कोभिड–१९ र राहत

७ बैशाख २०७७, आईतवार मा प्रकाशित

चन्द्रप्रसाद पोखरेल,

चीनको वुहान इपिसेन्टर भएको कोरोना (कोभिड–१९) भाइरस अहिले विश्व महामारीका रुपमा फैलिएको छ । यो संक्रमणका कारण विश्वमा अहिले जुन परिस्थिति सिर्जना भएको छ, यो सायदै कसैले कल्पना गरेका थिए । विश्वका शक्तिशाली मुलुक पनि यो संक्रमणका कारण थलिएका छन् । विश्व राजनीतिमा यसले उथलपुथल ल्याउने संकेतहरु देखिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हालसम्मको तथ्याङ्क अनुसार एक लाख ४६ हजार जनाले ज्यान गुमाइसकेका छन् भने साढे २१ लाख संक्रमित छन् । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । र, संक्रमणको दर बढ्दो क्रममा देखिन्छ ।

कोभिड–१९ नियन्त्रणका लागि सरकराले ११ चैतबाट लकडाउनको घोषणा गरेको थियो । जसको कारण आर्थिक सङ्कट चुलिँदै छ । आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने स्पष्ट भइसकेको सरकारी अधिकारीहरुले नै बताइसकेका छन् ।

कोरोना भाइरसका कारण अहिले संसार भरका मानिसहरु घरमै छन् । विकासको चरम सीमामा पुगेका मुलुकहरु पनि यसबाट अछुतो छैनन् । यो भाइरसको औषधि पत्ता लगाउन विभिन्न मुलुक होडबाजीमा नरहेका पनि होइनन् । तर, अहिलेसम्म उपलब्धी हात लागेको छैन ।

नेपाल जस्तो गरिवीको चपेटामा परेको देश यस्तो महामारीको आक्रान्तबाट अछुतो रहने कुरै भएन । अवश्यक पनि नेपाली झनै पीडित छन् । संख्यात्मक रुपमा संक्रमित कम भए पनि यसले पार्ने प्रभावका दायरा फराकिला छन् ।

दैनिक ज्याला मजदुरी गरी खाने नागरिकले रोजीरोटी गुमाएका छन् । कतिपयको चुल्हो बल्न छाडेको छ । लकडाउन बढ्दै जाँदा रोगभन्दा भोकले नागरिकले ज्यान गुमाउन सक्ने देखिएको छ । उपत्यकामा विना व्यवस्थापन रोकिएका मजदुरको धैर्यताको सीमा कतिवेला फुट्ने हो टुंगो छैन ।

लकडाउन बढ्दै जाँदा यसका बाइ–प्रोडक्टका रुपमा घरेलु हिंसा, चोरी, लुटपाट र साइबर अपराधका घटना बढ्दै गएका छन् । पर्सामा राहत स्वरुप लगिएका सामग्री नै चोरी भएका छन् ।

अमेरिका, चीन जस्ता मुलुकमा जस्तै नेपालमा पनि घृणाजन्य अपराध (हेट क्राइम) देखिन थालेका छन् । जनकपुरमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर दुई जना महिला भागेको घटना यसैको उदाहरण हो । दुई महिलामध्ये एक जनाको ¥यापिड परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

अहिले मुलुकुमा न पर्याप्त स्वास्थ्य सामग्री छन् न सरकारी पक्षबाट चिकित्सकलाई उर्जा र प्रोत्साहन नै छ । बरु कहिले सरकारी प्रहरीले चिकित्सकलाई भाटे कारबाही गर्छन्, कहिले स्वास्थ्यमन्त्री स्वयम विज्ञ डाक्टरको मुख थुन्ने प्रयास गर्छन् ।

सामाजिक सञ्जालमा कोरोनाबारे भ्रामक सूचना फैलिरहेका वेला सर्वसाधारणलाई तथ्य कुरा दिएर सजग गराइरहेका महामारी रोग विशेषज्ञ डा. शेरबहादुर पुनमाथि डण्डा चलाउने सरकारी प्रयासको जति भत्सर्ना गरे पनि पर्याप्त हुँदैन ।

अब मोफसलाका कुरा गरौं । कसैलाई कारोना लागेको हो÷होइन होइन थाहै छैन, सामान्य रुघा, खोकी र ज्वरोमै छिछिदुरदुर हुने गरेको छ । जताततै भय र त्रास सहँदै छन् नेपाली ।

