कृषिमा कहिलेसम्म परनिर्भर रहने ?

2
1867
लेखक : आशिष वाग्ले, झापा कचनकवल–६ सुशील गुरागाँइ, साहित्य श्रेष्ठ, इलाम, युवा विद्यार्थी

अहिलेको विषम परिस्थितिमा छिमेकी देश भारतले चालेको बिस्तारवादी नीतिले नेपाल र नेपालीलाई आघात पुर्याएको छ। नेपाललाई यस परिस्थितिमा छिमेकीबाट यस्तो हेपाहा र तुच्छ कदमको कल्पना पनि थिएन्। हरेक नेपालीले यस्तो समयमा लाचार हुनुभन्दा बुद्धिपूर्वक र सम्यम भएर कदम चाल्नु पर्दछ। भारत आर्थिक र सैन्यरूपमा बलियो छ, यसैको आडमा हाम्रो कमजोरीको फाइदा उठाउदै बेला बेलामा प्रहार गर्ने गर्दछ।

यस्तो समयमा आक्रोश पोख्नुभन्दा सोचेर अघि बढ्नु उचित हुनेछ । शक्तिशाली सैन्य देशसँग वीरतापूर्वक लडौंला, तर, युद्व पश्चात् हाम्रो वीरता बारेमा बोल्ने र सुन्ने मान्छे बाकीँ रहन्छन् ? भारतसगँ परमाणु शक्ति छ,जुन बिनाशकारी छ। प्रत्येक नेपालीसगँ आत्मसम्मान, गौरव र बलियो इतिहास छ । हाम्रो आत्मसम्मान नै हाम्रो बलियो अस्त्र बन्न सक्छ । कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्र धरासायी बन्दै गइरहेको छ। भारतको प्रमुख निर्यात गन्तव्यमध्ये एक नेपाल हो। कुनै देशको अर्थतन्त्र बलियो र कमजोर हुनुमा त्यस देशको आयात–निर्यात निति प्रमुख जिम्मेवार रहन्छ । त्यसैले हामीले भारतबाट हुने आयातलाई कम गर्दै आफु आत्मनिर्भर बन्न आवश्यक छ । जुन मनसायले भारतले यस्तो कदम चाल्यो, ठिक त्यसको उल्टो परिणाम दिने प्रतिबद्धता हरेक नेपालीको मनमा उब्जनु अपरिहार्य बनेको छ । हामी प्रतिशोधको दृष्टिले हेरीरहेका छौँ। जसरी दिउँसो कालो चस्मा लगाउदा अलिकति अध्याँरोपनको आभास हुन्छ, पुरै उज्यालो देख्न सकिदैन त्यसरी नै हामीले पनि प्रतिशोधरूपी चस्मा लगाएर यस परिस्थितिले पैदा गरेको अवसरहरू पहिचान गर्न सकेका छैनौ। त्यसैले प्रतिशोध त्यागेर सम्यमताका साथ आत्मनिर्भरताको बाटो पहिल्याउन सक्यौ भने अवसरहरू यत्रतत्र देखिन थाल्नेछ्न। सबै नेपालीले इखरूपी बीष मनमा राखेर लड्न जरुरी छ । यहि प्रयास हाम्रो जीतको आधार बन्ने छ । यसो भनिरहदा अब प्रश्न उठ्न सक्छ, लड्ने कसरी ? यसका केही आधार र सम्भाबित प्रयासलाई यसरी प्रस्तुत गरिएको छ ।

१। बर्खायामको सुरुवातसगै हरेक बर्ष बाढी र पहिरोको सामना गर्नु पर्छ । तराईमा धान,पहाडमा तरकारी र हिमालमा जरीबुट्टी उब्जने समय भएको छ। तराई र पहाडका कयौँ फाटहरुमा जमिन बाझैँ छ । अर्कोतर्फ कोभिड–१९ को प्रभावले धेरै नेपाली बेरोजगार हुने र स्वदेश फर्किने निश्ति छ । यो चुनौतीलाई अवसरमा बदल्दै बिदेशबाट फर्किएका युवाहरुको सीप र प्रबिधीलाई स्वदेशी माटोमै लगानी गर्न सकिन्छ । यसो गर्दा हामी आत्मनिर्भर बन्न सक्छौं र हाम्रो उत्पादनले बजार पाउँछ ।

२। नेपालीको एउटा परम्परागत बानी छ । हामी आफ्नो सम्भाब्यता, क्षमता र प्राबिधिक पक्षको विश्लेषण नै नगरी अरुको देखासिखी गर्छौ । जसले कृषिमा एकरुपता ल्याएको छ । जसले गर्दा कसैको लगानी अनुरुप प्रतिफल मिल्दैन त सकैको उत्पादनले उचित बजार मूल्य पाउन सक्दैन । त्यसैले सम्भाब्यताको अध्ययन गर्दै कृषि उत्पादनमा विविधीकरण ल्याउनु पर्दछ ।

