सफलताका लागि सजग बनौं

३० जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

रत्नबहादुर बस्नेत,

भनिन्छ, मानव जुनी पाएर पनि आफ्नो उन्नतिको लागि कुनै प्रयत्न नगर्ने मानिसले आफ्नो जीवनबाट कुनै लाभ उठाउन सक्दैन । तिनीहरुको जीवन व्यर्थ हुन्छ । त्यसैले आफ्नो उन्नतिको लागि प्रयत्न गर्नु मानिसको पहिलो कर्तव्य एवम् धर्म हो । यसै सन्दर्भमा यहाँ मानिसको प्रगति एवम् सफलताका लागि अनिवार्य केही गुण तथा लक्षणका सम्बन्धमा संक्षेपमा चर्चा गरिन्छ ।

उद्योग अर्थात् परिश्रम

उद्योग एवम् परिश्रमले मानिसलाई महान् बनाउँछ । यो अनुभवसिद्ध तथ्य हो । मानिसको उन्नतिको सबैभन्दा ठूलो शत्रु हो– आलस्यता । अल्छी मानिसको उन्नति कहिल्यै हुँदैन । आलस्यता प्रारम्भमा सुख जस्तो अनुभव भए पनि परिणाम दुःखदायक नै हुन्छ । परिश्रम प्रारम्भमा कठिन र दुःखदायी भए पनि त्यसको परिणाम सुखदायक एवम् लाभदायक नै हुन्छ ।

परिश्रमहीन जीवनलाई अत्यन्त तुच्छ र मृत्युतुल्य ठहर गर्दै आदिकवि भानुभक्त आचार्यले भनेका छन्– ‘जिउँदै मर्या भनी नाम लिनु कसको ? बिना उद्यम काल बित्छ जसको ।’ आलस्यता त्यागेर कडा परिश्रम गर्नेलाई नै कर्म र भाग्यले साथ दिन्छ । इच्छाले मात्र कुनै काम बन्दैन, तदानुसार उद्योग वा प्रयास गर्नैपर्छ । सिंहको मुखमा मृग आफैं आएर पस्दैन । मानिसको भाग्यमा भएको वस्तु प्राप्त गर्न पनि उद्योग वा प्रयास गर्नैपर्छ ।

नीतिशास्त्रमा भनिएको छ– जो भाग्यमा छ भनेर त्यसै बस्छ, त्यो कायर हो । जसरी तीललाई नपेली तेल प्राप्त गर्न सकिंदैन त्यसरी नै भाग्यमा भएको वस्तु प्राप्त गर्न प्रयास गर्नैपर्छ । यदि त्यसो गर्दा पनि सफलता प्राप्त भएन भने आफ्नो दोष हुँदैन । यहाँ एक विद्वानको भनाइ स्मरणीय छ– उनी भन्छन्– ‘यदि तिमी दरिद्र छौ भने उठ, जाग र कडा परिश्रम गर, अन्ततः सुख पाउँनेछौ ।’

संयम

सफलता प्राप्तिको लागि अर्को अनिवार्य तत्व हो– संयम् । संयम भनेको आत्मानुशासन पनि हो । जो संयममा बस्दैन त्यो सधैं अर्काको दास हुन्छ । जसको उन्नतिको कल्पना पनि गर्न सकिंदैन । असंयमी व्यक्तिको मनस्थिति सदा अशान्त र असन्तुलित हुन्छ । निश्चित लक्ष्य प्राप्तिको लागि हाम्रो मन र इन्द्रीयहरुलाई संयमित राख्नु परमावश्यक छ । जसरी नदी आफ्ना दुई किनारा नछोडी संयमित भएर बग्दै जाँदा सागरसम्म पुग्छन् । त्यसरी नै मानिस संयमित भएर कर्म गर्दा हजारौं बाधा आए पनि लक्ष्यमा पुग्न सक्छ ।

जहाँ नियम भंग हुन्छ, अनुशासन उल्लघंन हुन्छ त्यहाँ संयम रहँदैन । आजको मान्छेमा रोग, शोक आदि विकारको बढ्दै जानुको मुख्य कारण नियम एवम् संयमको पालना नगर्नु नै हो भनेर विज्ञहरुले बताएका छन् । संयम र श्रमलाई मानिसको सबैभन्दा ठूलो चिकित्सक मानिएको छ । श्रमहीन र असंयमी आचारविचारकै परिणाम मानिस शक्तिहीन, दुर्बल बनेर दुःखमय जीवन भोग्न बाध्य बन्दै गएको छ । वनको राजा मानिने सिंहलाई सबैभन्दा संयमी प्राणी मानिन्छ, जुन सर्वशक्तिशाली बनेर वनको शासन गर्दछ । जसले जीवनमा एक–दुईपटक मात्र यौनक्रिडा गर्दछ भनिएको छ ।

चतुरता

कुनै कार्यको सिद्धि वा सफलताको लागि इमान्दारिता मात्र प्रयाप्त हुँदैन । त्यसका लागि व्यक्तिमा समयानुकूल कार्य गर्ने ढंग पु¥याउने चतुरताको गुण पनि जरुरी हुन्छ भनिएको छ । काल–परिस्थिति अनुसार सावधान र चनाखो बनेर कार्य गर्ने कुशलता नै चतुरता हो । कतिपय अवस्थामा आफ्ना काम–कर्तव्यहरुमा प्रयाप्त सजगता र सावधानी नअपनाउनाले सञ्चित पुण्यफल (प्राप्त अवसर) समेत हराएर जान्छ वा गुम्ने सम्भावना रहन्छ । व्यक्तिमा जतिसुकै विद्या प्राप्त भए पनि चतुर्विद्या (चनाखोपन) भएन भने त्यसको उपयोग गर्न सक्दैन ।

