भूतपूर्व सैनिकहरुको पुनर्वास भूमिमा सैनिक महोत्सव

0
18

झापा, भूतपूर्व सैनिकहरुको पुनर्वास भूमि बिर्तामोड– १० सैनिक बजारको पहिचानलाई उजागर गर्न आजदेखि सैनिक महोत्सव शुरु भएको । तेस्रो संस्करणको रुपमा सैनिक महोत्सवलाई निरन्तरता दिइएको हो ।
आजदेखि फागुन १८ गतेसम्म तेस्रो संस्करणको सैनिक महोत्सव आयोजना गरिएको हो । बिर्तामोड नगरपालिकाको १० नं वडा कार्यालयको सहयोगमा वडा कार्यालयदेखि उत्तरपट्टि जातीय भेषभूषासहितको तेस्रो ऐतिहासिक सैनिक महोत्सव आयोजना गरिएको वडाध्यक्ष दुर्योधन गुरुङले बताए । 
यसअघि २०७५ मा पहिलो सैनिक महोत्सव र त्यसको अर्को वर्ष २०७६ मा दोस्रो सैनिक महोत्सव आयोजना गरिएको थियो । त्यसपछि कोरोना संक्रमणका कारण रोकिएको सैनिक महोत्सवलाई यस वर्ष निरन्तरता दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले भूतपूर्व सैनिकहरुको थलो ,बहुसंख्यक जातजातिको बसोबासस्थल , खेलाडीको उर्वरभूमि , महाभारतकालीन पोखरी र विभिन्न मठमन्दिर भएको ठाउँ सैनिक बजारको चिनारीलाई उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।
सो महोत्सवलाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , राजवंशी समाज विकास समितिका रुपेश राजवंशी , शिक्षक सावित्री गुरुङलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बिर्तामोड– ४ का वडाध्यक्ष राहुल शर्मा , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, मेला आयोजक समितिका संयोजक सन्तोष गुरुङ, महेन्द्रज्योति विद्यालयका प्रधानाध्यापक जयकुमार झा , विराट आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी दुलाललगायतको उपस्थिति रहेको थियो । महोत्सव उद्घाटनअघि विभिन्न जातजातिको झाँकीले सैनिकबजार परिक्रमा गरेको थियो ।
महोत्सवमा विभिन्न जातजातिका भेषभूषाका ६ वटा र व्यापारिक २५ वटा स्टल रहेको महोत्सव आयोजक समितिका सचिव खुबराज भट्टराईले जानकारी दिए । त्यस्तै मनोरंजनका लागि विभिन्न खेलतमासाहरु रहेका छन् ।
महोत्सवका लागि सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ। त्यस्तै विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । यातायात व्यवस्थापनतर्फ बिमल राई , अतिथि सत्कारतर्फ तारा आपागाँई,भेषभूषा झाँकी ब्यवस्थापनतर्फ साबित्रा राजवंशी,टेन्ट ब्यबस्थापन तथा गेट निर्माणतर्फ देवेन्द्र दर्नाल,जलपानतर्फ बिमनप्रसाद राई,प्रचारप्रसारतर्फ खड्गबहादुर गुरुङ,स्वयंसेवक परिचालनतर्फ भोलानाथ पाण्डेको संयोजकत्वमा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा कमल खत्री, प्रीती आले, मेलिना राई,राजनराज शिवाकोटी,रचना रिमाल,टीका प्रसाईं , राजेशपायल राईका साथमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने प्रचार प्रसार उपसमितिका संयोजक खड्गबहादुर गुरुङले जानकारी दिए ।
२०२० सालमा तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका २ सय परिवारलाई त्यहाँ पुनर्वास गराएका थिए । पूर्वराजाको निर्देशनपछि भूतपूर्व सैनिकका परिवारले १६ सय बिगाह वनक्षेत्र आवाद गरी बस्ती बसाले र सोही बेलादेखि त्यहाँको नाम सैनिक रहन गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here