ठेकेदारको लापर्वाहीले महिलाको मृत्यु : ५ लाख रुपैयाँ क्षतिपूर्ति

0
849

बिर्तामोड।

सडक निर्माणका क्रममा हेलचेक्र्याँई गरेका कारण बिर्तामोड–भद्रपुर सडक खण्डको नालामा डुबेर एक महिलाको निधन भएपछि निर्माण कम्पनीले मृतकको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

आशिष–प्रेरा जेभीले सडक निर्माणको काम गरिरहेको र सडक निर्माणका क्रममा कुनै पनि सचेतना जगाउने संकेत नराखेका कारण निर्माणाधीन सडकको नालामा डुबेर बिर्तामोड–१० निवासी ६७ वर्षीया सुमित्रा राईको मृत्यु भएको थियो ।
सडक निर्माणका क्रममा लापरवाही गरेको भन्दै परिवारले मृतक राईको शब नउठाएपछि बिर्तामोड नगरपालिकामा सर्ब पक्षीय बैठक बसेको थियो । बैठकमा मृतकको परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने, निर्माणाधीन सडकमा संकेतका चिन्न राख्ने र सडक समयमै निर्माण सम्पन्न गर्ने सहमतिपछि परिवारले शव बुझेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सडक निर्माण कम्पनीका प्रतिनिधिले मृतकको परिवारलाई पाँच लाख रुपैयाँ दिने लगायतका तीन बुँदे सहमति गरेपछि परिवारले शब बुझ्यो– इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले भने । सडक पुस महिनासम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।

प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडक खण्डको नालामा राई शुक्रवार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । राईको शव नालामा मृत अवस्थामा तैरिरहेको फेला परेको थियो । यसअघि पनि सोही सडकखण्डमा एक व्यक्ति मोटरसाइकलसहित नालामा खसेका थिए ।

सडक निर्माणको काम शुरु गर्दा स्थानीय जनप्रतिनिधि र ठेकेदारले उत्साहित हुँँदै समयमा काम सम्पन्न गर्ने आश्वासन दिइरहँदा स्थानीयले पनि खुशी ब्यक्त गर्दै सामाजिक सञ्जालमा अब बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको हुने भन्दै खुशी साटेका थिए । तर, काम शुरु भएको यतिका समय हुँदा समेत अहिलेसम्म एकतर्फको समेत नाला निर्माण भइसकेको छैन ।

बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुरको लेखनाथ चोकसम्म जोड्ने सडकको दुरी १४ किलोमिटर छ । १४ किलोमिटर सडक अन्तर्गत पहिलो चरणको निर्माण कार्य जम्मा चार किलोमिटर हो । तर, सो सडक खण्डको अहिले पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा राईले अकालमा ज्यान गुमाएको स्थानीयको आरोप छ ।

दमकस्थित सडक डिभिजन कार्यालय झापाले पहिलो चरणको ठेक्का स्वीकृति अनुसार बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड १८ महिनाभित्र सक्नुपर्ने जनाएको छ । आशिष–प्रेरा जेभीसँग गतवर्ष २४ असारमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार बिर्तामोड बजार क्षेत्रको अढाई किलोमिटर सडक चार लेनको र त्यहाँदेखि उता डेढ किलोमिटर सडक दुई लेनको बनाउनुपर्ने छ । तर, काम कछुवाको गतिमा भइरहेकोले सडक आसपासका स्थानीय र व्यापारी यसअघि पनि आक्रोशित बनेका थिए ।

विकासको काममा सदैव सहयोग गरेको तर आफूहरुको व्यवसाय नै धरासायी बन्दा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै व्यवसायी आक्रोशित भएका हुन् । उनीहरुले बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई समेत यस अघि नै पटक–पटक सो सडकखण्ड निर्माणमा चासो देखाउन आग्रह गरेका थिए ।

सडकको समस्याको विषयमा पटक–पटक ठेकेदारलाई जानकारी गराए पनि काम नगरेको भन्दै बिर्तामोडको भद्रपुर–सडक खण्डको ठेक्का लिएका ठेकेदार राजकिशोर गुप्तालाई १५ दिनभित्र सडक निर्माण कार्यलाई तीब्रता दिएर सुधार नगरे नगरबासीले आफूलाई सडकमा लगेर बाँधेर राख्न नगरप्रमुख शिवाकोटीले निर्देशन दिने बताएका थिए । तर, अहिले पनि सडक निर्माणको काम कछुवाको गतिमा छ ।

यता बिर्तामोडका व्यवसायी र नगरप्रमुखको चर्को आलोचनापछि सडक निर्माणको जिम्मा लिएको ठेकेदारका प्रोजेक्ट मेनेजर अनुष केसीले सात दिनभित्र मुक्तिचोक दक्षिणको समस्या समाधान गरिसक्ने बताएका थिए । दुई महिना अघि नै यस्तो प्रतिवद्धता जनाए पनि सडक निर्माणको काम जस्ताको तस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here