संसारले मान्दै आएको इस्वीसम्वत भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो विक्रम सम्वतको नयाँ वर्ष २०८२ आजैबाट सुरु हुँदैछ। हामीले मान्दै आएको विक्रम सम्वतको नेपालसँग कस्तो साइनो छ? यो कसले चलाएको हो ? भन्ने कुरा जान्नु नितान्त आवश्यक छ। यसको ऐतिहासिक सांस्कृतिक महत्त्वको वरिपरि रहेर यो आलेख तयार गरिएको छ। यहाँ विक्रम सम्वत नेपालको मौलिक सम्वत रहेको भन्ने केही प्रमाणहरूको विश्लेषण समेत गर्ने प्रयास गरिएको छ।
विक्रम सम्वत हिन्दू पञ्चाङ्गमा आधारित छ। यो प्राचीन हिन्दू सनातन परम्परा र वैदिक समयाङ्कनमा आधारित पात्रो हो। वैदिक कालगणना अनुसार चैत्र शुक्ल प्रतिपदा अर्थात् वासन्ती नवरात्रको पहिलो दिनलाई नयाँ वर्ष मानिन्छ। यसै दिनमा त्रेतायुगमा अयोध्याका राजा भगवान रामचन्द्रको राज्यभिषेक भएको दिन हो भनिन्छ। सृष्टिकर्ता ब्रह्माजीले सृष्टिको रचना गरेको यही दिन मानिन्छ। वैदिक साहित्यमा यसलाई षष्ठी सम्वत्सर समेत भनिन्छ। यो शाश्वत सम्बत्सर को रुपमा रहिआएको छ। राशि चक्रमा सूर्यको गतिलाई दिनगता भनिन्छ पछि यसलाई गते भन्न थालिएको हो भनेर जानिफकारहरु बताउँछन्।
विक्रम सम्वत अनुसार पहिलो दिन वैशाख १ गते लाई मानिन्छ जसलाई मेष संक्रान्ति समेत भनिन्छ। यस पात्रो अनुसार सबै कुरा तिथिमा गणना गरिन्थ्यो। यो व्यवहारिक रुपले कठिनाइ भएको महसुस गरी राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि गते लेख्न थालिएको रहेछ। विक्रम सम्वत १८२५ मा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरेर त्यही स्थानलाई राजधानी घोषणा गरि यही सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता प्रदान गरेका थिए।
महाराजा विक्रमादित्य को नामबाट विक्रम सम्वत चलाइएको भन्ने ऐतिहासिक प्रमाणहरू रहेका छन्। तर उनलाई यो संवत्का प्रवर्तक होइन प्रवर्धक भनिनुपर्छ भन्ने मत पनि रहिआएको छ। विक्रमादित्य कहाँका राजा थिए? भन्ने बारेमा धेरै इतिहासकारहरूले धेरै प्रकारका अध्ययन अनुसन्धानहरू गरेका छन्। प्राचीन समयमा विक्रमादित्य अहिलेको नेपालमै राज्य गर्दथे र उनको समय लिच्छवी काल थियो भनिन्छ। विक्रमादित्यले शासन गरेको स्थान हालको काभ्रेपलाञ्चोक जिल्लाको नाला भन्ने स्थानको आसपास नै हो भनेर विद्वान राष्ट्र योगी नरहरीनाथले बताएका छन। उनको राज्यको नाम उत्तरापुर रहेको थियो। अहिले पनि साँखुको बज्रयोगिनी मन्दिरमा बज्राचार्य पुजारीले विक्रमादित्यको शिरको निष्ठापूर्वक पूजा गर्ने गरेको कुराले यिनको राज्य नेपालमै रहेको प्रमाणित गर्दछ। अरु कहीँ नेपाल तथा भारतका स्थानमा कसैले राजा विक्रमादित्यको पूजा गर्ने चलन छैन।
राजा विक्रमादित्यले आफ्नो राज्य उत्तरापुरको विस्तार गरी काशीसम्म पुर्याएका थिए । तथा उनैले काशीमा विश्वनाथ मन्दिरको स्थापना गर्न लगाएको कुरा इतिहासमा उल्लेख छ। बतिसपुतली राम मन्दिर भएको स्थानमा राजा विक्रमादित्यको राज सिंहासन थियो भनेर योगी नरहरीनाथले बताएका छन्। नेपालको प्राचीन इतिहासका इतिहासकारहरूले “लिच्छविकालीन राजा धर्मपाल वा भूमिवर्मा नै विक्रमादित्य हुन्” भनेका छन्। पशुपति पुराणमा उल्लेख भएको “अथ सूर्यवंश प्रभावन्नेपाले किरात राजन निर्जीत्य लिच्छवी वंश प्रवर्तते” अनुसार किराँत राजाहरूको शासन पछाडि लिच्छवि शासन सुरु भएको बुझिन्छ।
