योगेन्द्र पौडेल,
युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हाँसिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसांख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक–फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो जनसंख्याको सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक–फरक पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बिचमा कायम गरिएको पाइन्छ भने संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।
नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसंख्याको ४०.३५ प्रतिशत हुन आउँछ र आउने दशकमा यो प्रतिशत अझै बढ्ने निश्चित छ । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा ‘युथ भिजन – २०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको थियो । मन्त्रालय गठनसँगै राष्ट्रिय युवा नीति तर्जुमा गरी युवा विकास र परिचालनका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । नेपाल सरकारको तेह्रौँ योजनाको आधारपत्र (२०७०÷०७१—२०७२÷०७३) मा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार र आय आर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तीकरण गर्ने रणनीति तय गरिएको छ ।
यसै अनुसार युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकुद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरूले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रमहरू कार्यान्वयन गर्दै आएका छन् । युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी युथ भिजन २०२५ को मर्म र भावना अनुसार युवा लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी भई सो अनुसार राष्ट्रिय युवा परिषद् स्थापना र गठन भइसकेको छ । राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।
तिनै विषयहरूलाई प्राथमिकता निर्धारण गरेर कार्यान्वयनका लागि युवा विकासको स्पष्ट दृष्टिकोण, रणनीतिक कार्ययोजना र कार्यक्रम तय गर्नु अति आवश्यक छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरू, युवा विकाससँग सम्बन्धित संघ÷संस्थाहरू र अन्तर्राष्ट्रिय दातृ संस्थालाई युवा विकासको लक्ष्यमा समन्वयात्मक रूपमा परिचालन गरी राष्ट्रिय युवा परिषद्मार्फत राष्ट्रिय युवा नीति, २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘युथ भिजन–२०२५’ सहितको दश बर्षे रणनीतिक योजना निर्माण भइ सोको कार्यान्वयनको प्रक्रिया पनि शुरु भएको छ ।
अन्तर्राष्ट्रियस्तरमै युवा क्षेत्रमा भएका प्रगति र नेपालको अवस्थालाई मध्यनजर गरी ‘युथ भिजन – २०२५’ ले अहिलेको युवा विकासका मूल समस्यालाई लक्षित गरी युवा विकासका पाँच रणनीतिक आधार स्तम्भ तय गरेको छ ।
नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनुपर्ने आधारभूत कार्य हो । युवा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार र जडीबुटी नेपालका लगानी र रोजगारीका महत्वपूर्ण क्षेत्र हुन् ।
त्यसैगरी सबल र स्वस्थ युवा निर्माणका लागि सन् २०२५ सम्म गर्नुपर्ने अर्को महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौँ भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । युवा परिचालन, सहभागिता र नेतृत्व विकासबिना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हाँसिल गर्न सक्दैन । युवा राष्ट्रिय अभियानहरू र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्वयम्सेवी भूमिका मार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ ।
युवा स्वावलम्बन, सशक्तीकरण, सहकार्य, पहलकदमी मार्फत राष्ट्र निर्माणका निमित्त युवा नेतृत्वलाई विकास र स्थापित गर्दै जानुपर्दछ । खेलकुद र मनोरञ्जनलाई युवाको मानसिक र शारीरिक स्वास्थ्यका साथै व्यक्तित्व विकाससँग समेत जोड्नुपर्दछ । खेलकुदको विकासले युवामा राष्ट्रिय भावना र ऐक्यबद्धता कायम गर्न मद्दत गर्दछ । यसका लागि मनोरञ्जन केन्द्र, व्यायाम केन्द्र, पार्कहरू, रङ्गशाला, कभर्डहल, खेल मैदानहरू, सांस्कृतिक कला केन्द्र स्थापना गर्न राज्यको लगानी आवश्यक हुन्छ । खेलकुदलाई व्यापकता दिन विद्यालय स्तरदेखि नै योजनाबद्ध विकास गरी सबै युवाको पहुँच सुनिश्चित गरिनु आवश्यक छ ।
नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमता विकास मार्फत आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्न स्थानीय विकासमा सहभागी गराउन आवश्यक देखिएको छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा युवाको ठूलो योगदान छ । राणाशासनको अन्त्यदेखि प्रजातन्त्र पुनः प्राप्ति हुँदै गणतन्त्र नेपाल निर्माण अभियानमा युवाको ठूलो योगदान छ । युवालाई राजनीतिक लक्ष्य प्राप्तिमा उपयोग गरिएको नेपालको विकास र समृद्धिमा पनि युवाको सशक्त उपयोगबाट ठूलो उपलब्धि हाँसिल गर्न सकिन्छ । युवालाई स्वदेशमै अवसरका सिर्जना निर्माण गर्दै स्थानीय तहका योजना र बजेटबाट युवा सहभागितामा गरिने विशिष्ट नमुना योजनाहरूको तयारी र कार्यान्वयन गर्न आवश्यक छ ।
युवा भविष्यको कर्णधार मात्र होइनन्, वर्तमानको साझेदार पनि हुन् । उच्च कार्यसम्पादन क्षमता भएको उमेर समूह पनि हो । विश्वव्यापीकरणको सकारात्मक प्रभाव र प्रविधिको समयानुकूल दक्षता भएको समूह हो । कार्य दृढता, सकारात्मक सोच, इमान्दारिता र अनुशासनयुक्त युवा आजको मुलुकको आवश्यकता हो । युवालाई समाज विकास प्रति इमानदार र अनुशासनयुक्त बनाउन जीवनोपयोगी सीप, आम युवा सहभागिता, सहकार्य र नेतृत्व विकास मार्फत युवा विकासका कार्यक्रम सञ्चालन गर्दै स्वयम्सेवी अभियानहरू सञ्चालन गर्न आवश्यक छ । सानो–सानो समूहमा गोल बन्द भई, युवा क्लबहरू गठन गरी, गैरसरकारी संघ–संस्था मार्फत सामाजिक क्षेत्रमा क्रियाशील युवालाई स्थानीय सरकारबाट प्रोत्साहित गरी मानव विकास र भौतिक विकासमा परिचालन गर्नुपर्छ ।
युवालाई विकास मैत्री उमेर समूहको रूपमा समेत विकास गर्दै लैजानुपर्छ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचकहरू हाँसिल गरिसक्ने अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको छ । दिगो विकास लक्ष्य हाँसिल गर्न दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न नेपालमा बहस प्रारम्भ भइसकेको छ । दिगो विकास लक्ष्य हासिल गर्न युवाको परिचालनलाई मुख्य रणनीतिक मार्ग्चित्रको रूपमा लिइएको छ । यस सन्दर्भमा हामीले स्थानीय विकासमा युवाको सहभागिता गराउने नीति अख्तियार गर्न जरुरी छ । युवा विकासको सारथि बन्न तयार हुनुपर्दछ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाको सहभागितामा समृद्ध नेपाल निर्माण गर्ने अभियान प्रारम्भ होस् ।
(पौडेल भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत् छन् ।)