नवौं एजेन्टकी श्रीमती बनेर फर्किंदा …

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

रमेश भारती / झापा। 

वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिक समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् ।
नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् ।

दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका छन् । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकले धेरै समस्या भोगेर मात्र स्वदेश फर्किने गरेका छन् ।

२ वर्षअघि रोजगारीका लागि लेवनान पुगेकी सिन्धुपाल्चोककी सरिना मगर (नाम परिवर्तन)ले पनि त्यहाँ धेरै कष्ट खेपेर स्वदेश फर्किएको बताइन् । ‘धेरै सपना बोकेर वैदेशिक रोजगारीमा गएकी थिएँ तर अन्तिममा पीडा र कष्ट भोगेर नेपाल फर्किनुप¥यो’– सरिनाले भनिन्– ‘एजेन्टको भरमा वैदेशिक रोजगारीमा जाँदा जीवन जोखिममा राख्नुपर्छ । हामीलाई थाह हुँदैन तर एजेन्टले रोजगारीको प्रलोभन देखाएर बेच्दा रहेछन् ।’ उनले एजेन्टले दोहोरो मान्छेको व्यापार गरिरहेका बताइन् । उनका अनुसार रोजगारीमा पठाएवापत रोजगारदाता देशका कम्पनीसँग एजेन्टले दोहोरो पैसा लिन्छन् ।

एजेन्टले नेपाली चेलीबेटीको व्यापार नै गर्छन्’– उनले भनिन् । सरिना लेवनानमा २ वर्ष ५ महिना एउटा व्यापारीको घरमा काम गरेर फर्किएकी हुन् । उनलाई साहुले काम गरेवापत पैसा त दियो तर त्यहाँ भोगेको पीडा सम्झँदा अहिले पनि सहन गाह्रो हुने गरेको सरिना सुनाउँछिन् । ‘पैसा सबै कुरा होइन । मैले कमाएको पैसाले मलाई नै अहिले पिरोल्छ । म त रोजगारीमा होइन, कसैको प्यास मेटाउन विदेशिएको जस्तो लाग्यो’– सरिना गुनासो गर्छिन्– ‘२३ वर्षकी भएँ । ९ जना पुरुषकी श्रीमती भएर विदेशबाट फर्किएकी छु । म काम गरेर होइन, शरीरिक शोषणमा परेर फर्किएकी छु ।’
नेपालबाट लेवनानसम्म पु¥याउँदा उनलाई ९ जना पुरुषले श्रीमती मात्र भनेनन्– श्रीमतीकै जस्तो व्यवहार गर्न बाध्य बनाएको सरिनाले सुनाइन् ।

‘रोजगारीका नाममा म जस्ता धेरै महिला लुटिएका छन् । यस्तो पीडा र क्षतिको गुनासो कसैले सुन्दैनन्’– उनको दुखेसो छ । उनले कक्षा ७ सम्म मात्र पढेकी छन् । उनी राम्रोसँग अंग्रेजी शब्द बुझ्दिनन् तर वैदेशिक रोजगारीमा गएर आइसकेकी छन् । बाटोमा कसैले अंग्रेजीमा केही सोध्यो भने टाउकाको इसाराले ‘यस’ भन्न एजेन्टले सिकाए जति मात्र बोलेको सरिनाले बताइन् । काम गर्न त सजिलो हुन्छ तर यौनशोषणले जीवन कठिनाइ हुने गरेको उनले बताइन् ।

‘नेपालमा हुँदा एजेन्टले अति राम्रो व्यवहार गर्छन् तर सीमाना नाघेपछि छोरी मान्छेलाई जे गर्दा हुन्छ भनेर मनपरी व्यवहार गर्छन् । बाध्यताले उनीहरूको व्यवहार सहनुपर्छ । नत्र मारेर फालिदिन्छन् भने डर हुन्छ’– सरिनाले गुनासो गरिन्– ‘बेरोजगारी र गरिबीको फाइदा हामी जस्ता सोझासाझा महिलासँग म्यानपावर अथवा एजेन्टले उठाइरहेका छन् । यस्तो काममा कतिपय सरकारी कर्मचारीको समेत संलग्नता हुन्छ ।’ उनले यसरी लुटिएको विषयमा खुलेर विरोध गर्न नसक्ने बताइन् । यस्तो उस्तो भन्यो भने सामाजिक तिरस्कारको शिकार हुने उनको भनाइ छ । कोही कसैले पनि एजेन्ट र दोस्रो मान्छेको भरमा वैदेशिक रोजगारीमा नजान सरिना सुझाव दिन्छिन् ।

