शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : सभापति देउवा

२२ मंसिर २०७६, आईतवार मा प्रकाशित

गलकोट,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ को आज उद्घाटन गदै उहाँले अलौकिक शिला जम्मा गरी निर्माण थालिएको सङ्ग्रहालयले विश्वका धार्मिक पर्यटक आर्कषण गर्ने र लोप हुने अवस्थामा रहेका शालिग्रामको संरक्षण विश्वमै उदाहरणीय कार्य भएको बताउनुभयो ।

उहाँले सवालाख शालिग्राम एकै साथ दर्शन गर्न मिल्ने संरचना अन्त कतै नभएको दाबी गर्नुभयो । “कालिगण्डकी नदीमा मात्र पाइने शालिग्रालाई संरक्षण आवश्यक थियो”, देउवाले भन्नुभयो, “निकै नौलो गरी संरक्षण थालिएकोमा म गौरवान्वित छु ।”

रु छ करोडको लागतमा डेढ वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो । शालिग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । निर्माण नसकिँदै सङ्ग्रहालय अवलोकनका लागि आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको थियो ।

सङ्ग्रहालयमा सवा लाख शालिग्राम, गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भूबनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयभित्र मुक्तिनाथ, मन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।

मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थललाई समेत सङ्ग्रहालयमा सजाइएको छ । शालिग्राम र गण्डकी सभ्यता देखाउने नक्शाङ्कनलाई सिसाभित्र सजाइएको छ । रु छ करोड मध्ये रु एक करोड मात्र सरकारी निकायको सहयोग हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटाइएको छ । सुरुङको दायाँपट्टी ११२ मानिस अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ ।

त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ । सङ्ग्रहालय घुमेको रु १०० शुल्क तोकिएको छ । विद्यार्थीले रु ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here