बिराटनगर,
मोरङको सुन्दरहरैंचामा नौमती बाजा बजाउने तालिम सम्पन्न भएको छ। आमकास नेपाल मोरङको आयोजना तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – १० को आर्थिक सहयोगमा १५ दिने नौमती बाजा बजाउने तालिम भएको हो।
आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईको अध्यक्षता तथा कार्यपालिका सदस्य बबिता खापुङको प्रमुख आतिथ्यतामा शुक्रबार तालिम समापन भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खापुङ् नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरिएको बताईन्।
उनले महिलाहरुलाई सीप र ज्ञान प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउदै अब महिला दिदीबहिनीहरुलाई प्रमाणपत्र लिएर घरमा नबस्न र सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरिन्। पञ्चेबाजाको सेट नगरपालिकाले उपलब्ध गाराउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै युवा व्यवसायी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले तालिम लिएपछि बाजा बजाएर आम्दानी गर्ने मात्र नभएर नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने प्रसाय भएको भएको बताउदै पञ्चेबाजा संरक्षण र कला, संस्कृतिमा प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
कार्यक्रम समापन गर्दै आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईले नौमती पञ्चेबाजाको संरक्षण र संवर्द्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताइन्।
तालिममा सहभागी महिलाहरुले पनि नेपालको मौलिकता बोकेको पुरानो बाजालाई अगाडि बढाउनुपर्छ भन्ने लागेर बाजा बजाउने तालिम लिएको बताउदै अब एउटा समुह गठन गरी व्यवसायिक रुपमा नै नौमती बाजा बजाउने बताएका छन्। नगर भित्रका १६ जना महिलाहरुले तालिम लिईएका छन् भने तालिमको प्रशिक्षक बीर बहादुर बर्देवा,सीता कार्की कटुवाल रहेका थिए।