गुजराती अनुसन्धानकर्ता भगवानलाल इन्द्रजीले विभिन्न २३ वटा अभिलेखहरूको तुलनात्मक अध्ययन गरी लिच्छवी शासन कालमा नै विक्रम सम्वत सुरु भएको उल्लेख गरेका छन्। कोलकता विश्वविद्यालयका अनुसन्धानकर्ता प्राध्यापक राधा गोविन्द वासकले मानदेवको समयमा शिलालेखहरूमा उल्लेख गरिएको सम्वत् ४८९ र चपली गाउँमा भेटिएको सम्बत ३८६ उल्लेखित विवरण विक्रम सम्वत नै रहेको बताएका छन्। कोहीकोही अनुसन्धानकर्ताहरूले राजा चन्द्रगुप्त द्वितीयले विक्रमादित्य उपाधि लिएर सम्वत चलाएको समेत भनेका छन्।
कसैकसैले विक्रमादित्य भारतको उज्जैनमा रहेर शासन गरेको भनेपनि त्यो समयमा उज्जैनमा विक्रमादित्य रहेका कुनै प्रमाणहरु फेला नपरेको कुरा इतिहासकारहरु बताउँछन्। उनका पिता पुर्खाहरू भने उज्जैनमा रहेका तर समुद्रगुप्तका छोरा चन्द्रगुप्त दोस्रो नै विक्रमसेन नाम हुँदै विक्रमादित्य कहलिन पुगेको कुरा बताइन्छ। उनका पिता पुर्खाहरू शक्ति आर्जनको निमित्त बज्रयोगिनीको आराधनाको लागि नेपाल आउने गरेका उल्लेख छ। बज्रयोगिनीमा तातो तेल तताई शरीरकै केही मांस निकाली, देवीलाई प्रसन्न बनाई धन दौलत, मणिमाणिक्य, असरफिहरू प्राप्त गरेका र स्वयं विक्रमादित्यले पनि यसरी धन दौलत प्राप्त गरी राज्य विस्तार गरेका भन्ने कुरा विभिन्न खोज अनुसन्धानहरुले बताएका छन्। अहिले पनि बज्रयोगिनीमा तेल तताउने ठूला कराई घोप्टो पारिराख्ने गरिन्छ भनिएको छ। यसको अझ अध्ययन अनुसन्धान गर्नु जरुरी देखिन्छ।
देवभूमि, ऋषिभूमि, पुण्यभूमि नेपाल र यस्ता ऐतिहासिक प्रसङ्गयसँग सम्बन्धित थुप्रै कुराहरु स्कन्द पुराणको हिमवत खण्डमा उल्लेख भएपनि पछिल्लो समय भारतबाट प्रकाशित पुस्तकहरुमा नेपालसँग सम्बन्धित धेरै तथ्यहरु काटिएको कुरा विज्ञ योगी नरहरीनाथ तथा जगतगुरु बाल सन्त शिरोमणिजीले बताइसकेकाछन्। सनातन वैदिक परम्परा संस्कृति तथा पर्वहरू विक्रम सम्वत अनुसारको पात्रमै आधारित हुन्छन्। यसकारण प्रशासनिक रुपमा यसले मान्यता नपाए पनि भारत तथा अन्य केही मुलुकहरूमा सांस्कृतिक रुपमा यो संवतको पात्रोलाईनै मान्ने गरिन्छ।
राजा विक्रमादित्यलाई इतिहासमा प्रतापी महाराजा, सन्त महाराजा, ज्ञानी, धुरन्धर व्यक्तित्वको रूपमा मानिन्छ। उनको उत्तरापुर राज्य हालको नेपालको मध्य पहाड हुँदै काशीसम्म फैलिएको र नेपालमै यसको राजधानी रहेको कुराले उनी नितान्त नेपाल राज्यका लिच्छवी कालका राजा भएको कुरा प्रमाणित हुन्छ। यस आधारमा विक्रम सम्वत नेपालको राष्ट्रिय सम्वत मात्र नभएर मौलिक सम्वत समेत हो भन्न सकिन्छ। नेपाल,भारत र विश्वका धेरै इतिहासकारहरुले यस कुरालाई उल्लेख गरिसकेका छन्। यो सम्वत चन्द्रमाको कला, सूर्यको गति तथा नक्षत्रहरूको भौगोलिक अवस्थितिमा आधारित समेत भएकोले यो बढी वैज्ञानिक समेत छ। अब हामीले विदेशी आयातित भन्दा आफ्नै स्वदेशी परम्परा, संस्कृतिमा गर्व गर्ने र त्यो भित्रका रहस्यहरुलाई बुझ्न जरुरी समेत छ। नेपालको मौलिक पात्रो अनुसारको नयाँ वर्ष विक्रम सम्वत २०८२ को सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।