सुरेन्द्र भण्डारी बिर्तामोड, झापाको हल्दिबारी गाउँपालिकाले बिद्यार्थी संख्या कम भएर सामुदायिक विद्यालय ‘मर्जर’ गर्ने तयारी गरिरहँदा कनकाई माध्यमिक विद्यालय सुरुङ्गालाई भएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भएको छ ।
कनकाई नगरपालिकामा रहेको कनकाई माध्यमिक विद्यालयमा अहिले दुई हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठन – पाठन गराउँदै आएपछि पछिल्ला बर्ष विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगीले बताए । विद्यालयमा अहिले कक्षा नर्सरीदेखि १२ सम्ममा दुई हजार ६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कक्षा ९ र १० मा विद्यार्थी संख्या बढी भएकै कारण सात – सात वटा वर्ग विभाजन (सेक्सन) छुट्याएर अध्ययन अध्यापक हुँदै आएको छ । कक्षा ९ र १० मा अंग्रेजी विषयमा तीन –तीन वटा र नेपाली विषयमा पनि तीन – तीन वटा सेक्सन र विशेषको एउटा गरी सात वटा कक्षा सञ्चालनमा छन् ।
सातबाट सेक्सनमा पढाई हुने कक्षा ९ मा ३ सय ४९ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा १० मा २ सय ५३ जना विद्यार्थी अध्ययनर रहेको विद्यालयका प्रधानाध्यापक डाँगीले बताए ।
आधारभूत तहको इसीडी (वालशिक्षा)मा समेत ७० जना विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण रुपमा अंग्रेजी र ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्ययन अध्यापन हुँदै आएको कनकाई माविमा कक्षा ११ ÷१२ मा समेत विद्यार्थी संख्या उत्तिकै धेरै छ ।
विद्यालयको तथ्याङ्क अनुसार कक्षा ११ मा मात्रै २ सय ५६ र कक्षा १२ मा ३ सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रदेश नम्वर १ मै माध्यमिक विद्यालय तर्फ विशेष कक्षाको अध्ययन अध्यापन हुँदै आएको विशेष शिक्षा (वहिरा तर्फ)पनि ६० जना विद्यार्थी अध्ययनरत छन् । ३० जना विद्यार्थी आवस सहित विद्यालयमै बसेर विशेष शिक्षा अध्ययन गरिरहेका छन् भने वाँकी ३० जना विद्यार्थी वाहिरबाट विद्यालयमा अध्ययनका लागि आउने गरेका छन् ।
२०१५ सालमा स्थापना भएको सो विद्यालय जिल्लाकै पुरानो मध्येको विद्यालयको रुपमा परिचित छ । दिन प्रतिदिन शिक्षाको गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट र नमूना तर्फ उन्मुख भएकै कारण विद्यार्थीको चाप प्रत्येक वर्ष बढ्दै गएको बताइएको छ ।
अभिभावकको रोजाईमा रहेको सो विद्यालयले कक्षा २ बाट नै कम्प्यूटर साइन्स विषयको पठन– पाठन शुरु गरेपछि निजी विद्यालयमा अध्ययन गराउँदै गरेका विद्यार्थी समेतअभिभावकले निकालेर कनकाई माविमा नै अभिभावकले आफ्ना नानी भर्ना गर्न थालेपछि विद्यालयलाई विद्यार्थी धान्न हम्मे– हम्मे पर्ने गरेको विद्यालय प्रशासनको भनाई छ ।
