काठमाडौँ, असोज १७। बल्खुबाट फर्पिङ मार्ग भई मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत स्थानमा चल्ने टाटा सुमो सञ्चालन भएपछि बल्खुमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
दिउँसो प्रहरी प्रशासन, व्यवसायी, स्थानीय राजनीतिकर्मी लगायतको छलफलपछि यातायात सेवा सञ्चालन भएको छ । दसैँमा घर जान हिँडेका यात्रुलाई रिजर्भका नाममा आफूखुसी भाडा असुल्ने यातायात व्यवसायीलाई प्रहरीले निगरानी समेत बढाएको छ ।
सोसम्बन्धी विवादमा केही व्यवसायीले आज बल्खुमा अवरोध गरेका कारण त्यस क्षेत्रमा टाटा सुमो आज बिहानदेखि चल्न नसकेकामा प्रहरीले निगरानी बढाएको हो । ट्राफिक प्रहरी नायब निरीक्षक तिलक भट्टले रिजर्भ गाडीका नाममा यात्रुबाट जथाभावी रकम उठाउने व्यवसायीलाई कडा कारबाही गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँबाट हेटौँडाका लागि करिब रु ५०० भाडादर कायम भएकोमा केही व्यवसायीले प्रतिव्यक्ति रु एक हजार ५०० सम्म असुल गरेको पाइएको छ । प्रहरीका अनुसार बढी भाडा लिने चालक तथा व्यवसायीका बारेमा यात्रुले जानकारी दिएमा प्रहरीले कारबाही गर्नेछ ।
यातयात व्यवसायीले अनियमितता गरेपछि प्रहरीले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि त्यसको विरोधमा व्यवसायीले अवरोध गरेका थिए । नागरिक सहायता कक्षबाट सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिँदै अनियमितता गरेको सूचनाका आधारमा केही व्यवसायीलाई सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरी नायब निरीक्षक भट्टले बताउनुभयो ।
रिर्जभका नाममा केही बिचौलियाले सर्वसाधारणसँग तोकिएको भाडाभन्दा तीनगुणा बढी रकम लिएर सवारी साधन सञ्चालन गरेको थाहा पाएपछि स्थानीय तथा यात्रुले त्यसको विरोध गरेका छन् भने प्रहरीले निगरानी बढाएको छ ।
जीप तथा टाटा सुमो सञ्चालन समन्वय समितिका अध्यक्ष गुन्जमान बस्नेतले सरकारले तोकेको मूल्यमा यातायात सेवा सञ्चालन गरिएकोमा केही व्यवसायीले बढी रकम असुलेका कारण समस्या आएको जानकारी दिनुभयो । त्यसमार्ग भई सामान्य अवस्थामा दैनिक करिब दुई हजार मानिस बाहिर जाने गरेकोमा अहिले दसैँको समयमा करिब १५ हजार यात्रु बाहिरिने गरेका छन् ।
स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले त्यस्तो अनियमितता गर्न चाहने व्यवसायीलाई सरकारले कारबाही गरी इजाजत खारेज गर्नुपर्ने बताउनुभयो । बल्खुस्थित नागरिक सहायता कक्षले सरकारद्वारा तोकिएको भाडादर तथा तोकिएको मानिस राख्ने व्यवसायीलाई सवारीसाधन सञ्चालनका लागि सहयोग गरेको छ ।
स्थानीय सगुन शुभ यातायात प्रालिका अध्यक्ष रत्नकुमार श्रेष्ठले अहिले काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढेको र त्यस अनुपातमा सवारीसाधन अपुग भएकाले समस्या आएको बताउनुभयो । रासस