आफ्नो घर सबैभन्दा सुरक्षित हुन्छ भन्ने थाहा हँुदाहुँदै पनि श्रीमती देख्यो कि कोरोना नै छ कि भन्ने त्रास हुन्छ । छोराछोरीलाई हे¥यो, कतै गएर कोरोना सरिसक्यो कि भन्न भय । साथीभाईलाई सम्झियो, कोरोना नभएको कोही छ, जस्तै नलाग्ने । कोरोनाले पछ्याइरहेझँै लाग्छ ।

त्यसैले बर्षौंदेखि सुरक्षा दिइरहेको आफ्नै घर पनि असुरक्षित पो छ कि झँै लाग्ने । अन्य छरछिमेकीको त कुरै छाडौं । घरका कुनै पनि सदस्यहरुले हाछ्यु गर्नै नहुने । खोक्यो कि त्यही कोरोनाको सन्त्रास ।

स्थानीय स्तरमा केही जनप्रतिनिधिहरु राहत बाँड्न व्यस्त भए जस्तो देखिन्छ । तर, २ वटा केराका कोसा बाँड्दा पनि तस्वीर खिचेर फेसबुकमा पोस्ट्याउने क्रम अझै रोकिएको छैन । भन्न त सरकारी निर्देशन राहत बाँडेको तस्वीर नखिच्नु भन्ने छ । तर, तस्वीर खिच्न रोक लगाउँदा राहत दिने ‘मनकारी’ नै घट्ने स्थिति छ ।

लाग्छ, उनीहरु असल नियत बोकेरभन्दा सहयोग गरी टोपलेको समाजलाई देखाउन चाहन्छन् । फेसबुके समाजसेवी, भलाद्मी बन्न खाज्नेहरु यो प्रकोपको समयमा प्रशस्तै देखिएका छन् । गरिबीलाई गिज्याउन खोज्नेहरु चिनिएका छन् ।

केही दिन अघिको कुरा हो । एउटा दम्पत्ती बाटामा हिँड्दै थिए । एक जना टोल सुधार समितिका अध्यक्षले यता आउनु यता आउनु भनेर बोलाए ।

‘तपाईलाई अघि नै लिन पठाएका थियौं । किन नआउनु भएको ?’, अध्यक्षले प्रश्न तेस्र्याए । उनीहरु फिस्स हाँसे मात्रै । केही नबोली अघि बढे । दुबै जनाले राहत लिनका लागि नाम टिपाउन चाहेनन् । त्यो देखेर मैले भने, ‘जानुन जानु त्यता । त्यहाँ राहतको लागि नाम टिपाउँदैछन् ।’

उहाँहरु दुई मध्ये श्रीमान्ले भन्नुभयो, ‘उनीहरुले एक पटक दिएकाले हामीलाई सधैँ भरि पुग्छ र ?’ म छक्क परेँ । अवाक् बनें । मेरो मानसपटलमा धेरै लामो समयसम्म ज्वारभाट चली रहे । ए.. गरिवको चपेटा रहेकालाई अरुको खानु हुँदैन, राज्यको सम्पत्ति दुरुपयोग गर्नुहुँदैन भन्ने असल विचार अझ बढी हुँदो रहेछ । हुनेखाने भनि टोल्नेभन्दा उनीहरुको मन स्वच्छ हुँदो रहेछ ।

त्यसो त सबै उस्तै पनि हुँदैनन् । केही दिन अघि हाम्रै नगरमा एउटा सेउलाले बारेको घरमा आगलागी भयो । त्यहाँबाट सुरु भएको आगो अन्यत्र पनि फैलियो । त्यस घरका घरमुली सुरुङ्गा बजारमा प्लाष्टिक टिप्थे र त्यसलाई बेचेर घर व्यवहार धान्थे । उनी पनि राहत पाउने सूचीका व्यक्ति थिए । घरमा उनी नभएका बेला आगलागी सुरु भयो ।

स्थानीय जनप्रतिनिधि र प्रहरी लगायत स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिए । उनको घरमा भने बाकसमा लुकाइ राखेको २४ लाख रुपैयाँ फेला प¥यो । घरभित्र २४ लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन र १८ तोला चाँदी बरामद भयो ।