कक्षा ६ देखि १२ सम्म नै अंग्रेजी र नेपाली दुबै माध्ययममा पठन–पाठन हुँदै आएको सो विद्यालयमा नेपाली माध्यममा भन्दा अंग्रेजी माध्ययममा पठन– पाठन गर्ने विद्यार्थीको संख्या बढी छ । अभिभावक आफैंले पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पठन– पाठन गर्न सुझाव दिएपछि झण्डै एक दशकदेखि सो विद्यालयले अंग्रेजी र नेपाली माध्यम दुवै भाषाका कक्षा एक साथ सञ्चालन गर्दै आएको छ । जसका कारण विद्यालयमा विद्यार्थीको चाप वढी छ भने शिक्षक समेत सधै अभाव हुने गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थी अनुपातमा शिक्षक नभएपछि विद्यालय आफैंले निजी स्रोतबाट शिक्षकको व्यवस्थापन मिलाएको छ । विद्यालयमा अहिले १९ जना निजी स्रोतबाट राखिएका शिक्षक कार्यरत रहेका छन् ।
निजी सहित स्थायी, अस्थायी, करार र राहत गरी विद्यालयमा ७७ जना शिक्षक रहेपनि अझैंपनि शिक्षक अभाव रहेको विद्यालयका प्रधानाध्यापक डाँगीले बताए । उनले भने – विद्यालयको आय स्रोत छैन, भएकोले पुग्दैन शिक्षकलाई तलव दिन अभिभावकसंग स्वेच्छाले चन्दा माग्नुको विकल्प छैन ।
अहिले अभिभावकसंग स्वेच्छाले चन्दा मागेर शिक्षकलाई तलव खुवाउनु परेको छ विद्यालयका प्रधानाध्यापक डाँगी भन्छन्– सरकारले विद्यार्थी अनुपातमा दरवन्दी नदिँदा यस्तो समस्या आएको हो । विद्यालयमा अहिले ११ जना कर्मचारी छन् । जसमा निजी स्रोतबाट राखिएका कर्मचारी सात जना छन् । विद्यालय, र विद्यार्थीको रेखदेखका लागि सात जना निजी स्रोतबाट कर्मचारी राखिएको र उनीहरुलाई तलव खुवाउने माध्ययमपनि विद्यार्थीका अभिभावक नै हुन् प्रधानाध्यपक गाँडीले भने ।
सरकारले नमूना विद्यालयका रुपमा छनौट गरेको सो विद्यालय आफैंमा पनि नमूना छ । जसका कराण सो विद्यालयमा विद्यार्थीको चाप अत्याधिक रहेको सरोकारवालाहरु बताउँछन् ।
विद्यार्थीसंख्या बढी भएका कारण विद्यालय सञ्चालनमा समस्या भएको भन्दै गत वर्ष अभिभावकले एक करोड रुपैयाँ सहयोग गरेका छन् ।
आफ्ना नानीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कुरामा कमी नराख्न भन्दै अभिभावकले स्वतस्फूर्त रुपमा उक्त रकम सहयोग गरेको बताइन्छ ।
कक्षा १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठन–पाठन हुने भएपनि कक्षा ६ देखि १० सम्म अंग्रेजी माध्ययममा अध्ययन गर्दा अभिभावकसंग विद्यालयले सहयोग लिँदै आएको छ । अभिभावकसंग लिइएको सहयोगबाट विद्यालयले निजी स्रोतमा शिक्षक राखेर निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइएको छ ।
गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकले आफ्ना नानीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न ४८ लाख रुपैयाँ सहयोग गरेका थिए । कक्षा ११ र १२ कक्षा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले ५२ लाख रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् । जसबाट निजी स्रोतबाट राखिएका शिक्षकलाई विद्यालयले तलब प्रदना गर्दै आएको छ ।
कनकाई माविमा कक्षा ११ – १२ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्ससहित शिक्षा र मानविकी शंकायमा अध्ययन अध्यापन हुने भएकाले विद्यार्थीको चाप ११– १२ मा समेत उच्च रहेको बताइन्छ ।
