बिर्तामोड।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त कार्यक्रमका केन्द्रप्रमुखहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा तथा तालिम समितिका सदस्य मेहरमान बिष्टले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष संग्रौलाले सहकारीले मानिसलाई परिश्रमी एवम् इमान्दार बन्न सिकाउने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले सहकारीको गत चैतसम्मको वित्तीय झलक प्रस्तुत गरेका थिए । उनका अनुसार संस्थामा २० हजार शेयर सदस्य, आठ करोड ७४ लाख रुपैयाँ शेयर पूँजी, ४० करोड ९१ लाख रुपैयाँ निक्षेप र ६२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
संस्थाले शेयर सदस्य बिरामी भएको अवस्थामा उपचार खर्च प्रदान गर्ने गरेको छ भने ऋणी सदस्यको मृत्यु भएमा कर्जा मिनाहा गरिदिने गरेको उनले बताए ।
कार्यक्रममा पत्रकार गोपाल काफ्लेले सहकारीले नाफामुलकभन्दा सेवामुखी कार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।