यसरी फेरिए श्रीमान्

सिन्धुपाल्चोकबाट दिलीप तामाङले यूएईको रोजगारीमा राम्रो डिमाण्ड आएको छ भनेर काठमाडौं ल्याएपछि राहदानी र ३० हजार रुपैयाँ लिएको सरिना बताउँछिन् । दिलीपले काठमाडौंमा केही दिन राखेपछि दीपक झा नामका एजेन्टको जिम्मा लगाएको उनले बताइन् ।

लेवनान जानुअघि नै नेपालमै ३ जना एजेन्टको सम्र्पकमार्फत् भारतको बिहारसम्म पु¥याइएको उनले बताइन् । सरिना नेपालको वीरगञ्ज नाका हुँदै भारतको दिल्ली भएर लेवनान रोजगारीमा पुगेकी थिइन् ।
वीरगञ्ज सीमानाबाट एक जना भारतीय मूलका एजेन्टले (ठाउँको नाम याद भएन) रक्सौल हुँदै उत्तर विहार पु¥याएर २ दिन त्यहाँ राखेको सरिनाले सुनाइन् ।

‘उत्तर बिहारसम्म पुग्दा ४ जना एजेन्ट फेरिएका थिए । उनीहरूले मसँग भएका अन्य ६ जना युवतीलाई फरक–फरक स्थानमा राखे । मलाई चाहिँ एजेन्टले बाहिरै होटलमा पु¥यायो’– उनले भनिन्– ‘म होटलमा बस्दिनँ भनेको त यो भारत हो, यहाँ हाम्रो जे पनि चल्छ भनेर धम्क्यायो । बिरानो ठाउँ भएकाले एजेन्टले जे भन्यो, त्यही मान्न बाध्य भएँ । त्यो एजेन्टसँग बिहारमा २ रात बिताएँ ।’ एजेन्टले उत्तर बिहारबाट सबै युवतीलाई फरक–फरक समयमा दिल्ली पठाएको थियो ।

उत्तर बिहारबाट ४ दिनमा २ जना एजेन्टले दिल्ली पु¥याएको सरिनाले बताइन् । नेपालबाट हिँडेको ९ दिनमा दिल्ली पुगेको सरिना सम्झन्छिन् । ‘दिल्लीसम्म पुग्दा ५ जना एजेन्ट बाटोमा परिवर्तन भएका थिए । ती एजेन्टले बाटोमा जे मन लाग्यो, त्यही गर्दै दिल्ली पु¥याए । दिल्लीमा समेत २ जना एजेन्टको सामना गर्नुप¥यो ।’

नेपालबाट हिँडेपछि बाटोपिच्छे एजेन्ट हुने र ती एजेन्टले जे भन्न सिकाउँछन्, सोही अनुसार जवाफ दिँदै जानुपर्ने सरिना बताउँछिन् । दिल्लीमा १ महिना एजेन्टले बन्धक बनाएर राखेको सरिनाले बताइन् । दिल्लीमा एक महिना बस्दा करिब २ जना एजेन्टले होटल परिवर्तन गरेर राखेको उनको भनाइ छ ।

भारतको दिल्लीमा १ महिना बस्दा माइती नेपाल र भारतस्थित नेपाली दूतावासका कर्मचारीलाई ‘म बेचिन लागेकी छु’ भनेर सुनाउँदा उनीहरूले वास्ता नगरेको गुनासो गर्छिन्– सरिना । विदेश भन्नु मात्र तर त्यहाँ भोग्नेलाई नर्क लाग्ने गरेको उनको भनाइ छ । (भारती शिलापत्रमा आवद्ध पत्रकार हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here