विद्यार्थी संख्या धेरै भएकै कारण विद्यालयले दिउँसो ३७ वटा कक्षा र विहान १० वटा कक्षा सञ्चालन गर्दै आएको छ । दिवा सत्रमा कक्षा नर्सरीदेखि १२ सम्म नै अध्ययन अध्यापन गराउँदै आएपनि विद्यालयलाई भौतिक संरचनाको अभावले कक्षा ११– १२ को व्यवस्थापन, शिक्षा र मानविकी शंकायका कक्षा विहानी सत्रमा अध्ययन– अध्यापन हुने गरेको विद्यालयका शिक्षक तीर्थराज खरेलले बताए ।
विद्यालयले प्रविधि मैत्री शिक्षा प्रदान गर्न अहिले ३६ वटा कम्प्यूटर, ४ प्रोजेक्टर, १ एउटा स्मार्टवोर्ड, एउटा आईरिस, १३ वटा ल्यापटव प्रयोगमा ल्याएको छ । त्यस्तै विद्यालयलाई पूर्ण रुपमा सीसी क्यामेराको निगरानीमा राखेको छ । जसका लागि विद्यालयले विद्यालय परिसरमा ३२ वटा सीसी क्यामेरा जडान गरेको छ ।
आफ्नो स्वामित्वमा ५८ विगाह जमिन भएपनि आयस्रोत भने न्यून छ प्रधानाध्यपक डाँगी भन्छन् – कुनै वर्ष त विद्यालयले आफ्नो जमिनको मालपोत कर तिर्न पनि आम्दानीले नपुगेपछि विद्यालयबाट थप्नु पर्ने हुन्छ । गत वर्ष एक लाख रुपैयाँ विद्यालयको जमिनबाट आम्दानी प्राप्त भएको प्रधानाध्यपक डाँगीले बताए ।
६ विगाह १५ कठ्ठा क्षेत्रफल विद्यालय परिसरमा छ । जहाँ अहिले नमूना विद्यालयका लागि धमाधम भवन निर्माण हुँदैछ । नमूना विद्यालयका लागि गत वर्ष डेढ करोड रुपैयाँ सरकारले प्रदान गरेपछि पहिलो चरणको काम पूरा गरेको विद्यालयका प्रधानाध्यपक डाँगीले बताए । उनले भने – यो विद्यालय नमूना उन्मुख हुँदैछ जसमा पहिलो चक्र पूरा भयो । अहिले विद्यालयले पूर्ण कालीन प्रअ छनौट गत जेठ २९ मा चयन गरेको छ ।
विद्यालयले गत जेठ २९ मा डाँगीलाई नै पूर्णकालीन प्रधानाध्यापक चयन गरेको थियो ।
कनकाई माविलाई नमूना विद्यालय बनाउन डेढ करोड रुपैयाँ प्राप्त भएसंगै ९७ लाख ५० हजार रुपैयाँमा भौतिक संरचनाका लागि आवश्यकीय सामग्री विद्यालयले खरिद गरेको छ । जसमा वालुवा गिटी, रड सिमेन्ट र इँटा रहेका छन् । त्यस्तै बाँकी रकमले शैक्षिक र व्यवस्थापकीय पक्षालाई समेटिएको प्रधानाध्यापक डाँगीले बताए ।
नमूना विद्यालयलका लागि दुईतले ८० कोठे भवन निर्माण हुँदैछ ।
विद्यार्थी संख्या अधिक रहेपनि भौतिक संरचना अभावका कारण समस्या झेल्दै आएको कनकाई माविले नमूना विद्यालयको भवन निर्माण सम्पन्न गरेसंगै केही सहजता हुने विश्वास लिएको छ । तर, चाुनौति भने उत्तिकै रहेको प्रधानाध्यपक डाँगीको भनाई छ । उनी भन्छन् – नमूनाको अवधारणामा लादा थोरै विद्यार्थी राखेर अध्ययन गर्नु पर्ने हुन्छ । तर, यहाँ त आएका विद्यार्थीलाई व्यवस्थापन गर्न नै कठिन छ ।
विद्यालयलाई अहिले पनि भौतिक संरचनाको अभाव रहेको, पश्चिम तर्फ घेरावेरा गर्नु पर्ने आबश्यक छ प्रधानाध्यपक डाँगी भन्छन् – विद्यालयको आय स्रोत बढाउँन पहल गरेपनि जग्गा व्यवस्थापन गरी आय आर्जन तर्फ उन्मुख नगराएसम्म विद्यालयलाई आन्तरिक खर्च जुटाउन समस्या छ ।
आफूले प्रधानाध्यपकको जिम्वेवारी वहन गरेसंगै विद्यालयलाई भौतिक संरचना सम्पन्न, विद्यालयलाई नमूना विद्यालय स्थापित, भय रहित सिकाईको व्यवस्था, विद्यालयको सम्पित्ति संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिने डाँगीले बताए ।