एउटा मानिसले आफ्नो जीवन अवधिमा दुईवटा महाकुम्भ मेला दर्शन पाउने अवसर असम्भवनै छ भने पनि गलत नहोला । किनकि १२ वटा कुम्भपश्चात एक सय ४४ वर्षमा एउटा महाकुम्भ आउने गर्दछ । महाकुम्भ सनातनी हरुका लागि विशेष संगम स्थल हो । भारतको उत्तर प्रदेश अन्तर्गत प्रयागराजमा यो मेला भब्यताको साथ आयोजना गरिएको छ । समुद्र मन्थनबाट प्राप्त भएको अमृतलाई देवताहरुले दैत्यबाट लुकाउनका लागि राखिएको चार स्थान हरु मध्ये प्रयागराज पनि एक हो भन्ने आस्था हिन्दुहरुको रहेको छ । महाकुम्भको प्रभावले सनातन धर्मको प्रचार ख्याती संसारको हरेक कुनाकाप्चामा पुग्ने अनुमानको साथ यसलाई बिराट भब्यता प्रदान गरिएको छ । श्रद्धालुहरुको जुन करोडौंको उपस्थिती संगममा देखिएको छ सो अनुपातको अर्को इतिहास अर्को कायम छैन ।
साधु, सन्त, बाबा, अघोर भन्ना साथ जनमानसमा शान्तिको प्रतिक हुन भन्ने धारण व्याप्त छ । तर, कुम्भमा जुन व्यवहार र क्रियाकलाप साधुहरुको सञ्जालमा देखियो त्यसले सम्पूर्ण हिन्दु धर्म मान्नेहरुमा आघात पु¥याएको छ । साधुहरु प्रतिको धारणा नकारात्मक बनिरहेको छ । साधुको अर्थ शालिन हुन्छ, तर कुम्भका साधुहरु जति विक्षिप्त देखिए त्यति कोही असाधु पनि देखिएनन् । ऋषि, अघोरी, बाबा इत्यादीको स्वभाव सरल, शान्त, बैराग्य गम्भीर र ज्ञानी हुनुपर्ने ठाउँमा अश्लील र अन्टसन्ट बोल्ने, आगन्तुक र प्रश्नकर्तालाई कारण बिना आक्रमण गर्ने, अन्य धर्मको नाम लिनासाथ क्रोध प्रकट गर्ने प्रकृतिको देखियो । हिन्दु धर्मको संरक्षक र पिलर मानिएकाहरुको नै यसप्रकारको अनुशासनहीन व्यवहारप्रति स्वयम् हिन्दुहरुकै मनमा प्रश्न उब्जिएको छ । सामाजिक सञ्जालमा वास्तविक साधुहरुको समक्ष क्यामेरा नपुराई यस किसिमको चटकेहरुको हाँस्य प्रयोजनका लागि बनाइएको भिडियोले धर्मलाई धुमिल बनाएको छ ।
सन्तको नजिक जाँदा आनन्द र शून्यताको अनुभव हुन्छ । तर, कुम्भमा आएका कतिपय साधुहरुको समिपबाट गुज्रँदा समेत कुन समय आक्रमण हुन्छ भन्ने ठेगान छैन । साधुको समिप जान डराउनुपर्ने स्थिति भएपछि समाजमा यसले हिन्दुको कस्तो प्रभाव छोड्दैछ भन्ने अनुमान लगाउन सकिन्छ । साधु, सन्त त छोडौं जसलाई धर्मगुरु भनिन्छ उसले नै आफ्नो क्रोध माथि सामान्य अतिक्रमणसम्म गर्न सकेको छैन भने तिनिहरुले धर्मको संरक्षण र चिरस्थायित्व कायम गर्लान भन्ने नै व्यर्थ छ । उनीहरुले न धर्मको यथार्थ थाहा छ न त गुरुको मर्यादा अनि उनीहरु नै आफूलाई धर्मगुरु भन्छन् ।
साधु के हो ? धर्मगुरु के हो ? आचरण र सन्तको व्यवहार के हो ? भन्ने विषयको अध्ययन र बोध बिना सांसरिक प्रतिस्पर्धाको झन्झटबाट मुक्त भई मागेर खान प्रेरित भएका केही लाचारी साधु र धर्मगुरु देखिनेहरुले नै धर्मलाई विकृत र कुरुप बनाएका छन् । हिन्दु धर्मलाई दुनियाँमा कोहीबाट संकट उत्पन्न हुन्छ भने त्यो हिन्दुका तथाकथित सन्त, पण्डित र धर्मगुरुबाट छ । फरक अखडाबाट जम्मा भएका साधु नै एकआपसमा लडिरहेका छन् । सनातन धर्मले जे विकृतिलाई विस्थापित गर्नका निमित्त लाखौं शास्त्रहरु प्रतिपादन गरयो साधु भनिनेहरुको व्यवहार त्यहीलाई उल्लङ्घन गर्न सक्रिय छ भने यसको प्रभाव र फाइदा कस्तो र कसलाई पर्छ भन्ने सिधा अनुमान लगाउन सकिन्छ ।
हिन्दु प्रचलनमा यस्ता धेरै साधुहरु छन् जसको दर्शनले मात्र पनि पवित्रता पात्र हुन्छ । तर, उहाँहरुको दर्शन दुर्लभ छ । कुम्भ हिन्दुहरुको आस्थाको केन्द्र हो, तर यसलाई अहिले प्रत्यक्ष धार्मिक र अप्रत्यक्ष राजनीतिक शक्ति प्रदर्शनका लागि तयार गरेको जस्तो देखिन्छ । भिड यति गहन र विशाल छ कि एकले अर्कोको खुट्टा किल्चियो र दुईबीच खट्पट्को स्थिति सृजना भयो भने त्यसको प्रत्यक्ष असर करोडौमा पर्छ सोबाट भागदौड हुँदा अप्रीय घटना केही सप्ताह अगाडि मात्र घटेको छ । कुम्भको भिड सामान्यभन्दा थोरै मात्र अनियन्त्रित भयो भने त्यसको नियन्त्रण कुनै पनि संयत्रले गर्न सक्दैन । करोडौंको भिड एकपटक भड्कियो भने कुनै उपाय लाग्दैन ।
