विनोद सापकोटा,
झापा ।
भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एंव गीतकार डा. जस योञ्जन प्यासी झापाको भद्रपुरमा नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
लेखनाथ पुस्तकालय भद्रपुर झापाले डा जस योन्जन प्यासीलाई नगद ५१ हजार पुरस्कार सहित सम्मान गरेको हो । कार्यक्रममा उनकी श्रीमती रुकमित लेप्चाको पनि सहभागिता थियो । डा पत्नी लेप्चालाई पनि सम्मान गरिएको लेखनाथ पुस्तकालय झापाले जनाएको छ ।
श्रीप्रसाद ओली साहित्य पुरस्कारद्वारा पुरस्कृत भएका डा जस योन्जन प्यासीले पुरस्कारका लागि आफूलाई भागीदार बनाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘साहित्य सृजनामा मेरो यत्रो योगदान छ छैन त्यो मलाई थाहा भएन । तपाईँहरूले मूल्याङ्कन गर्ने विषय हो । तर यत्रो वर्षको साहित्य साधनालाई हेरेर मूल्यांकन गरिदिएकोमा म खुशी छु ।’ पुरस्कार छनोट समितिमा गंगाप्रसाद अधिकारी, प्राज्ञ सुभद्रा भट्टराई र वरिष्ठ साहित्यकार चन्द्र भण्डारी थिए ।
भारतको दार्जिलिङ निवासी ७७ वर्षिय प्यासीले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको लेखनाथ पुस्तकालयले जनाएको छ । श्री प्रसाद ओली स्मृति साहित्य पुरस्कार तथा स्रष्टा सम्मान ले बर्षेनी कोशी प्रदेश र अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको क्षेत्रमा काम गर्ने स्रष्टालाई सम्मान गर्ने गरेको छ । पुरस्कार प्रायोजक संस्था रुद्र– गौरी, श्री– अम्बिका ओली प्रतिष्ठानले वार्षिक ५१ हजार १५१ नगद प्रदान गर्ने गरेको प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञराज ओली (गोपाल)ले जानकारी दिए ।
यस अघि श्रीप्रसाद ओली साहित्य पुरस्कारद्वारा नेपालका मित्रप्रसाद दाहाल, भीम खतिवडा, कोमल प्रसाद पोखरेल, पुण्यप्रसाद खरेल, मिश्र बैजन्ती पुरस्कृत भएका छन् भने भारतका इन्दु प्रभादेवी, सुकराज बिहारी र डाक्टर जश योन्जन प्यासी आइतबार पुरस्कृत भए ।
लेखनाथ पुस्तकालयकी कार्यवाहक अध्यक्ष कवि खगेन्द्रा खुसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डा बद्री बिसाल पोखरेलले प्यासी संसारले चिनेको नेपाली भाषाको दिग्गज व्यक्तित्व भएको बताए । ‘नेपाली भाषा,साहित्य र सृजनामा प्यासीले गरेको योगदान अतुलनीय छ,’ उनले भने ।
कार्यक्रममा प्यासीलाई पुरस्कृत गर्नुको औचित्य पुरस्कार छनौट समितिका सदस्य चन्द्र भन्डारीले पुष्टि गर्दे भने, ‘ प्यासीका हरेक सृजनाले परिवर्तन ल्याएको छ । ल्याउछ र ल्याउने छ । भारतिय माटोमा बसेर नेपाली भाषा र साहित्यको लागि मरिहत्थे गर्ने सर्जकलाई किन श्रीप्रसाद ओली साहित्य पुरस्कार नदिने ? यो प्रस्नको जवाफमा आम सर्जक र स्रष्टाले तालि बजाए पछि प्यासिलाई पुरस्कारका लागि योग्य ठानिएको हो ।’