नरेन्द्र ढकाल / बिर्तामोड।

कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएकाले सम्भावित जोखिम रोक्न सरकारले गत ११ चैतको बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ ।
सरकारको आदेशको उल्लंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुकी छाड्ने गरिएको अब भने लकडाउन पछि मात्रै छाड्ने प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए । उनले अनावश्यक रुपमा बाहिर ननिस्कन सबैसंग आग्रह समेत गरे । आवश्यकता हेरर मात्रै सवारी छाड्ने नत्र लकडाउन पछि मात्रै छाडिने स्पष्ट परे ।
लकडाउन सबैको सुरक्षाका लागि भएको भन्दै यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि प्रहरी उपरीक्षक दाहालले आग्रह गरे । उनले ११ चैतदेखि वैशाख ६ गतेसम्ममा पूर्वका झापासहित १४ जिल्लामा लकडाउन उल्लंघन गर्ने एक हजार तीन सय दुई वटा सवारीसाधन नियन्त्रणमा लिइसकेको बताए ।
उनका अनुसार लगडाउनका समयमा बाहिर निस्कनेलाई लकडाउन र कोरोना भाइरसका बारेमा जानकारी दिएका पनि बताए । उनले भने, ‘सरकारले लगडाउन तपाई हाम्रो लागि नै गरेको हो । यसरी ज्यान जोखिममा राखेर बाहिर नआउनुु । केही आपत आएका हामीलाई १०३ नम्बरमा सम्पर्क गर्नुस् ।’
पछिल्लो समय लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएको पाइएको छ । लकडाउन उल्लघन गर्ने सवारीमा मोटरसाइकल सबैभन्दा धेरै रहेको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कृष्ण प्रधानलले जानकारी दिए । उनका अनुसार चैत ११ गतेबाट वैशाख ६ गतेसम्ममा सुनसरीमा ५३१, झापामा ३०६, मोरङमा १५०,उदयपुरमा १३२, पाँचथरमा ४५, भोजपुरमा ३३, ओखलढुङगामा २६, सोलुखुम्बुमा २५, ताप्लेजुङमा २०, धनकुटामा १३, संखुवासभामा ९, खोटाङमा ८, तेह्रथुममा ४ वटा सवारीले लकडाउनको उल्लघन गरेका छन् । इलाममा भने अहिलेसम्म एक जनाले पनि लकडाउनको उल्लघन नगरेको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तराईका जिल्लामा लकडाउन उल्लघन गर्नेहरुको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले हामी सडकमा छौं तपाईहरु घरमै बसि दिनुहोस् भनेर माईकिङ गरेर अनुरोध गरेपनि विभिन्न बहाना बनाएर नियम उल्लघन गर्ने क्रम बढेपछि कडा रुपमा प्रस्तुत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले बताए ।
झापामा लकडाउन उल्लघन गर्नेहरुलाई दुई घण्टा उभ्याउनुका साथै आवश्यकता हेरेर मात्रै सवारी साधन छाड्ने गरेको प्रहरी निरीक्षक जवेगूले बताए । उनले आइतबारबाट झापामा लकडाउन उल्लघन गर्नेहरुको नङमा मसी लगाएर चिनो लगाउने काम गरे र पुनः लकडाउन उल्लघन गरेर कडा कारबाही गर्ने चेतावनी दिएर छाडिएको बताए ।
अहिले प्रमुख प्राथमिता भनेको बाँच्नु हो भन्दै जवेगूले भने–पहिलो प्रथमिता आफु बाँच्नु हो त्यसपछि मात्रै खाना र लगाउन हो । त्यसैले सरकारले जनताकै लागि गरेको आग्रह सबैले पालना गर्नुपर्ने उनको भनाई छ । रमित हेर्न बाहिर निस्किने बेला अहिले नभएको भन्दै ज्यानलाई जोखिममा राखेर भएपनि प्रहरीले जनताको सुरक्षा गरिरहेको विषयमा गम्भिर बनिदिन सबैसंग आग्रह गरे ।
जनस्वास्थ्यलाई मध्यनगर गर्दै सरकारले आह्वान गरेको लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि प्रहरी कठोर बन्ने भएको छ । बिना काम नागरिक सडकमा आउने, मर्निङ वाकलगायतमा निस्कने क्रम नरोकिएपछि प्रहरी कठोर रुपमा प्रस्तुत् हुन लागेको हो । बिहान र बेलुकाको समयमा झापाका विभिन्न क्षेत्र तथा ग्रामिण क्षेत्रमा मानिसहरु अझैपनि भेला हुने क्रम रोकिएको छैन् । भित्रि सडकहरुमा खुलेआम रुपमा मोरसाइकलहरु सञ्चालन भइरहेको स्थानीयले बताएका छन् । स्थानीयले ट्राफिक प्रहरी मुख्य सडक मात्रै केन्द्रित भएको भन्दै शाखा सडकहरुको पनि अनुगमन गरिदिन आग्रह गरेका छन् ।
पछिल्लो समय पास लिएका सवारीको समेत दुरुपयोग भएको गुनासो आएकाले आवश्यक परे सबै सवारीको चेकजाँच गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयलले जनाएको छ । एम्बुलेन्स चालकलाई बिरामी बाहेक अन्य यात्रु ओसारे कडा कारबहाी गर्ने चेतावनी दिइएको छ ।































