम्झनामा’ कवितामा कवि भूपि शेरचन भन्छन्– ‘हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको, हामीले फेर्ने प्रत्येक सासमा धड्कन छ सहिदको ।’ आज बग्रेल्ती प्रश्न जन्मिएका छन्–घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने सहिदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति खुशी आयो ? सहिदका बलिदानले आजका कलिला नानीका गालामा कति उज्यालो आयो ? आज यी प्रश्नहरू फगत प्रश्नका रूपमा मात्र छैनन्, यी प्रश्नको सटिक उत्तरको प्रतीक्षा छ समयलाई । संसारको सबभन्दा शक्तिशाली भनेको समय हो । नेपालमा यतिबेला नेपालमा निराशा व्याप्त छ । निराशाका खेती गर्ने क्रम बढेर गएको पनि छ ।
नेपाली काङ्ग्रेस–नेकपा एमालेसहितको गठबन्धनको दुई तिहाइको अत्यन्तै बलियो सरकार छ । लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र अन्त्यहीन विवादको श्रृङ्खलाका बीचबाट गुज्रँदै आएको देशको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण सुस्त गतिमा छ । जनताको प्यारो भएर जनताको बीचमा आफूलाई श्रेष्ठ प्रमाणित गर्नुपर्नेमा आफै मपाईं बनेर जनताभन्दा माथि आफूलाई सम्झन थालेका छन् सबै । आठ दशकदेखिको नेपाली जनताको सपना हावामा धुलो झैं उड्दैछ । सहिदको बलिदानलाई ग्रहण गरी मुलुक र मुलुकबासीको हितमा कार्यक्रम र कार्ययोजना बनाई नेपाललाई केन्द्रविन्दुमा राखी नेपालका सबै दलहरू सोही अनुरूप अघि बढ्दा नेपाल विकास छिट्टै हुनेमा विश्वास गर्न सकिन्छ ।
विरोधाभाषपूर्ण कुरा के छ भने हातमा बन्दूक हुने बित्तिकै सत्ताको उन्मादले आफ्नै देशवासीलाई छातीमा गोली दाग्नेहरू सहिदका हिमायती बनेर लच्छेदार भाषण दिन सक्छन्, असीमित सहिद गाथा गाउन सक्छन् र आफ्नो नियन्त्रण र प्रभावमा रहेका टेलिभिजनका पर्दामा तप्लकतप्लक गोहीका आँसु झार्न सक्छन् । स्मरणशक्ति कमजोर हुनेका लागि उनीहरूको अभिनय वास्तविक लाग्न सक्छ र उनीहरू वास्तविक लोकतन्त्रका हिमायती लाग्न सक्छन् । तर समय भनेको भूत, भविष्य र वर्तमान सबैको समष्टि हो भन्ने बुझ्न जरुरी छ ।
यतिबेला नेपालमा जनताका आशा र अपेक्षाहरू आकाशिएका छन् । तर, सहिदको कसम खाएका दलहरू आफैंले जनसमक्ष आर्थिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने प्रतिबद्धता भुलिरहेका छन् र सत्ताको लुछाचुँडीमा कुकुर–बिरालाको खेलमा व्यस्त छन् । जनताको मूल चाहना आधुनिक, सम्पन्न र समृद्ध नेपालको निर्माण हो । मुलुकमा लोकतन्त्रको स्थापना गरी सोही अनुरूपको अभ्यासको माध्यमबाट अघि बढ्दा मात्र जनादेश र मतादेशको सम्मान हुने निश्चित छ । जनताका सामु श्रेष्ठता कायम गरेर मात्र शासन गर्नुपर्छ भन्ने मान्यता अनुरूप अघि बढ्दा निरङ्कुश शासकको कोपभाजनमा परेर वामपन्थी सोच र दर्शनका अनुयायीहरू बढी सङ्ख्यामा सहिद भएका छन् हाम्रो देशमा । साँच्चै भन्ने हो भने नेपाल कम्युनिस्ट पार्टीहरू त सहिदको विरासत नै हो भने हुन्छ । नेपालका हरेक गाउँबस्ती सहिदका गाउँ भएका छन् ।
