झापा, गएराति हावा हुरी र वर्षसंगै परेको चट्याङ लागेर झापामा दुई व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका ७ टेक्रा निवासी ४४ वर्षीया डम्वर कुमारी भुजेल र वुद्धशान्ति ४ निवासी ६० वर्षीय पुण्य पौडेल घाइते भएका हुन् ।
प्रहरीका अनुसार चट्याङ लागेर भुजेलको गाई मरेको छ । घरभित्र बसिरहेकी डम्बरकुमारीलाई चट्याङले भेटी उनी सामान्य घाइते भएकी छन् । मुखमा सामान्य जलेको डम्बरकुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यता हिजो साँझ ६.१० बजे झापा बुद्धशान्ति गाउँपालिका वडा न. –४ सट्टाभर्ना बस्ने ६० वर्षीय पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा हावाहुरीसहित आएको चट्याङ लागेर उनी घाइते भएका हुन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ ।