झापा।
सात हप्तादेखि पूर्वी नेपालका चिया बगान तथा उद्योग बन्द भएका कारण मजदुरहरूको बिचल्ली भएको छ ।
मजदुरहरूआफैँले बगान र उद्योग बन्द गराएका हुन् । तर, व्यवस्थापनले ४३ दिनदेखि पैसा नदिएपछि उनीहरू भोकभोकै बस्न बाध्य छन् । सामान्य बिरामी हुँदा पनि औषधि किन्न सक्ने अवस्था आफ्नो नरहेको उनीहरू बताउँछन् । गतचैत १७ गतेदेखि नेपाल सरकारले तोकेको दैनिक ज्याला पाउनुपर्ने माग गर्दै चिया बगानमा काम गर्ने मजदुर आन्दोलित भएका हुन् । दैनिक ज्याला तीन सय ८५ रुपैयाँ पाउनुपर्ने माग गर्दै उनीहरूले बगान र कारखाना बन्द गरेका छन् ।
सम्झना उराऊ बाल्यकालदेखि नै झापाको भद्रपुरमा रहेको बुधकरण चिया बगानमा मजदुरको रूपमा काम गर्छिन् । उनको बाल्यकाल पनि बगानभित्रै बित्यो । उनका पति पनि बगानकै मजदुर हुन् । उनीहरु दुई जनाको कमाइले चार जना छोरीहरुसमेत खर्च टार्नुपर्छ । तर, चिया बगान तथा उद्योग बन्द भएको ४३ दिन बित्दा पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन । यत्रो दिनसम्म न त उनीहरुले साविकको ज्याला पाएका छन् न बढेको ज्याला नै ।
‘गिट्ठाको भर’ मा मजदुर
चिया बगानमा काम गर्ने मजदुरले बगान तथा उद्योग बन्द भए यता राम्ररी भात खान नपाएको गुनासो गरेका छन् । परिवारमा कोही बिरामी पर्दा औषधि पनि किन्न नसकेको उनीहरू बताउँछन् ।
सम्झना उराऊ भन्छिन्– यी यहाँ हेर्निस् जङ्गलबाट खोजेर ल्याएका गिट्ठा । यही उसिनेर खाँदैछौँ । चामलको भात खान नपाएको झण्डै एक महिना भएको सुनाउँदै उनी भन्छिन्– उधारो कति खाऊँ ? त्यो पनि नतिरी हुँदैन । कमाइ छैन भने कहाँबाट ल्याएर पैसा तिर्नु ?’
अर्की मजदुर प्रिया मुन्डाका अनुसार नजिकै जङ्गलबाट गिट्ठा खोजेर ल्याएर आलु जस्तै पकाएर खाने गरिएको छ । उनी भन्छिन्– भात तरकारी किनेर खाने अवस्था छैन । जङ्गलमा गिट्ठा छ, त्यही ल्याएर खान्छौँ ।
उधारोमा किताब–कापी
तीन हप्ताभन्दा बढी समयदेखि एक पैसा हात नपारेका चिया मजदुरहरू छोराछोरीको पढाई खर्च जुटाउन पनि त्यतिकै मुस्कल भएको बताउँछन् । सम्झना उराऊ उधारोमा सन्तानलाई शैक्षिक सामग्री लिनुपर्ने बाध्यता देखाउँछिन् । उनी भन्छिन्– एउटी छोरीको किताबका लागि मात्र तीन हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने हुन्छ । तर, पसलेले उधारोमा दिएन भने रित्तो हात फर्कनुपर्ने हुन्छ ।
प्रिया मुन्डाले पनि आफ्ना बच्चाको पढाइका लागि किताब तथा कपीको जोहो गर्न नसकेको बताइन् । उनी भन्छिन्– खानेकुरा त जङ्गलबाट ल्याएर खानुपरेको छ । किताबकापी किन्नु त परैको कुरा… ।
‘यस्तो अवस्था आएको थिएन’
चिया उद्योगमा पहिला पनि हड्ताल हुन्थ्यो । तर अहिलेको जस्तो अवस्था नदेखेको नभोगेको मजदुरहरू बताउँछन् ।
