चारपाने,
झापाको चारपानेस्थित विवेकाश्रममा गणेश पुराणको अनुष्ठान प्रारम्भ भएको छ।
विवेकाश्रम र त्यहाँ सञ्चालित साङ्गवेद संस्कृत माध्यमिक विद्यालय को ५४औं वार्षिक उत्सव अन्तर्गत यस वर्ष गणेश पुराणको आयोजना गरिएको संस्थाका अध्यक्ष किशोर कुमार गौतमले जानकारी दिनुभयो।
माघ २५ गतेसम्म सञ्चालन हुने अनुष्ठानको प्रमुख कथावाचक आचार्य छन्दुराम भण्डारी रहनुभएको छ । साङ्गवित संस्कृत माविको भौतिक पूर्वाधार निर्माणका लागि विवेकाश्रमले प्रत्येक वर्ष नियमित अनुष्ठानको आयोजना गर्दै आएको छ। विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन्।
त्यसमध्ये केही आवासीय सुविधासहित गुरुकुलीय शिक्षा आर्जन गरिरहेका छन्। अनुष्ठान समुद्घाटन सत्रमा स्वामी कृष्णनन्द महाराजजी, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी ,शंकराचार्य पिठ साधुटारका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा सहितले शुभकामना मन्तव्य राख्नुभएको आयोजक समितिकी सदस्य उर्मिला ढकाल पोखरेलले जानकारी दिनुभयो ।
गणेश पुराण पाठपारायण आरम्भ अघि कलश शोभा यात्राले नगर परिक्रमा गरेको थियो। कलश यात्रामा टोल विकास समिति महिला समूह शिक्षक विद्यार्थी र स्थानीयको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक भरत भट्टराईले गर्नुभएको थियो।