भद्रपुर ।
नगर क्षेत्रका पत्रकारलाई लक्षित गर्दै भद्रपुरमा पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा भद्रपुर ८ स्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा प्रशिक्षक कार्यक्रम सम्पन्न भएको हो ।
नगर क्षेत्रमा बसोबास गरी विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, कर्मचारी र जनप्रतिनिधि गरी ४० जनाले सहभागिता जनाएका थिए । शनिवार दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा क्लबका सल्लाहकार संयोजक चिन्तामणि दाहालले नेपाली पत्रकारितामा शुद्घ भाषाको प्रयोग र त्यसको महत्त्वका बारेमा सहजिकरण गरेका थिए ।
त्यस्तै भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले स्थानीय तहमा पत्रकार र सञ्चारको भूमिकाको बारेमा जानकारी गराएका थिए । सहभागीहरूलाई क्वलका अध्यक्ष गोविन्द चन्द क्षेत्री, माधव विद्रोही र गोपाल काफ्ले समेत सहजिकरण गरेका थिए ।
प्रेस क्लबका संस्थापक अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठले स्थानीय तहका पत्रकार र सञ्चारमाध्यमले नगरको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् । नगरभित्रका घटनालाई यहाँका पत्रकारले त्यति चासो नदिएका कारण नगर बाहिरका पत्रकार आउनु पर्ने बाध्यताको अन्त्य गर्न सहभागी पत्रकारलाई उनले आग्रह गरिन् ।
कार्यक्रममा क्लबका सल्लाहकार माधव विद्रोही, प्रशिक्षार्थी लक्ष्मी मिश्र र रुमा राजवंशीले मन्तव्य राखेका थिए । क्लबका सल्लाहकार गोपाल गिरीले सञ्चालन गरेको समापन समारोह कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।