काठमाडौ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनीकरणका लागि नयाँ नयाँ रणनीति अपनाएको छ । पछिल्लो समय मादक पदार्थ सेवन मात्र नभई लागू औषध सेवन गरेर समेत सवारी चलाउने गरेको जनगुनासो बढेसंगै देश व्यापीरपमा चेकजाँचलाई कडाई गरेको हो । नागढुङ्गामा गरिएको चेकजाँच्का क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश ३ ०१००६ ख ४५ ८५ नम्बरको ट्रकका चालक धादिङको गल्छि गाउँपालिका ७ का ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४ ११ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का २९ वर्षीय अरबिन्द दमाई र मधेस प्रदेश ०३ ००१ख ९६ ३६ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ३४ बर्षीय गोकर्ण अर्याललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले बताउनुभयो । यसरी सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन सवैमा अनुरोध गरिएको छ ।