झापा । पूर्वी नाका काँकरभिट्टाबाट अवैधरुपमा हुने चिनियाँ लसुन तस्करी रोक्न प्रहरीले चासो नदिएको आरोप लाग्ने गरेको छ ।
प्रहरीले हालसम्म एकपटक मात्रै चिनियाँ लसुन पक्राउ गर्नु र दैनिक चार करोड मूल्य बराबरको चिनियाँ लसुनको तस्करी हुनुले प्रहरीको मिलेमतो रहेको आरोप लाग्ने गरेको हो ।
जनपद र सशस्त्र प्रहरीकै मिलेमतोमा व्यापारीहरुले अवैध रूपमा चिनियाँ लसुन साइकल, मोटरसाइकल, ठूला गाडी र भरियामार्फत भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वी नाका काँकरभिट्टाबाट अबैध रुपमा भारततर्फ निकासी गर्न लागिएको सात सय केजी चिनियाँ लसुन मंसीर ११ गते पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार प्रतिकेजी ५ सय रुपैयाँ दरका सात सय केजी लसुन प्रहरीले पक्राउ गरेको हो । त्यस यता चिनियाँ लसुन पक्राउ नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा खास गरी पछिल्ला महिनाहरूमा देखिएको लसुनको अस्वाभाविक आयातले आफूहरूलाई आश्चर्यमा पारेको सरकारी अधिकारीहरूले बताएका छन् । भन्सार विभागका एक निर्देशकका अनुसार अर्बौँ रुपैयाँ बराबरको लसुन आयात भएको देखिएपछि त्यसको कारणबारे हाल अध्ययन भइरहेको छ । चालूआर्थिक वर्षको शुरुका छ महिनाको तथ्याङ्क हेर्दा छ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको लसुन नेपाल भित्रिएकोमा लगभग सबै चीनबाट आयात भएको छ । यो भनेको पछिल्लो छ महिनाको अवधिमा नेपालले प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गरेको देखिन्छ ।
नेपालको सीमाना हुँदै भारत निकासी गर्न सहज भएकाले तस्करीमा संलग्नले पूर्वी नाकालाई चिनियाँ लसुनको तस्करीका लागि ट्रान्जिट पोइन्ट बनाएका छन् । तर, सरकारी अधिकारी यस विषयमा अनभिज्ञता प्रकट गर्दै आएका छन् । भन्सार विभागको वार्षिक तथ्याङ्क हेर्दा नेपालमा लसुन आयातको परिणाम बढ्दो क्रममा रहेको देखिएको छ । नेपालमा उत्पादन हुने लसुन चाहिँ देशभित्रै खपत हुने गरेको सरकारी अधिकारी तथा कृषकहरू बताउँछन् । नेपाल लसुनमा आत्मनिर्भर रहेको सरकारी तथ्याङ्कमा अस्वभाविक रुपमा चिनबाट लसुन आयात हुनुले तस्करीकै लागि लसुन आयात हुने गरेको बताइएको छ ।
भारतमा लसुनको मूल्य बढी हुने गरेकाले तस्करले नेपालको बाटो भएर लसुन भारत निकासी गर्ने गरेका छन् । लसुन तस्करीका लागि पूर्वी नाँका काँकरभिट्टा मात्र नभई विराटनगरको जोगमनीलाई समेत तस्करहरुले प्रयोग गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाले तस्करीमा सहयोग नगरेपछि पछिल्लो समय लसुन तस्करीमा संलग्नले बिराटनगरको जोगमनी नाका प्रयोग गर्ने गरेको श्रोतको दावी छ । लसुनमा प्रतिकिलो १०० रुपैयाँसम्म नाफा हुने भएपछि चीनबाट बढी परिमाणमा नेपाल ल्याएर भारततर्फ तस्करी हुने गरेको देखिएको हो । सीमावर्ती भारतीय बजार जोगबनीको गुद्री बजारमा रहेको सब्जीमण्डीमा लसुनको तीन भेराइटीको फरक–फरक मूल्य रहेको स्थानीय व्यापारी जगदीश साहले बताए । आफ्नो पसलबाट किलोको १००देखि ३०० नेपाली रुपैयाँसम्ममा लसुन विक्री गरिरहेको उनले जानकारी दिए ।
नयाँ स्थानीय लसुन १०० रुपैयाँमा, सानो पोटी तर सुकेको २०० रुपैयाँ र ठूलो पोटी तथा ठूलो केस्रा भएको ३०० रुपैयाँ किलोमा विक्री भएको उनले बताए । कुन देशबाट आएको लसुन भन्ने थाहा नपाए पनि आफूले डिलरबाट किनेर खुद्रा विक्री गर्ने गरेको उनले सुनाए । चिनियाँ लसुन ठूला पोटीको हुन्छ । नेपाली बजारमा चिनियाँ लसुनको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ । सीमावर्ती भारतीय बजार पुरÞ्याउँदा प्रतिकिलो १०० रुपैयाँ फाइदा हुने भएपछि चिनियाँ लसुनको भारत तस्करी बढेको सीमावर्ती क्षेत्रका नेपाली व्यापारी बताउँछन् ।
भारतमा लसुन उत्पादन घटेपछि यसको भाउ आकाशिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अघिल्लो सिजनमा भारतका किसानले लसुन खेती कम गर्नाले उत्पादन घटेको हो । लसुन उत्पादन हुने मुख्य राज्यहरू गुजरात, राजस्थान, मध्यप्रदेश र पञ्जाबका किसानले विगत वर्षहरूमा लसुनको उचित मूल्य नपाएको भन्दै अन्य उत्पादनमा हात हालेपछिउत्पादनमा असर परेको हो । यसबाहेक भारतमा सुक्खा लागेर लसुन रोप्ने र बाली भित्र्याउने चक्रमा असर गरेकाले पनि गत सिजनमा उत्पादन प्रभावित भएको बताइन्छ । यसले गर्दा गत डिसेम्बरमा लसुनको भाउ प्रतिकिलो ५०० भारतीय रुपैयाँसम्म पुगेको थियो । त्यसैले भारतले अफगानिस्तानबाट पनि लसुन आयात गरेको थियो ।
भारतमा रहेको उच्च मूल्यको फाइदा उठाउन नेपाली व्यापारीले चीनबाट ठूलो परिमाणमा लसुन आयात गरी अवैध ढंगले भारत पठाउने गरेको स्थानीय व्यापारी बताउँछन् । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा ६ अर्ब १८ करोड ३९ लाख रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आवको शुरूको ६ महिनामा ७७ करोड ८७ लाख रुपैयाँको मात्र लसुन भित्रिएको थियो । पूरै आवमा २ अर्ब २२ करोड रुपैयाँको लसुन चीनबाट भित्रिएको तथ्यांक छ । त्यसअघि ३ आवमा १ अर्ब रुपैयाँभन्दा केही बढीको मात्र लसुन आयात चीनबाट भएको भन्सार विभागको तथ्यांक छ ।