सुरेन्द्र भण्डारी
राजगढ, शिक्षासेवी इन्द्रप्रसाद अधिकारीको पहलमा २०४५ सालमा साविक राजगढ–८ (हाल बाह्रदशी–३) मा रामनगर आधारभूत विद्यालय स्थापना भयो । भूवनसिंह राजवंशीलाई अध्यक्ष बनाउँदै अधिकारीले गाउँमै विद्यालय स्थापना गरेसंगै त्यस क्षेत्रमा पछिपरेका समुदायले समेत आफ्ना बालवालिकालाई विद्यालय पठाउन थाले ।
आदिवासी, जनजाति, सन्थाल र मुस्लिम समुदायको बाहुल्य रहेको सो क्षेत्रको आसपासमा अन्य विद्यालय थिएनन् । गाउँमै विद्यालय स्थापना भएपछि अध्ययनका लागि साविक राजगढ–६मा रहेको पशुपति माध्यमिक विद्यालय जानुपर्ने बाध्यता हटेसँगै गाउँवासी समेत हर्षित भए । विद्यालय स्थापनाका लागि राजवंशीसहित विद्यापति अधिकारी, सहारानी राजवंशी, देवकुमार राजवंशीले निःशुल्क तीन कठ्ठा जमिन उपलब्ध गराएका थिए । अधिकारीको पहलमा थप तीन कठ्ठा ऐलानी जमिनको व्यवस्थापन गर्दै २०४५ सालमा विद्यालय स्थापना भयो । सोही विद्यालयको नामबाट अहिले त्यो क्षेत्र रामनगरका रुपमा परिचित छ । विद्यालय स्थापनासँगै गाउँको परिर्वतन भयो । रामनगर आसपासमा रहेको जमिनको मूल्य बढ्यो । घर जग्गाको कारोबार बढ्यो । २०४५ साल यता त्यस क्षेत्रका नागरिकको जीवनस्तरमा आमुल परिर्वतन भयो । तर, विद्यालयको भौतिक संरचना, विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षामा खासै परिर्वतन भएन । जसका कारण रामनगर आधारभूत विद्यालय अहिलेपनि जीर्ण भवनमा सञ्चालित छ । विद्यालयका चारवटा कङ्क्रिट भवन भए पनि जस्तापाताका पुराना र चुहिने छन् । विद्यार्थीका लागि आवश्यक डेस्क बेन्च छैनन् । न खानेपानीको सुविधा छ, न त व्यवस्थित शौचालय नै ।
कतिपय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरु ‘स्मार्ट’ र प्रविधिमैत्री बन्दै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न स्थानीय तह लागीपरेसँगै ग्रामीण क्षेत्रका विद्यालय स्मार्ट र प्रविधिमैत्री बन्दै गएका हुन् । अधिकार सम्पन्न स्थानीय तहले आफ्ना ठाउँका विद्यालयलाई भौतिक संरचनामा स्तरोन्नति गर्दै शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरेपछि सामुदायिक विद्यालय सबल बन्दै गएका हुन् । तर, बाह्रदशी गाउँपालिकामा रहेको यो विद्यालयको भने भौतिक सुधारसम्म पनि हुन सकेको छैन । संघीय, प्रदेश र स्थानीय तहको समेत आँखा नपर्दा ओझेलमा नै छ यो विद्यालय । पालिकामा सञ्चालित १६ वटा साामुदायिक विद्यालयमध्ये कतिपय विद्यालयहरुले स्मार्ट बोर्डको प्रयोग, मल्टिमिडिया मार्फत अध्ययन–अध्यापन र प्रविधिमैत्री शिक्षण सिकाइका कारण शैक्षिक गुणस्तर सुधारको अभ्यास गरिरहेका छन् । तर, रामनगर आधारभूत विद्यालयले भौतिक संरचनाको अभाव, शैक्षिक सामग्री र शिक्षण सिकाइ क्रियाकलापका लागि प्रयोगात्मक सामग्री अभावका कारण प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गर्न नसकेको प्रधानाध्यापक यज्ञप्रसाद थापाले बताए । कक्षा ८सम्म पठनपाठन हुने सो विद्यालयमा स्थायी ६ शिक्षकसहित १३ जना शिक्षक कर्मचारी कार्यरत छन् । संघीय सरकारको अनुदान र गाउँपालिकाको अनुदान कोटामा समेत तीन जना शिक्षक कार्यरत छन् । विद्यालयमा १ सय ७२ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयमा अधिकांश अल्पसंख्यक, आदिवासी जनजाति, सीमान्तकृत, पिछडावर्ग र विपन्न समुदायका बालबालिका अध्ययनरत् रहेको शिक्षक रुकमिणा गौतम बरालले बताइन् ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विद्यालय भवन निर्माणका लागि यसअघि १० लाख रुपैयाँ उपलब्ध गराए पनि रकम अपुग भएका कारण निर्माणाधीन भवन अलपत्र रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको दश लाख रुपैयाँ र आन्त्रिक श्रोतबाट दुई तले भवन निर्माण गरिसक्ने अठोटका साथ भवन निर्माण शुरु गरिएको थियो । तर, रकमको सुनिश्चितता नभएपछि अलपत्र अवस्थामा रहेको अध्यक्ष अधिकारीको भनाइ छ । भवन निर्माण शुरु गरिएको दुई वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न गर्न नसक्दा विद्यार्थीलाई पुराना र जीर्ण भवनमा राखेर पठनपाठन गराउनुको विकल्प नरहेको उनको भनाइ छ ।
