प्रदेशको नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन आग्रह

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड,

लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले मात्र प्रदेश १ बासीलाई अपनत्वको अनुभूति हुने बताए ।

१ नं. प्रदेशको ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचानलाई आधार मान्दै प्रदेशका अल्पसंख्यक लगायतको भावनाको सम्मान हुने गरी सबैलाई अपनत्व महशुस गराउने नाम जुराउन उनीहरुले सुझाव दिएका छन् । संविधानले प्रदान गरेको स्वायत्त, विशेष र संरक्षित क्षेत्रका आधारमा अधिकार प्रदान गर्दै पहिचानलाई सुनिश्चित गर्नुपर्नेमा उनीहरुको जोड छ ।

लिम्बुवानवादी नेताहरुले अधिकतम् सहमतिमा प्रदेशको नामाकरण गर्न छलफल र संवादको विकल्प नरहेको बताए । सबै पक्षको सहभागितामूलक ढंगले सामाजिक सद्भाव कायम राख्दै निरन्तर संवाद र छलफलबाट प्रदेशको नामाकरण गर्न उपयुक्त हुने उनीहरुको निष्कर्ष छ ।

संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष नन्दकुमार बिष्ट क्षेत्री, मञ्चका केन्द्रीय सदस्यहरु भक्त मेयाङ्वो, मिनप्रसाद चम्लागाईं, संघीय लिम्बुवान पार्टी नेपालका झापा अध्यक्ष मगेन राई, संघीय लिम्बुवान मञ्च झापाका वरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले ऐतिहासिकता र पहिचानको आधारमा नाम खोज्नुपर्ने बताए । छलफलको संयोजक संवाद समूह झापाले गरेको थियो ।

उनीहरुमध्ये अधिकांशले लिम्बुवान, किरात–लिम्बुवान, लिम्बुवान–किरात नाम राख्नु उपयुक्त हुने विकल्प समेत प्रस्तुत गरेका छन् । लिम्बुवानका नेता पालुङ्वाले नामाकरणको विषयमा टुंगोमा पुग्नु अहिलेसम्मका विद्रोह र आन्दोलनको सही निकास भएको बताए । उनले नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिँदै संवाद र सहमतिको बाटोबाट अघि बढ्न पनि सुझाव दिएका छन् ।

सहभागी नेताहरुले सबैको अस्तित्वको सम्मान हुनुपर्ने बताए । नेताहरुले ढिलोछिटो ११ प्रदेशको अवधारणामा अघि बढ्दा सबैको पहिचान समेटिने दाबी गरे । संघीयतालाई असफल बनाउने विभिन्न क्षेत्रबाट षडयन्त्र भइरहेको भन्दै उनीहरुले संघीयताको संस्थागत विकासका लागि यसप्रति अपनत्व हुने कुराको खोजी गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here