पाथीभरा मन्दिर क्षेत्रका ४९ पसललाई ३०० ‘लेवी’

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

इलाम।

इलामको रोङ गाउँपालिकामा रहेको धार्मिक एवम् पर्यटकीय स्थल पाथीभरा मन्दिर आसपासका व्यापारीहरुको सस्था पाथीभरा व्यापारी समूहको साधारणसभा सम्पन्न भएको छ ।

पाथीभरा मन्दिर परिसरमा सम्पन्न साधारण सभाले दुई लाख ९५ हजार चार सय २३ रुपैयाँको आयव्यय विवरण पारित गर्नुका साथै चालू बर्षको कार्यक्रम पारित गरेको छ । संस्थाका अध्यक्ष राम खवासको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पाथीभरा क्षेत्र बिकास समितिका सदस्य गोमा भुजेल, बिना भुजेल, डम्बरकुमारी भुजेल व्यापारी समूहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले गाउँपालिका तथा वडाका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्दा पनि उपस्थिति नभएको भन्दै चिन्ता प्रकट गरेका थिए ।

साधारण सभाले प्रत्येक ब्यापारीबाट मासिक रु. दुई सय लेबी उठाउँदै आएकोमा अब तीन सय रुपैयाँ उठाउने, उपहारजन्य सामग्री उत्पादन र बिक्रीमा जोड दिने, पसल अगाडि डष्टविन राख्ने तथा फूलबारी बनाउने जस्ता महत्वपूर्ण निर्णय पनि गरेको छ । पाथीभरा मन्दिर अगाडिको खुल्ला स्थानमा सामान्य टहरामा दिनभरी पसल राख्ने र बेलुका पसलका सामग्रीहरु डोकोमा उठाएर नजिकैको पाथीभरा धर्मसालामा राख्ने गरेको अध्यक्ष राम खवासले बताए ।

यसरी सामान ओसार–पसार गर्दा टुट्ने–फुट्ने तथा घषर्णको कारण गुणस्तर ह«ास हुने गरेकोले कम दाममा बिक्री गर्नुपर्ने र उपभोक्ताले पनि गुणस्तरीय सामान उपभोग गर्न नपाउने उपाध्यक्ष दिनेश निरौला बताउँछन् ।

गाउँपालिकाले पाथीभरा क्षेत्रलाई व्यवस्थित गर्न सुरक्षित रुपमा टहरा बनाइदिनुपर्ने व्यापारीहरुले माग राखेका छन् । यसअघि कोषाध्यक्ष शुष्मा राईले आर्थिक प्रतिवेदन, सचिव मिलन भुजेलले भावी कार्यक्रम, उपाध्यक्ष दिनेश निरौलाले एजेण्डा प्रस्तुतीकरण र अध्यक्ष राम खवासले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पाथीभरा मन्दिर क्षेत्र आसपासमा ४९ वटा पसल रहेका छन् । पाथीभरा व्यापारी समूहमा सबै पसल आबद्ध भएका छन् ।

व्यापारी समूह सामाजिक क्षेत्रमा पनि सक्रिय भएको साधारण सभामा जानकारी दिइयो । बिभिन्न क्षेत्रमा लागेका सामाजिक पुराणमा निमन्त्रणा आएमा आर्थिक सहयोग गर्ने, मरिमराउ जस्ता दुःखद् घटना भएमा समवेदनापत्रसहित सहानुभूति प्रकट गर्ने जस्ता काममा पनि सहभागी हुने गरेको सचिव मिलन भुजेलले बताए । सामुहिक रुपमा देशका बिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेर अनुभव आदान–प्रदान समेत गरी सिकेका कुरा व्यवहारमा उतार्ने गरेको सचिव भुजेलले बताए ।

यसैबीच रोङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष मातृका बरालले पाथीभरा क्षेत्रका व्यापारीहरु दर्ता प्रक्रियामा आउनुपर्ने बताए । पूर्वाञ्चलसँग कुरा गर्दै वडाध्यक्ष बरालले राज्यको नजरमा व्यापारी भएर देखापर्नको लागि कही न कही दर्ता भएर जानुपर्ने हुन्छ ।

पाथीभरा क्षेत्रमा रहेका सबै पसलहरु वडा कार्यालय मार्फत दर्ता भएर गएमा गाउँपालिकाले कार्यक्रम लागू गर्न सजिले हुने उनको भनाइ छ । गाउँपालिकाले पाथीभरा क्षेत्र बिकास कोषको स्वीकृत गुरुयोजना अनुसार बिकास निर्माणको काम अगाडि बढाउने पनि वडाध्यक्ष बरालले बताए । गाउँपालिकाले यस बर्ष पाथीभरा गुरुयोजना कार्यान्वयनको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here