अन्तरपुस्ता सीप हस्तान्तरण

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

झापा बिर्तामोडको देवी माविमा शुक्रबार अनौठो कार्यक्रम भयो । त्यो नयाँ पुस्तालाई पुराना पुस्ताले सीप, कला, संस्कृतिबारे जानकारी दिने कार्यक्रम थियो ।

आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम गरिएको हो । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले उक्त कार्यक्रम आयोजना गरेको विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

कार्यक्रमले पहिलेका पुस्ताले पछिल्लो पुस्तामा सीप हस्तान्तरण गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताइन् । विद्यार्थीलाई पढाइका अतिरिक्त व्यवहारिक शिक्षा पनि दिनुपर्ने र उनीहरुलाई पुराना संस्कार र संस्कृति जोगाएर राख्नुपर्ने रहेछ भन्ने कुराको आभाष दिलाउन कार्यक्रमको आयोजना गरेको उनले बताइन् ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा मुकुन्दकुमारी घिमिरेको आमा समूहले संगिनी प्रस्तुत गरेको थियो । त्यस्तै, देवीप्रसाद मैनालीको समूहले कविता वाचनसँगै खाँडो जगाएको थियो भने तेजप्रसाद बरालको समूहले बालन गाएको थियो । कार्यक्रममा अभिचन्द्र पोखरेलले काठे ठेकीमा मोही पारेर देखाएका थिए । कुलप्रसाद पौडेलले डोको बुन्ने कार्य, यशोदा अधिकारीले टपरी गाँस्ने र बात्ती कात्ने, धनमाया थापाले पिरा बुन्ने, माया सापकोटाले ओखलमा पिठो कुट्ने, मुना श्रेष्ठले जाँतोमा मकै पिस्ने र धनबहादुर पोखरेलले ढेलामा डोरी बाँट्ने सञ्चारकर्मी धनपति भट्टराई र ९७ वर्षीया पवित्राकुमारी घिमिरेले श्लोक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रगति फुलबारी कीर्तन मण्डलीले भजन गाएको थियो भने सञ्जु तामाङको समूहले तामाङ घेदुङ नाच, नेवाः देय् दबू बिर्तामोडले लाखे नाच प्रस्तुत गरेका थिए । धान नाच र चण्डी नाच समेत प्रस्तुत गरिएको कार्यक्रममा शिक्षक धनबहादुर पोखरेलले ‘हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला’ बोलको गीत गाएका थिए । कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एकराज कार्कीले गरेका थिए । कार्यक्रममा कार्कीले नयाँ पुस्तामा पुरानो पुस्ताको दैनिक जीवनका सीप र संस्कार हस्तान्तरणका लागि यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै यस्ताखाले कार्यक्रमले आधुनिक परिवेशमा हुर्किएका पछिल्लो पुस्ताले आफ्ना पुर्खा र अभिभावकले गर्दै आएको कामको सिको गर्न मद्दत पुग्ने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसांसद तथा ज्येष्ठ नागरिक संघ झापाका वरिष्ठ उपाध्यक्ष तारासम योङ्या, बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख जयप्रसाद महत, बिर्तामोड– ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, ज्येष्ठ नागरिक संघ बिर्तामोडका अध्यक्ष कुलप्रसाद संग्रौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here