सम्भवतः त्यस्तो कुनै गाउँपालिका वा नगरपालिका छैन, जहाँबाट कोही सहिद नबनेको नहोस् । सहिद भन्ने जति सजिलो छ, तर यो विषय कति कष्टदायक र सन्त्रासयुक्त हो भन्ने कुरा सहिद परिवारलाई मात्र थाहा हुन्छ । गोली लागेर कोही मर्नु नै सहिद हुनुको मापन हुन सक्दैन । सहिद परिवाका सामु सहिदको प्रशंसामा लच्छेदार भाषण गरेर माहौललाई शोकामग्न बनाउनु मात्र नेतृत्व्को दायित्व हुन सक्दैन । यो सच्चाइलाई ग्रहण गरेर सोही अनुरूपको व्यवहार लोकतन्त्रका लागि सङ्घर्ष गर्ने नेपाली काङ्ग्रेस तथा कम्युनिस्टरूले गर्न सकिरहेका छैनन् । विपना र यथार्थमा परिणत गर्नुभन्दा पहिला सपना देखिन्छ । पहिला सपना देखिन्छ र विपनाका लागि अघि बढिन्छ । सहिदहरूले स्वतन्त्रता, समानता र लोकतन्त्र स्थापनाका लागि सपना देखे र आम जनसमुदायको हितका लागि आफूलाई बलिदान दिन तयार भए ।
दुःखको कुरा के हो भने विभिन्न कालखण्डमा लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झना पनि धुमिल हुन थालेको छ । नेपालमा निरङ्कुश तथा जहानियाँ राणा शासनलाई जरैदेखि उखेलेर, फ्याँकेर त्यस ठाउँमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको शासन व्यवस्था स्थापना गर्ने कार्यमा कोशेढुङ्गाको काम गरेको थियो । सहिदको बलिदानकै कारण आज हामी खुला रूपमा आफ्ना विचारहरू राखिरहेका छौं । गौरव र स्वाभिमानका साथ शिर ठाडो पारेर स्वतन्त्रता र लोकतन्त्रका गीतहरू गाइरहेका छौं । आजको अवस्था सृजना गर्न सयौं, हजारौं महान देशभक्तहरूको त्याग, शौर्य र शहादतले प्रमुख भूमिका खेलेको छ । यो अवस्था सहिदको बलिदानले सम्भव भएको हो । आफ्नो पूरा आयु नबाँची देश र देशवासीका लागि आफ्नो जीवनको बलिदान गरेर अतुलनीय योगदान गरे सहिदहरूले । उनीहरूको नाम स्वर्ण अक्षरले इतिहासमा अङ्कित छ ।
आज सहिदको बलिदानको उपादेयताका सम्बन्धमा एउटा यक्ष प्रश्न हामी सामु उभिएको छ–इमानदार र स्वाभिमानी प्रवृत्तिका सहिदहरूले आफ्नो जीवनको कुर्बानी गरेर देशले के पायो र देशवासीले के पाए ? घनान्धकारमा चाँदनी झैं प्रकाश छर्ने सहिदहरूको बलिदानले मुलुकका विपन्न र दुःखीका अनुहारमा कति कान्ति आयो ? स्वाभिमानलाई लिलामी नगरी लाल रगत धर्तीमा पोख्ने सहिदका बलिदानले आजका कलिला नानीका गालामा कति लाली ल्यायो ? रूढीवादी, असमानता, शोषण र विभेदको पक्षपाती समाजलाई भत्काएर नवीन–नूतन समाजको परिकल्पना गर्दै सोही अनुरूप सङ्गठित रूपमा अघि बढ्दै जाँदा बलिबेदीमा होमिएका हुन् सहिदहरू ।
