पथरी शनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकामा ‘ मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामग्री (टोपी र झोला) उत्पादन सम्वन्धी ३० दिने सिपमुलक तालिम समापन भएको छ ।
स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ आयोजित सो तालिमको समापन गरिएको हो । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको थियो । ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन भएको हो । स्थानीय स्तरमा पाइने खेर गइरहेका कच्चा पदार्थहरुको सदुपयोग गर्ने उद्देश्य सहित यो तालिमको आयोजना गरिएको हो ।
समापन कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुको रहेको थियो । यस्तैगरी, कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडा नं. ७ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखा सहजकर्ता भगवती कटुवालले सञ्चालन गर्नुभएको भने कार्यक्रममा वडा सदस्यहरु चन्द्रप्रकाश चेम्जोङ, टंकप्रसाद पराजुली, झन्केश्वरी अधिकारी लागयतको उपस्थिति रहेको थियो ।