भद्रपुर , गोर्खा नेपाल जनुमक्ति मोर्चाले कनकाई नदीको पुल नजिकै प्रेसर कुकर बम राखेको खुलेको छ।
प्रेसर कुकर बमनजिकै मोर्चाले राखेको पर्चा फेला परेपछि यस्तो घटना खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोर्चाको पर्चामा सुगौली सन्धि मार्फ नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ। मोर्चाले नै बम राखेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ५ बजे मर्निङवाकमा निस्किएका मानिसले कनकाई नगरपालिका २ स्थित कनकाई पुल नजिकै बोराले बेरिएको प्रेसर कुकर बम देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए। पुल नजिकै बम फेला परेपछि ५ बजेदेखि ठूला तथा साना यातायातका सवारीसाधन ठप्प भएको थियो। प्रहरी टोलीले सडक बन्द गरी प्रेसर कुकर बम राखिएको स्थानमा घेरा हालेर सुरक्षा प्रदान गरेको थियो। मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट आएको नेपाली सेनाले प्रेसर कुकुर बमलाई नदीमा लगेर बिहान ८स्३० मिनेटमा डिस्पोज गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। कनकाई पुल नजिकै राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँबाट हटाएपछि सडक खुलेको हो बिहान ५ बजेदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग साढे ८ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।