बाल्यकालदेखि नै आफू चियाका बुटावरपर रहेको बताउने अर्की मजदुर अञ्जली बनियाँले अहिलेको जस्तो अवस्था पहिला आफूले नभोगेको बताइन् । उनले भनिन्– पहिला पनि हड्ताल भए । तर केही दिन मै सहमति भयो । यसपटक यत्रो दिनसम्म यस्तो भोकै रहनु परेको जस्तो अवस्था कहिले पनि भोगेनौँ । अर्का मजदुर जितलाल हेमरमका अनुसार ज्याला मजदुरीकै विषयमा पहिला पनि हड्ताल भए पनि केही दिनमै समाधान भएकाले अहिले मजदुरले भोगेको अवस्थाजस्तो त्यो बेला थिएन ।
‘सरकार र उद्योगी जिम्मेवार’
चिया मजदुरलाई यो हालतमा ल्याइपु¥याउने मुख्य जिम्मेवार सरकार र उद्योगीहरू भएको मजदुरहरूको दाबी छ । बुधकरण चिया बगानमा काम गर्ने मजदुर राजकुमार तामाङले नियम बनाउने सरकार र कार्यान्वयन नगर्ने चिया उद्योगी यो अवस्थाको जिम्मेवार रहेको बताए ।
उनले भने– मजदुरले कानूनी उपचार खोजेको हो ।
कानूनले दिएको हक खोजेको हो । त्यसलाई कार्यान्वयन गराउन सरकारले किन सक्दैन ? अर्का मजदुर कंग्रेस बनियाँले जसरी पनि आफूहरुले पाउनुपर्ने बढेको ज्याला गत साउन महिनादेखि पाउनैपर्ने बताए ।
ज्याला कति छ ?
सरकारले चिया श्रमिकको दैनिक ज्याला तीन सय ८५ रुपैयाँ र अतिरिक्त समयका लागि प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ । तर, श्रमिकले अहिले दिनको दुई सय ७८ रुपैयाँ मात्र पाइरहेका छन् ।
बढेको ज्याला गत साउन महिनादेखि पाउनुपर्ने मजदुरहरू बताउँछन् । कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ तोकिएको छ । त्यो पनि कार्यान्वयन भएको छैन ।
उद्योगी के भन्छन् ?
उद्योगीहरूका अनुसार श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एकरूपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो । चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको उनीहरूको दाबी छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासी थेग्नै नसक्ने गरी आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धराशायी बन्ने स्थिति छ । उनले भने– भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामी दिनु परेपछि हामीले हात उठाउन बाहेक अर्को विकल्प छैन ।
सरकारको भनाइ के छ ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चिया उद्योगीहरूले मजदुरलाई ऐनले तोकेको ज्याला दिनैपर्ने बताउँदै आएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार मजदुरलाई दिइने ज्यालाका कारण चिया उद्योगमा संकट आए त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।
तर मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध गराउनु नै पर्ने सचिव दाहालले बताए । उनले भने– हामी धेरैपटक वार्तामा बस्यौँ । मजदुरलाई सरकारले तोकेको ज्याला तपाईँहरू दिनुहोस् अनि बाँकी कुरा गरौँला भन्यौँ । तर, उहाँहरु मान्नुभएको छैन । मजदुरलाई ज्याला उपलब्ध गराउने विषयमा कतै कन्जुस्याइँ हुनुहुँदैन ।
नेपालमा वार्षिक झण्डै दुई करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग छ । नेपालका चिया बगानमा झण्डै ६० हजार मजदुर कार्यरत रहेको मजदुरका सङ्गठनहरुले बताउँदै आएका छन् ।
– उमाकान्त खनाल÷वीवीसी