काठमाण्डौ,
लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे ।
अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।
आजै भएकाे खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गाेलले हराउँदै लगातार दाेस्राे जीत हासिल गरेकाे हो । म्यानमारले पहिलाे खेलमा लेबनानलाई ३–१ गोलले हराएकाे थियाे ।
अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।