अर्जुनधारा ।
दलित नगर उपभोक्ता समिति अर्जुनधाराको आयोजनामा एक महिने नौमती बाजा बजाउने तालिम आइतबारदेखि शुरु भएको छ ।
स्थानीयस्तरमा रहेका महिलाहरुलाई बेसीक कोर्स सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको समितिका सचिव धनकुमार नेपालीले जानकारी दिए ।
अर्जुनधारा–४ रातेखालस्थित सिंहदेवी देवी मन्दिरको सभाहलमा सञ्चालन हुने तालिममा प्रशिक्षक राजकुमार डोली कार्कीले प्रशिक्षण दिइने बताइएको छ । समितिकी अध्यक्ष माया खातीको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य राजकुमार बराइली, समितिकी सल्लाहकार पम्फादेवी विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।
समितिका उपाध्यक्ष मानबहादुर सार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालीले गरेका थिए ।