सुधारको जिम्मेवारी लियो बिर्तामोड राउण्ड टेबल २७ ले
सरकार र समुदायको समेत नजरमा नपरेको रामनगर आधारभूत विद्यालय सुधारको जिम्मेवारी बिर्तामोड राउण्ड टेवल २७ ले लिएको छ । अधिकांश विद्यार्थी विपन्न समुदायका भएको पाएपछि भौतिक संरचनासहित शैक्षिक गुणस्तर सुधारको लागि जिम्मेवारी आफूहरुले लिएको बिर्तामोड राउण्ड टेवल २७का महासचिव दीपक मित्तलले बताए । जसका लागि विद्यालयसंग सम्झौता भएको उनको भनाइ छ ।
विद्यालय सुधारका लागि ३१ लाख रुपैयाँको लागत इस्टीमेट तयार गर्दै विद्यालय सुधारको काम अघि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा खानेपानीका लागि फिल्टर जडित आधुनिक ट्याङ्की निर्माणसँगै शौचालय निर्माण गरिने छ । जुन कार्य चालूआर्थिक वर्षको चैत मसान्तसम्ममा सम्पन्न गर्ने महासचिव मित्तलले बताए । योसंगै बिर्तामोड राउण्ड टेवलले विद्यालयमा रहेका पाँचवटा कक्षा कोठाको स्तरोन्नति, दुई वटा कक्षा कोठाको निर्माण, इ–लर्निङ कक्षा र कम्प्युटर प्रयोगशाला स्थापना, खेलमैदान सुधार, भान्सा तथा भोजनकक्ष स्तरोन्नति, वृक्षरोपण तथा वातावरणीय सौन्दर्यीकरण र प्ले ग्रुप कक्षा सुधारका कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्ने अध्यक्ष मनोज गोयलले बताए ।
बिर्तामोड राउण्ड टेवलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा टेवा पु¥याउने लक्ष्य लिएको गोयलको भनाइ छ । ६० भन्दा धेरै विद्यालयमा चार सय भन्दा बढी कक्षा कोठा निर्माण गरिसकेको राउण्ड टेवलले एक हजारभन्दा बढी पिछडिएका बालवालिकालाई शिक्षामा सहयोग गर्दै आएको र उनीहरुको नेतृत्व विकासका लागि अवसरहरु समेत सिर्जना गर्दै आएको अध्यक्ष गोयलको भनाइ छ । रामनगर आधारभूत विद्यालयमा हाम्रो उपस्थितिले विद्यालयको भौतिक संरचनाको स्तरोन्नतिसँगै विद्यार्थीसंख्या बढ्ने, शैक्षिक गुणस्तर सुधार हुने अपेक्षाका साथ यो विद्यालयलाई हामीले ‘एडप्ट’ गरेका हौं– अध्यक्ष गोयलले भने । यहाँको समग्र शैक्षिक गुणस्तर सुधार्न, भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिदेखि आवश्यकता अनुसार शैक्षिक सामग्री, कम्प्युटर, ई–लाइब्रेरी र ल्याव निर्माण गर्दै नमूना विद्यालय बनाउन हाम्रो प्रयत्न रहने अध्यक्ष गोयलले बताए ।
राउण्ड टेबल नेपाल आफैंमा गैरनाफामूलक संस्था हो । जसले नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९मा स्थापना भएको राउण्ड टेबल नेपालको नेपालभर अहिलेसम्म ३२ च्याप्टरमा कूल ५ सय ४० सदस्य रहेका छन् । १८देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेशन’ सञ्चालन गरिरहेको छ । बिर्तामोड राउण्ड टेबल नेपाल र व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी निरौला अधिकारी, प्रधानाध्यापक यज्ञप्रसाद थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै अध्यक्ष गोयल र महासचिव मित्तलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच सम्झौता भएसँगै विद्यालयको मर्मत सम्भार र शौचालय ब्लक तथा खानेपानी शुद्धीकरण प्रणालीका काम शुरु गरिने भएको हो ।
विद्यार्थीलाई स्वच्छ र सुरक्षित पिउने पानीका लागि तत्काल काम शुरु गरिने र गत वैशाख अगाडि नै विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । वहुवर्षीय योजना अन्तर्गत बिर्तामोड राउण्ड टेबल नेपाल २७ले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई समेत प्रविधिमैत्री बनाउन तालिमको आयोजना गर्ने र अभिभावक र विद्यार्थीहरुमा समेत आधुनिक शिक्षा प्रणालीका विषयमा सचेतनामूलक शिक्षा प्रदान गर्ने भएको छ । विद्यालयको भैतिक संरचना सुधारसंगै शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाएसँगै यहाँको शैक्षिक गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । जसका लागि राउण्ड टेवल नेपाल अन्तर्गत बिर्तामोड राउण्ड टेवलले विद्यालयको भौतिक संरचना सुधारदेखि शैक्षिक गुणस्तर सुधारका लागि काम शुरु गरेको हो ।