दमौली,
जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ ।
दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करीब रु आठ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो ।
उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वसंविधानसभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै पोखरेलले रोटरी क्लबले मानवीय सेवाको महत्वपूर्ण काम गरेको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले अस्पतालमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अधिकारीले अस्पताललाई ५० श्ययाको बनाउन प्रयत्न भइरहेकाले यस अभियानमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । अस्पतालको स्तरोन्नतिका लागि न्यूनतम ३५ रोपनी जग्गा आवश्यक रहेकाले सम्भावित जग्गाको खोजी भइरहेको अधिकारीको भनाइ थियो । उक्त मेसिनबाट ट्युमर, मिर्गौलामा पत्थरी र फोक्सोमा पानी जमेको पत्ता लगाउन सकिने अस्पतालका डा रामहरि दाहालले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुरजकुमार मल्लले अस्पताललाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै मेसिनको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । पन्ध्र श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । सरकारीतर्फ २४ दरबन्दी भए पनि १८ जनामात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत ३३ कर्मचारी अस्पतालमा कार्यरत छन् ।
अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स÷अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन÷असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
विसं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस केन्द्र विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो ।
सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा करीब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । अस्पतालबाट दैनिक ३०० बिरामीले सेवा लिइरहेका छन् ।