३। नेपाल एक कृषिप्रधान देश भएर पनि कृषि उत्पादनमा परम्परागत शैली अपनाउनु र यसलाई ब्यावसायिकरण गर्न नसक्नु आजको मुख्य कमजोरी हो । यसमा धेरै पक्षले प्रभाव परेको हुन्छ । कृषिलाई लक्षित थुप्रै नीति तथा अनुदान आएपनि यसको सहि कार्यान्वयन र सदुपयोग हुन सकेको छैन । त्यस्तै बैंक तथा बित्तीय सस्थाले दिने कर्जा पनि कृषि मैत्री छैन । जसले गर्दा कयौं युवाहरु कृषिमा कुनै भबिश्य नै देख्न सक्दैनन् र बेलैमा बिदेशीने निर्णयमा पुग्छ्न । यसलाई रोक्न कृषिलाई आधुनिकिकरण गर्न जरुरी छ । बिलासिताका बस्तुको आयातलाई कम गर्दै कृषि प्रबिधी भित्र्याउन सकियो भने कृषीलाई बजारीकरण गर्दै समुन्नत समाजको निर्माण गर्न धेरै समय लाग्ने छैन । जसका लागि सम्पुर्ण बित्तीय तथा गैर बित्तीय निकायबाट कृषि उत्पादनलाई प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउनु जरुरी छ ।

४। कृषिमा बिचौलिया हाबी हुनु पनि आजको मुख्य समस्या हो । नेपालका अधिकतम कृषि उत्पादन ग्रामीण क्षेत्रमा हुने गर्दछन । जहाँ बिकासका पुर्वाधार नै पुग्न सकेको छैनन् । ग्रामीण क्षेत्रका किसानहरु कृषि बजारसग प्रत्यक्ष जानकार हुदैनन् । यहि अज्ञानताको फाइदा उठाउदै बिचौलियाहरु कृषकलाइ उचित बजार मुल्य नै दिदैनन र किसान सधैं मारमा परिरहन्छ्न । यसको लागि कृषक लाई कृषि तालिम, बजार अनुगमन र बजार मुल्यसग अवगत गराउनु पर्छ । कृषि उत्पादनलाई सिधै अन्तिम उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउनु पर्छ । जसले गर्दा कृषकले उचित बजार मुल्य पाउनुका साथै कृषि लगानीमा प्रोत्साहन मिल्छ ।

५। कृषि सगै हामिलाई आत्मनिर्भर बन्न औद्योगिकिकरण पनि जरुरी छ । हामिले कृषि उत्पादनलाई नै औद्योगिकिकरण गर्न सक्छौ । जस्तैस् हामी बर्सेनि थुप्रै जडिबुटी तथा नगदेबालीको रुपमा प्राप्त हुने कृषि उपज अदुवा, अलैंची आदि कच्चा पदार्थको रुपमा कम मुल्यमा निर्यात गर्छौ र तिनै बस्तु हामी अौषधि, मसला आदि तयारी बस्तुको रूपमा बढी मूल्य तिरेर आयात गर्दै आइरहेका छौं । यदि हामीले हाम्रो कच्चा पदार्थलाई स्वदेशमै प्रशोधन गरि तयारी बस्तुमा परिणत गर्न सक्यौं भने एकातर्फ आन्तरिक माग पूरा गर्न सक्छौं र अर्कातर्फ अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश पाउन सकिन्छ । यसका लागि पर्याप्त प्रशोधन केन्द्र र औद्योगिक उपकरणको स्थापना हुनुपर्दछ ।

६। समयको परिवर्तन सगै मानिसका इच्छा, चाहनामा परिवर्तन आउनु स्वाभाविक हुन्छ । आजको बजार दैनिक उपभोग्य बस्तु सगै बिलासी वस्तुको समेत चाहना राख्द्छ । परिणामस्वरूप नेपाल जस्तो बिकासोन्मुख देश आज बृहत रुपमा बिलासी बस्तु आयात गर्न बाध्य बनेको छ । यसलाइ केही हदसम्म कम गर्न स्वदेश मै स–साना पार्ट्पुर्जा निर्माण गर्ने कम्पनीको स्थापना गर्न सकिन्छ । आयातित बस्तुहरुको मर्मत सम्हारमा चाहिने यस्ता सामाग्री स्वदेश मै निर्माण गरेर पनि केही हदसम्म परनिर्भरतालाइ कम गर्न सकिन्छ । फलतः यसले निकट भबिस्य मै धेरै भन्दा धेरै बिदेशी लगानीलाई आकर्सित गर्दै ठुला कम्पनीको स्थापनामा टेवा पुर्याउने छ ।

यसरी कृषि, उद्योग र प्रबिधी मैत्री नीति निर्माण र कार्यान्वयन गर्न सके छिटै देशको अर्थतन्त्र सुदृढ बन्नेछ । जब हामी आफुलाई चाहिने सामान आफैं उत्पादन गर्न सक्षम हुन्छौं तब हाम्रो ईन्डियासगको निर्भरतामा कमि आउनेछ । नयाँ स्रोतको परिचालन र भएका स्रोत साधनहरुको सदुपयोग गर्न सकिनेछ । रोजगारीका अवसरहरु सिर्जना हुनेछन् । दक्ष जनशक्तिले उचित स्थान पाउनेछन् र सिपको सम्मान हुनेछ । हरेक नेपाली आत्मसम्मानसगै समृद्ध जीवन बाच्न पाउनेछ्न । यो सबै हाम्रै पालामा सम्भव छ, मात्र सरकार र आम जनताको यस विषयमा ध्यानाकर्षण हुन आवश्यक छ । अन्य बिकासोन्मुख देशहरूले बिदेशी सामानको प्रयोगमा प्रतिबन्ध लगाउदै स्वदेशी उत्पादनलाई जोड दिएको बिषयलाइ बलियो उदाहरणको रूपमा लिन सकिन्छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here