आइआइ टी आइ ए एन बाबा
मेरो विचारमा महाकुम्भको सबैभन्दा महत्वपूर्ण शिक्षा आइआइ टी आइ ए एन बाबा भनेर चिनिने अभय सिंह र उसको विगतबाट लिन सकिन्छ । आइआइ टी आइ ए एन बाबा अति तिक्ष्ण दिमागी क्षमता भएको प्रतिभाशाली विद्यार्थीबाट साधुसम्मको यात्राको शृङ्खलालाई बुझ्न सकियो भने अभिभावकको गलत व्यवहार र क्रियाकलापको प्रत्यक्ष असर बच्चाहरुमा कुन हदसम्म पर्छ भन्ने जान्न सकिन्छ । अभय सिंह विगतमा पारिवारिक कलहको शिकार भएका थिए । परिवारमा दिनहुँ झगडा हुँदा समेत अति उत्कृष्ट विद्यार्थी बन्नुले उसको आत्मविश्वास र संयमताको अनुमान लगाउन सकिन्छ । तर, त्यो आत्मविश्वास एक सीमासम्म कायम रह्यो अनि खण्डीत भई विरक्त भएर अन्ततः साधुमा परिणत भयो । एउटा बच्चाको शिक्षा र आवश्यकताको परिपूर्ति गर्नु मात्र अभिभावकको जिम्मेवारी होइन, प्रमुख जिम्मेवारी अभिभावकको व्यवहारबाट बच्चामा प्रेरणा मिलोस्, अभिभावकको प्रेमपूर्ण शान्त र कलहरहित वातावरणमा शिक्षा मिलोस् भन्ने हुन्छ ।
यदि पति–पत्नी दिनहुँ झगडा गर्ने, अपशब्द बोल्ने र एकअर्कालाई आदर नगर्ने हो भने त्यसको अप्रत्यक्ष गहिरो प्रभाव बच्चाको मानसिकतामा पर्छ भन्ने ज्ञान अति न्यून अभिभावकमा मात्र हुन्छ । यदि अभय सिंहको परिवारमा शिक्षा र सम्पन्नता बाहेक कलहरहित प्रेमपूर्ण वातावरण पनि थियो भने ऊ आज देशलाई गति दिन सक्ने पदमा बसेर जिम्मेवारी बहन गर्दै हुन्थ्यो । अभय सिंहको सकरात्मक पक्ष ऊ विरक्तता पश्चात साधु बन्यो, तर हाम्रो समाजमा पनि यस्ता धेरै अभय सिंहहरु छन् र यो पनि आवश्यक छैन कि साधु नै बनुन् । सम्भावना त यो छ कि लागूऔषध प्रयोगकर्ता, पूर्ण मानसिक विक्षिप्तता (पागल), भ्रष्ट नियत र हत्यारासम्म बनेका र बन्न सक्नेछन् । यस किसिमको व्यक्तिहरुको पारिवारिक पृष्टभूमि अध्ययन गर्ने हो भने कलहपूर्ण परिवार हुने सम्भावना ज्यादा छ ।
मेरो विचारमा एउटा बच्चा बृद्ध अवस्थासम्म पुग्दा विगतका अधिकतम् घटनाहरु बिर्सन्छ । तर, बच्चा अवस्थामा देखेका पारिवारिक कलह कहिले पनि बिर्सदैन । चेतनामा त्यो सधँै जिवन्त रहन्छ । अब ती कलहपूर्ण परिवारका अभिभावकले एकपटक विचार गर्न आवश्यक छ कि म आफ्नो सन्ततीलाई कस्तो शिक्षा र वातावरण दिइरहेको छु । जो शिक्षित अभिभावक छन् उनीहरु आफ्नो बच्चाहरुसँग कलहलाई लुकाउने प्रयत्न गर्छन् । तर, यो व्यर्थको प्रयत्न हो । किनकि एउटा स्वस्थ मष्तिक भएको बच्चाले एक मिनेटभित्र मेरो अभिभावकको मेलमिलाप छ या छैन भनेर पत्ता लगाउन सक्छ । स्थायी पारिवारिक शान्ति मात्र अन्तिम उपाय हो
।
बच्चालाई पहिलो शिक्षा नै पारिवारिक झैं–झगडा दिइन्छ भने उनीहरुसँग अति कम नैतिक आशा बाध्न सकिन्छ । पारिवारिक कलहभित्र एउटा विद्यार्थीको सिर्जनशिलता, क्षमता र छलाङ् गतिहीन र शून्य हुन्छ । एउटा बच्चा आफ्नो परिवारको कलहको कारण निराश र गहिरो मानसिक असर देखापर्छ भने त्यस किसिमको अभिभावकलाई कानूनी कारवाहीमा ल्याइनुपर्छ । तर, दुःखद् कुरा हाम्रो प्रणालीलाई बाल संवेदनशिलता भनेको कुन चराको नाम हो भन्नेसम्म थाहा छैन । एउटा बच्चा जीवन्त शिक्षा दिने पहिलो विद्यालय अभिभावक नै हुन त्यसैले अभिभावकले भौतिक, शैक्षिक र भावनात्मक तिनै पक्षहरुलाई ध्यानमा राखेर बच्चाको भविष्य निर्माण गर्नुपर्छ ।