विवेक केशरी प्रसाईं,

सफलता स्थायी हुँदैन, समय कहिल्यै थाक्दैन । एकपटक मानिसले ठाने -“अब म शीर्षमा पुगेँ” -त्यो क्षण नै पतनको बीउ रोपिन्छ । नोकिया र कोड्याक -दुई नाम, दुई युगका राजा तर एउटै नियति । उनीहरू इतिहासमा सिकाइका शिलालेख बने -“जो परिवर्तनसँग हिँड्दैन, ऊ परिवर्तनकै भोग बन्न पुग्छ ।”
नोकियाको दर्शन : “Connecting People” बाट Disconnect
फिनल्याण्डको सानो शहरबाट सुरु भएको कम्पनी, जसले विश्वका करोडौं हातमा मोबाइल थमाइदियो । सन् १९९० देखि २००७ सम्म नोकिया संसारको शिखरमा थियो । टिकाउपन, सरलता र विश्वसनीयताको प्रतीक तर जीवनजस्तै व्यापार पनि स्थिर हुँदैन -परिवर्तनको हावा चल्दै थियो । iPhone जन्मिँदै थियो, Android पखेटा फैलाउँदै थियो तर नोकियाले भन्यो -“हामी त पहिले नै राजा हौं ।”
राजा जब नयाँ युद्धको तयारी नगरी सुत्छ, उसको साम्राज्य लुटिन्छ । नोकियाको गल्ती अहंकार होइन, ढिलो चेतना हो । प्रविधि बदलियो, प्रयोगकर्ता बदलिए तर नोकियाले पुरानो प्लेटफर्म, पुरानो सोच, पुरानो गर्व समातेको रह्यो । परिणाम -साम्राज्य भत्कियो ।
कोड्याकको दर्शन : आविष्कारको भय
George Eastman को कोड्याकले फोटोग्राफीलाई जनताको हातमा पुर्यायो । “You press the button, we do the rest” -यस्तो आत्मविश्वासपूर्ण युगमा कोड्याक देवता जस्तै थियो तर देवताहरू पनि कहिलेकाहीँ आफ्नै सृष्टिबाट डराउँछन् ।
१९७५ मा Steve Sasson नामका इन्जिनियरले पहिलो डिजिटल क्यामेरा बनाए तर कम्पनीका ठूला अधिकारीहरूले भने, “यो ल्यायौं भने त हाम्रो फिल्म व्यवसाय सकिन्छ ।”
त्यो दिन कोड्याकले आफ्नो भविष्यलाई ढोका बाहिरै छोडिदियो । Canon, Sony, Nikon जस्ता कम्पनीहरूले डिजिटल संसार कब्जा गरे । कोड्याक, जसले फोटोको सपना देखायो, आफैं अँध्यारोमा हरायो ।
दर्शनको सार : समयसँग संवाद
समयसँग विरोध गर्नेले कहिल्यै नजीतेको इतिहास छ । नोकियाले बजार गुमायो, कोड्याकले आफ्नो पहिचान । तर यी दुवैले हामीलाई सिखाए -सफलता ‘अन्तिम गन्तव्य’ होइन, ‘लगातार यात्रा’ हो ।
“जीवन पनि कम्पनी जस्तै हो -यदि हामी पुरानो रूपमै बाँधिएका छौं भने, नयाँ सम्भावनाहरू हामीलाई बन्धन तोड्न बोलाइरहेका हुन्छन् ।”
सन्देश : परिवर्तन डर होइन, अवसर हो
परिवर्तनको डरले कोड्याक हरायो ।
परिवर्तनको ढिलाइले नोकिया हरायो ।
तर उनीहरूले इतिहासमा एउटा सन्देश छोडे –
“तिमी जित्न चाहन्छौ भने समयलाई बुझ, हार्न चाहन्छौ भने केवल आफ्नो अतीत सम्झ ।”
जीवन पनि त्यस्तै हो -यदि हामी हिजोका सफलतामा रमाउँछौं भने आजको अवसर गुमाउँछौं तर हिजोका गल्तीहरू बुझ्यौं भने भोलिको विजेता बन्न सकिन्छ ।
उपसंहार : समयभन्दा अघि हिँड्न सिक
सफलता त्यो हो, जसले आफूलाई बारम्बार पुनःआविष्कार गर्छ । पानी स्थिर रह्यो भने दुर्गन्ध आउँछ, मानिस स्थिर रह्यो भने महत्व हराउँछ ।
नोकिया र कोड्याक दुबै हराए, तर तिनको कथा भने अमर रह्यो -हामीलाई सम्झाउने कि “जो परिवर्तनको प्रवाहसँग बग्न जान्दैन, ऊ आफ्नै स्थिरतालाई डुबाइदिन्छ ।”

























