कोरोनाको इपिसेन्टर कचनकवलमा विभिन्न संघसंस्थाद्धारा सहयोग जारी

0
828

भद्रपुर।

एक सय जना कोरोना सङ्क्रमित भेटिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई विभिन्न सङ्घसंस्थाले स्वास्थ्यसहित विभिन्न सामग्री सहयोग गर्न थालेका छन् । जिल्लाकै सबैभन्दा बढी सङ्क्रमित भेटिएको गाउँपालिकाका क्वारेनटाइनलाई थप व्यवस्थित बनाउन, स्वाब परीक्षणको दायरा बढाउन र गाउँमा संक्रमण फैलिन नदिन सहयोगी दाता तथा सङ्घसंस्थाले सहयोग गर्न थालेका हुन् ।

सोही क्रममा गुड नभेर इन्टरनेशनलको आर्थिक सहयोग तथा नारी कल्याण समाज झापाको सहकार्यमा गाउँपालिकामा रहेका क्वारेनटाइनलाई एक हजार लिटर क्षमता भएको सात वटा पानीटंयाकी र सात थान इलेक्ट्रिक फिल्टर प्रदान गरिएको छ ।

प्रदेश सांसद वसन्त बानियाँ पहलमा गाउँपालिकालाई ती सामग्री प्रदान गरिएको हो । इन्टरनेशनल र समाजका पदाधिकारीसहित गएको टोलीले मङ्गलवार गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरि राजवंशीलाई सो सामग्री हस्तान्तरण गरेका थिए । साथै पथरिया माविको क्वारेन्टाइनमा पुगेर उनीहरूले एउटा पानीटंयाकी र फिल्टर जडान गरिदिएको प्रदेश सांसद बानियाँले जानकारी दिए । अब गाउँपालिकामा रहेको अन्य क्वारेन्टाइनमा पनि स्वच्छ र सफा पानीका लागि पानीटंयाकी र फिल्टर जडान गरिने गाउँपालिकाका अध्यक्ष आलमले जानकारी दिए ।

त्यस्तै सिस्नो पानी नेपालले पनि गाउँपालिकालाई स्वास्थ्यसहित विभिन्न सामग्री उपलब्ध गराएको छ । सिस्नो पानी नेपालका महासचिव टङ्क आचार्य र सरोज घिमिरेले गाउँपालिकाका अध्यक्ष आलमलाई २५ थान पीपीई, एक कार्टुन स्यानिटाइजर, २५ थान स्यानिटाइजर स्पे्र, एक हजार सर्जिकल मास्क, २५ थान पानी तताउने भाँडो, ५० थान झुल, १५० थान गम्छा, १५ थान मग, ७५ थान तकिया, एक सय पिस साबुन लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी झापा ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिले संयुक्त रूपमा कचनकवललाई ६० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । राप्रपा क्षेत्रीय समितिका अध्यक्ष नवराज पनेरु र भद्रपुर नगर समितिका अध्यक्ष राधा कार्कीले गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई एक सय थान एन ९५ मास्क र १० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै ‘एकका लागि एक’ अभियानले पनि कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले दुई सय थान पिसिआर किट, १००० थान मेडिकल मास्क, ९९५ थान साबुन प्रदान गरिएको अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष अभियन्ता कुमार भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन झापाको कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष अन्जार आलमलाई उक्त सामाग्री प्रदान गरिएको थियो । हाल गाउँपालिकाका क्वारेन्टाइनमा भारतबाट आएका साढे तीन सय बढी राखिएको छ, भने सङ्क्रमित एक सयमध्ये १७ जना निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here