स्वतन्त्रताप्रतिको अगाध आस्थासहित दृढ सङ्कल्प बोकेर देशमा व्याप्त अत्याचारका बिरुद्धमा बिगुल फुक्ने सहिदको पुकार आज कहाँ हराइरहेको छ ? वैचारिक रुपमा लोकतन्त्र र गणतन्त्रका लागि हाँसीहाँसी तातो गोली थापेका नेपाल आमाका सर्वोत्तम सन्तानहरूको रगतको मूल्यको मूल्याङ्कन भइरहेको छ ? मुठी उचालेर क्रान्तिकारी बाटो चुन्नु भन्न जति सजिलो छ, व्यवहारमा त्यति नै अप्ठेरो छ । मानिसका लागि आफ्नो जीवनभन्दा प्यारो केही हुन्न, तर सहिदका लागि त मुलुक र मुलुकवासी आफ्नो प्राणभन्दा प्यारा भए । हाँसी–हाँसी गोली थाप्नु कहाँ सजिलो छ र ! समाजलाई निरङ्कुशताका जञ्जिरले बाँधेका बेलामा यथास्थितिका बिरुद्धमा सतीसाल झैं उभिनु र सबैभन्दा प्रिय आफ्नो जीवन नै बलिदान गर्नु भन्न जति सजिलो छ, व्यवहारलाई सम्झँदा मात्र पनि बाँचेकाको लागि मन भय र त्रासले भरिन्छ । भोकानाङ्गा जनताका लागि सहानुभूति देखाउनु र उनीहरुका लागि जीवनको न्यौछावर गर्नु चानचुने कुरा होइन ।
लोकतन्त्र विरोधी राणा शासन र पञ्चायतका हिमायती मात्र होइन, बहुदलीय व्यवस्थाभित्रका सरकारहरूले पनि बौलाएर सकारात्मक सोचका धनी नेपाल आमाका हजारौंहजार सन्ततिमाथि गोली बर्साए । वर्षौंवर्षसम्म जेलभित्रका सेलहरूमा बन्दी बनाइयो र कुनै अमूक निर्जन वनमा कुनै कालो रातमा प्राणपखेरु उडाइयो । निरङ्कुश शासकका अभेद्य जालो च्यातेर अकरिला उकालो हिँड्दा सहिदहरू कहिले पनि शिर निहुराएर लत्रेनन् । लोकतन्त्रका लागि बरु मृत्य रोजे, तर कहिल्यै झुकेनन् । तर, वास्तविकता भनेको लोकतन्त्र र स्वतन्त्रताका लागि बलिबेदीमा चढेका नौजवान नेपाल आमाका महान सन्तान हुन् र हामी सदैव शहीदहरूको ऋणी रहनेछौं ।
आज शहीदले देखाएको बाटोबाट विचलित भएर व्यक्तिगत स्वार्थ र दलगत आग्रहको दलदलमा फँस्दै गएका छन् नेताहरू । नक्कली र ढोङ्गी नेताहरूको भाषण सुन्दा जनता आफैं भ्रममा पर्न सक्छन्, त्यति बेला सहिदको बलिदान फिका लाग्न सक्छ । तसर्थ सहिदका सपनाको जिम्मेवारी लिने र उनीहरूले देखाएको मार्गमा मुलुकलाई डो¥याउने नेतृत्वको मूल कार्यभार हो । ओजस्वी विचारका धनी सहिदहरूले दिशानिर्देश गरेको बाटोमा मुलुकको मूल नेतृत्व हिँड्न जरुरी छ । आज हामीले घोत्लिनुपर्ने बेला आएको छ–सही बाटो हिँड्दै छौ कि सहिदले देखाएको बाटो भुल्यौँ कि भनेर प्रश्न गर्नुपर्ने भएको छ ।