‘सामुहिकता नै पहिलो हतियार हो’

२४ बैशाख २०७७, बुधबार मा प्रकाशित

सम्पादकीय

बन्दाबन्दीको समय फेरि थपिने सङ्केत देखिएको छ। करोना सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढ्ने क्रममा रहेकाले लकडाउनको समय बढाउनुको विकल्प पनि छैन। तर हेक्का राख्नु पर्ने कुरा हो कि यसले आमनागरिकको जीवनको असहज नहोस्। बन्दका कारण बिपन्न मात्र होइन मध्यमवर्गीय पनि प्रभावित हुन थालेका छन्। अत्यावश्यकीय बस्तु र सेवा असहज भएको छ । उपलब्ध वस्तुको मूल्य आकाशिएको छ । अझ बिपन्न र मजदुरी गरेर जीवन यापन गर्नेहरू भोकले मरिने चिन्ताले छटपटिएका छन्। यद्यपि प्रधानमन्त्रीले भोकले कोही नमर्ने दाबी गरेका छन् तर धरातल बेग्लै र भयाबह बनिॅदैछ ।

छिमेकी देश भारतले बन्दाबन्दीको सीमा अरू थपेको छ। हामी भूगोलकै कारण ऊबाट बढी प्रभावित छौं । बन्द, उच्च निगरानी र सुरक्षा उपस्थितिका बीच पनि ‘आउजाउ’ भइरहेको सन्दर्भले पनि त्यहाँको बढ्दो कोरोना प्रभावबाट हामी मुक्त हुन सक्दैनौँ । यसकारण पनि हामीले बन्दको कहरबाट तत्काल उन्मुक्ति पाउने सम्भावना छैन । बन्द त केवल प्रतिरोधात्मक उपाय हो कोरोना भाइरसबिरूद्धको लडाइँको । त्यसको संसर्ग हुन नपाओस् त्यसखातिर स्वयंले अख्तियार गर्ने सरल उपाय।

सङ्क्रमित भइहालेको अबस्था कल्पनाभन्दा धेरै डरलाग्दो हुन्छ, जुन नपरेकाहरूले अनुमान गर्नै सकिन्न। पछिल्लो समय कोरोना परीक्षणको नतिजाले हामी असुरक्षित हुन थालेको तस्बीर देखाएको छ। नेपालगञ्जमा गरिएको परीक्षणको नतिजापछि प्रतिरक्षाका लागि लागु गरिएको निषेधाज्ञा समेत उल्लंघन भएको समाचारले कि अज्ञानता कि त अभाबको सङ्केत गर्छ । यी दुबैको उपचार सम्भव छ र त्यो सरकारको भूमिकामा निर्भर गर्छ । अब पहिचान गर्न ढिला गर्नु हुँदैन कि कुन समुदाय यो महामारीबाट बढी प्रभावित छ। यसका लागि प्रतिरक्षासॅगै पहिचान, परीक्षण र उपचारमा केन्द्रित हुनुपर्दछ । नतिजापछि परीक्षणको गति नै सुस्त भएको समाचारले आमजनमानसमा त्रास बढाएको छ।

यतिखेर राज्य अर्थात् सरकारको सक्रिय उपस्थिति चाहिन्छ। जनताले त्यही खोजिरहेका छन् । तर सरकार र सत्तारूढ दल भने गुटगत स्वार्थको लडाइँमा छन्। इतिहासकै सर्बाधिक बलियो भनिने नेपाल कम्युनिष्ट पार्टीको सरकार सत्तामा विराजमान छ, जसलाई अझै अढाई बर्ष अरूले हल्लाउन सक्दैन। तर पद लिप्साले आफू -आफूबीच नै अविश्वास र आशंका बलियो हुँदै गएपछि बिखण्डित हुने अवस्था नआउला भन्न सकिन्न । यतिबेला पनि संघीय तथा प्रदेश सरकारका प्रतिनिधिहरूको भूमिका देखिएको छैन। अझ त्यहाँ प्रतिनिधित्व गर्ने सदस्यहरू अभाब र असुबिधासँग लड्दै रहेका जनताको दुःखमा एकाकार भएको कतै पढ्न , सुन्न वा देख्न पाइएको छैन। यस्तो ब्यबहारले न युद्ध जित्न सकिन्छ न त सामुहिक अग्रसरताका अनुभूति गराउँछ । सारा विश्वको सामुहिक चिन्ता र समस्याका रूपमा रहेको भाइरसबिरूद्धको युद्धमा बिरोधीहरूलाई समेत एउटै मोर्चामा लामबद्ध गर्न सक्ने उदात्त भूमिका आजको आवश्यकता हो। यो सङ्कटलाई कोही कसैले दुर्भाव वा स्वार्थ पूर्तिको अवसर बनाउन खोजे स्वयंका लागि प्रत्युत्पादक हुनसक्छ । त्यसैले यो लडाइँ जित्न बन्दाबन्दीलाई ब्यवस्थित गर्दै सामुहिक जिम्मेवारी लिएर नैतिकतासहितको मोर्चा बनाउनु पर्छ । यसका लागि फेरि पनि सरकारकै भूमिका जरूरी छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here