धुलाबारी–इरौंटार निर्माणाधीन सडकको प्रगति ६५ प्रतिशत

0
91

राज्यमन्त्री, मेयरद्वारा निरीक्षण
मेचीनगर, बहुवर्षीय योजना अन्तरगतको धुलाबारीदेखि इरौंटार सम्मको निर्माणाधीन सडकको राज्यमन्त्री, मेयर र अध्यक्षले आज स्थलगत निरीक्षण गरेका छन् ।
शुक्रबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजबंशी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, बुद्वशान्ति गाँउपालिका अध्यक्ष मनोज प्रसाईले धुलाबारीदेखि इरौंटार सम्मको निर्माणाधिन सडकको स्थलगत निरीक्षण गरेका हुन् ।
वि।सं।२०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको भद्रपुर, ज्यामिरगढी, धुलाबारी, गोजावस्ती, मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौंटार सडकको अहिलेसम्म निर्माण कार्य भइरहेको छ । भद्रपुरदेखि ज्यामिरगढी सडकको भने यसअघि नै काम भइसकेको छ ।
वि।सं।२०७९ असार ३१ गते सम्पन्न हुनु पर्ने ठेक्का हालसम्म उक्त गौरवको योजनाको २५ दशमलव ३६० किलोमिटर सडक अझै निर्माणाधिन अवस्थामा नै रहेको छ ।
उक्त ठेक्का कनकाई–झापाली जेभी बिर्तामोडका सञ्चालक एवम् निर्माण व्यवसायी शेरबहादुर थापाले भ्याटसहित ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा लिएका थिए ।
पहिलो पटकको म्याद थपसहित २०८० मंसिर ३० गते सम्पन्न गर्नु पर्ने थियो । उक्त समयमा पनि नसकेपछि फेरि २०८१ माघ १० गते सक्ने गरी भ्यारिएशनसहित दोस्रो पटक ठेक्का भ्याटसहित ५१ लाख ३२ हजार ५१७ रुपैयाँ ५० पैसामा दिने सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालय झापाका सिनियर ईन्जिनियर उत्तम खरेलले बहुवर्षीय योजना अन्तरगत हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तिय प्रगति ५९ प्रतिशत रहेको जानकारी दिए ।
उनले निर्माण व्यवसायीलाई २९ करोड ७३ लाख १६ हजार ५८ रुपैयाँ भुक्तानी भएको बताए । उनका अनुसार डीवीएसटी प्रविधिको कालोपत्रे सडक भएकाले आ।व।२०८१÷८२ को विनियोजित बजेटबाट थप ९ करोड रुपैयाँ दिइएको छ । जसमा उक्त बजेटबाट ६४ लाख २१ हजार ८४ रुपैयाँ सडकमा खर्च भएको छ ।
हालसम्म ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ, २२ किलोमिटर सव–वेस सम्पन्न, ६ किलोमिटर बसे निर्माणाधीन र ९० प्रतिशत स्ट्रक्चर कार्य सम्पन्न भएको सिनियर ईन्जिनियर खरेलको भनाई छ ।
निर्माण व्यवसायी थापाले सरकारले ठेक्का सम्झौता भए अनुसारको पुरा बजेट विनियोजन नगरेका कारण सडक निर्माणमा ढिलाई भएको दावी गरेका छन् ।
उनका अनुसार उक्त सडक निर्माणका लागि म्याद सकिएकाले थप म्यादको प्रक्रियामा रहेको छ । म्याद थपिएर अन्तिम पटकको बजेट आए समयमा नै काम सकिने थापाको भनाई छ ।
आज राज्यमन्त्री राजबंशी लगायतको टोली के कति काम भएको छ, म्याद बढाउन र थप बजेट विनियोजनका लागि के गर्न सकिन्छ भनेर स्थलगत निरीक्षणका लागि आएका हुन् ।
धुलाबारीदेखि इरौंटार सम्मको २५ किलोमिटर सडकको डिपिआरसहित योजना ल्याएको नगरप्रमुख एवम् झापा क्षेत्र नं।१ ‘ख’ का पूर्व प्रदेश सभा सदस्य बुढाथोकीको भनाई छ ।
२५ किलोमिटर सडक मध्ये ८ किलोमिटर सडक शान्तिनगरको भित्तामा किन ठोकाउने भनेर इलामको रोङ गाउपालिकाको इरौंटार सम्म लाने प्रस्ताव गरेको बुढाथोकीले बताए । उनले इलामलाई झापासहित मेचीनगरको बजारलाई व्यवसायिक कारोवारसँग जोड्न त्यसो गरिएको बताए ।
धुलाबारीदेखि टुठेबरसम्म १० किलोमिटर, एक किलोमिटर मदन भण्डारी राजमार्ग जोडिएको छ, ६ किलोमिटर गौडासम्म र ८ किलोमिटर इरौंटारसम्म सडक विस्तार गर्ने योजना रहेको छ ।
उक्त निर्माणाधीन सडक मेचीनगर नगरपालिका, बुद्वशान्ति गाँउपालका र रोङ गाँउपालिकाको क्षेत्रभित्र पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here