व्यक्ति इमान्दार र योग्य भइकन पनि पछिपर्नुको कारण उसमा देशकाल अनुरुप आफूलाई ढालेर काम गर्ने ढंग र नीतिको अबलम्बन गर्ने चतुरताको अभाव हुनु हो भन्ने मत नीतिकारहरुको रहेको छ । चतुरताको अर्को रुप बठ्याइँ हो । यसैबाट कार्यकुशल तथा व्यवहार कुशल बनेर सर्वत्र प्रभाव छाड्न सक्षम हुन्छ । चतुरतापूर्वक गरिएको सत्कर्मबाटै व्यक्ति शीघ्र अगाडि बढ्न र माथि उठ्न सक्छ । एउटा भनाइ सत्य के हो भने हामीमा अवसरको कमी छैन । तर, खाँचो केबल योग्यताको । मानिसमा बुद्धि भएर मात्र हुँदैन बुद्धिको उपयोग गर्न ज्ञान चाहिन्छ ।

धैर्य एवम् सहनशीलता

उन्नति र कल्याणको लागि धैर्य एवम् सहनशीलता अत्यन्त आवश्यक तथा उपयोगी गुण मानिन्छ । यसलाई धर्मको प्रमुख गुण एवम् लक्षण समेत मानिएको छ । भनिन्छ, धैर्य लिन गाह्रो हुन्छ तर यसको परिणाम मीठो हुन्छ । प्रचण्ड गर्मी र हुरीबतास सहेर वनका वा वृक्षतलाहरुले सुन्दर र स्वादिष्ट फलफूल प्रदान गर्दछन् । घामको राप सहन गरेर तिनले शीतल छाँया दिन्छन् ।

धैर्य एवम् सहनशीलताको गुणकै कारण कतिपय महापुरुषहरु संसारभर प्रशिद्ध बनेका छन् भने यता यही गुण (धैर्य एवम् प्रतिक्षा गर्ने) गुणको अभावमा सफलताको नजिक पुगेर (केही क्षण खन्दै छोड्दै गर्नाले कयौं खाल्डो खन्दा पनि पानी ननिस्के झैं) पतनोन्मुख भएका व्यक्तिहरुको उदाहरण प्रशस्त पाइन्छ । भगवान् बुद्धलाई जतिसुकै गाली गर्दा पनि जवाफ फर्काउनु भएन । बरु गाली गर्नेले नै क्षमायाचना गर्नप¥यो । पृथ्वी सहनशील गुणकै कारण धरतीमाताका रुपमा पुज्य रहेकी छन् । यही नै महानताको लक्षण हो । सहनशील एवम् सरल स्वभावबाटै सद्ज्ञानको उदय भई उन्नति मार्गमा अग्रसर बन्न सकिन्छ ।

सोचविचार

भनिन्छ, राम्ररी सोचविचार गरेर कार्य गर्ने मानिस हमेसी असफल हुँदैन । त्यसैले जीवनमा अधोपतन हुनबाट बच्न चाहिने र उत्तरोतर प्रगतिको कामना गर्ने सोचविचारपूर्वक कर्म गर्नु ठूलो बुद्धिमानी हुन् । जसले सोचविचार गर्दैन ? उसले कुनै फल र उन्नति प्राप्त गर्दैन । जसले सोचविचारपूर्वक कर्म गर्दछ उसले नै समस्त पुरुषार्थ प्राप्त गर्दछ र शान्त एवम् सुखमय जीवन बिताउने सौभाग्य प्राप्त गर्दछ । मानिसको उन्नति–प्रगतिका लागि सोचविचारमा जोड दिंदै खप्तड स्वामी भन्नुहुन्छ– जीवन सुधारका लागि शान्त चित्तले एकाग्र भई विचार गर्नुपर्छ । हामीभित्रका दोष तथा दुर्गुणको पहिचान गरी तिनको त्याग गर्नुपर्छ । सद्गुण तथा सद् विचारलाई अपनाउने अभ्यास निरन्तर गर्नुपर्छ । त्यसबाट प्रतिकूल विचार मनबाट हटी उत्तम विचार स्थापित हुन्छ ।

सोचविचारपूर्वक कर्म गर्ने व्यक्ति हम्मेसी असफल हुँदैन । यदि मानिस शारीरिक रुपले दुर्बल भए पनि वैचारिकरुपले सशक्त छ भने उसको प्रभाव सर्वत्र पर्दछ । वैचारिक रुपले कमजोर व्यक्ति शारीरिकरुपले बलवान् भए पनि शक्तिहीन र प्रभावहीन बन्दछ । विचारशक्तिको प्रभाव सबैमा पर्दछ । त्यसैले दान, तीर्थादी धार्मिक अनुष्ठान गरे पनि नराम्रा विचार लिने व्यक्तिलाई कुनै लाभ हुँदैन । जीवनोन्नति र उत्थानका लागि सर्वप्रथम सोचविचारमा सुधार वा तुच्छ विचार परित्याग गर्दै उच्च विचार तथा महान् विचारलाई स्थान दिनुपर्छ । अतः उपरोक्त सद् गुणहरुलाई आत्मसाथ गर्दै सदासर्वदा उत्तम विचार गर्ने स्वभावको निर्माण गरेर सफल र सुखी जीवन जिउने प्रयत्न गरौं । यसैमा सबैको कल्याण सम्भव छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here