अर्जुनधारा ।
भैंसी पालन गर्ने कृषकहरुको आर्थिक अवस्था उकास्ने उद्देश्यले अर्जुनधारा नगरपालिका अन्र्तगतको पशुपंक्षी मत्स्य विकास शाखाले विविध कार्यक्रम शुरु गरेको छ ।
शाखाले पहिलो चरणमा अर्जुनधारा–२, ९, १० र ११ नं. वडाका १४ महिला कृषकसहित जम्मा ४५ जना कृषक छनौट गरि भैंसी पालन सम्बन्धी तालिम एवम् अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
छनौट भएका कृषकहरुलाई उन्नत जातको भैंसी खरिद गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत् प्रोत्साहन स्वरुप प्रति कृषक अधिकतम ५० हजार रुपैयाँ अनुदान प्रदान गरिने शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
उनीहरुका लागि प्रोत्साहन स्वरुप प्राप्त हुने अनुदानसँगै बीमा, परजिवी नियन्त्रण गर्न औषधी, प्राविधिक सेवालगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिने बताइएको छ । कृषकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने यस कार्यक्रमलाई पालिकाले आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने शाखा प्रमुख राईको जोड छ ।
यसैबीच शाखाको आयोजनामा मंगलबार भैंसी पालन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । अर्जुनधारा–९ स्थित किरात राई यायोक्खा अर्जुनधाराको सभाहलमा अर्जुनधारा नगरकार्यपालिकाकी सदस्य एवम् आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखा प्रमुख राईले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागी कृषकहरुलाई भैंसी खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, भैंसी पालनको सर्तहरु, भुक्तानीका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु, नश्ल सुधार र बीमा कार्यक्रमलगायतका विषयमा सहजिकरण गरिएको थियो ।
नगर सभा सदस्य एवम् आर्थिक विकास समितिका सदस्यहरु बलबहादुर समाल मगर, जानुका विश्वकर्मा, सीता कँडेल दर्जीलगायतको सहभागिता रहेको कार्यक्रममा कृषकद्वय दुर्गा भट्टराई र राजेन्द्र वाग्लेले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।