एक बोरा चामल, १ केजी नुन, १ लिटर तेल, १ केजी दाल राहत लिने कतिपय महानुभावका हातमा सुनका औँठी पनि देखियो । राहत बाँड्ने क्रममा एउटा टोलमा आँगनमा २ वटा बस थिए । बस मालिक भन्दै थिए, ‘गाडी नकुदेको धेरै भयो, कमाइ छैन, राहत मलाई पनि ।’ हामी नेपाली मानसिक रुपले पनि को कति तल माथि ? यस्तै बेला थाहा हुँदो रहेछ ।

मेरा छेउमा एक जना जनप्रतिनिधि थिए । एक जना खोलापारी पट्टीको टोलकी महिला आइन् र राहत दिन भनिन् । जनप्रतिनिधिले भने, ‘टोलबाट तपाईंको राहत पाउने सूचीमा नाम सिफारिस भएको छैन त ।’ महिलाले जवाफ फर्काइन्, ‘गरिवको मत मागेर चुनाव जित्नु भयो, अहिले गरिवले राहत माग्दा म धनी भएँ ? फेरि चुनाव आउला नि ! मेरा घरमा ४ भोट छन् ।’

यी हाम्रा टोलका हामी नेपालीका प्रतिनिधि पात्र हुन् । सबैतिर यस्तै भइरहेको छ । देशमा कोरोनाको डरले मानसिक तनाव थपिरहेको छ । साँच्चै नेपाललाई पशुपतिनाथले नै बचारहेको जस्तो लाग्छ ।

अन्य मुलुकमा संक्रमण भएझैँ एक व्यक्तिबाट अर्को र अर्कोबाट अर्को सर्दै जाने हो भने नेपालका अधिकांशलाई यो भाइरस सर्न कत्ति समय पनि लाग्दैन । तर, यस्तो भएको छैन । र, नहोस् पनि ।

यी त भए, महामारीका वेला देखिएका विकृत मानसिकता र सन्त्रासका कुरा । तर, यसका सकरात्मक पक्ष पनि हुन सक्छन् । महामारीको एकजुट भएर सामना गर्नुको विकल्प छैन । जसरी प्रकाप नियन्त्रणमा अहिले सबै दल एकठाउँमा उभिएका छन्, यो सकरात्मक पक्ष हो ।

विपन्न र धनीबीच केही समानजस्यता देखिएको छ यो वेला । पैसाले मात्र बचाउन सक्ने स्थिति देखिँदैन यो वेला । किनकि, आफू जति नै सचेत भए पनि समाजको अर्को वर्ग संक्रमित भयो भने संक्रमण चाँडै हरेक व्यक्तिसम्म पुग्छ । त्यसैले कोरोनाविरुद्धको लडाइँमा सामूहिक प्रयासको खाँचो छ ।

सबैले सामाजिक दूरी कायम गर्नु आवश्यक छ । कोरोनाले धनी, सुविधा सम्पन्न भनिने र पिछडिएको भनिने मुलुकलाई एउटै स्थानमा ल्याइदिएको छ । शक्तिशाली भनिने देशहरुलाई पनि गरिब मुलुकका जस्तै बनाइदिएको छ, कोरोनाले ।

विश्व राजनीतिमा कोरोनाले उथलपुथल ल्याउँदैछ । विश्व शक्तिशाली मुलुकबीच जैविक युद्ध भइरहेको आभाष हुन्छ । विश्वभर कलकारखाना, उद्योग धन्दा, यातायात सबै बन्द छन् । अब केही समयका लागि वायु, ध्वनि, जल, थल आदिका प्रदुषण रोकिएको छ । प्रकृति स्वच्छ भएको छ ।

कोरोनाले सिकाएको पाठ के पनि हो भने हरेक वर्ष महामारी नआए पनि हामीले विश्वमा वा कुनै पनि मुलुकमा आइपर्ने संकटको सामना गर्न एकजुट हुनुपर्छ । सामूहिक प्रयासले नै सफलता हाँसिल हुन्छ । अहिलेको समयमा सबै घरभित्रै बसौं, कोरोनाको संक्रमणबाट आफू बाचौं र अरुलाई पनि बचाऔं ।

(लेखक कनकाई मावि, झापाका शिक्षक हुन्)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here