‘आउँदैन जोवन फिरी’

0
421

सम्पादकीय

कोरोनाको कहर अब मात्र अनुभव गर्न सकिने भएको छ । विश्व त्राहीमाम भइरहेका बेला कोरोना भाइरसको संक्रमण लकडाउन तेस्रो महिनामा पुग्दा भयावह बनेको हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या नौ हजारबाट उकालो लागेको छ । दिनहुँ थपिने र मृत्यु हुनेक्रम पनि तीव्र हुन थालेको छ । यही समय लकडाउन खुकुलो पारिएको छ, यद्यपि लकडाउन कायम छ । तर हाटबजार, सडक, चोक र गल्ली हेर्दा लाग्छ– लकडाउन पूर्णतः हटाइ सकिएको छ । जेठ ३२ गतेसम्म घर–घरमा बसेका मानिस लाग्छ अहिले कोरोनामुक्त भएर सडक, बजार र चोकहरुमा भेला भएका हुन् ।

लकडाउन विश्व स्वास्थ्य संगठनको निषेधात्मक उपचार विधि हो । त्यही भएर विश्वले लकडाउनलाई व्यवहारमा लागू ग¥यो । ‘लिन जाँदा मात्रै आउँछ’ भनेर मानिसलाई लिन नजान घरमै बसौं भनियो । त्यतिञ्जेल कोरोना बिस्तारको क्रम पनि न्यून रह्यो । र, जब लिन जान थालियो भाइरस ‘दिन दुईगुना रात चार गुना’ को रफ्तारमा दौडिन थाल्यो । परिणाम संक्रमित मात्र होइन मृत्युको संख्या पनि उक्लिन थाल्यो । यसकै कारण मृत्यु हुनेको संख्या तेइस पुगिसकेको छ । हाम्रो असावधानी र लापरवाही यस्तै रहने हो भने यसको वृद्धिदर अझै उच्च हुने निश्चित छ । त्यसबेला न कठै भन्ने भेटिने छन् न त दुःखको साथी भन्दै पछि लाग्ने !

उपचार नै नभेटिएको नोबेल कोरोना भाइरसबाट जोगिने एकमात्र उपाय सामाजिक वा भौतिक दूरत्व कायम गर्नु नै हो । दिनहुँजसो लक्षण बदल्दै आएको यसको संक्रमण व्यक्तिबाटै हुने भएकाले एकअर्काबाट दूरी कायम गर्नु नै निरोधात्मक उपाय हो । त्यसका लागि सरकारले शर्त र मापदण्ड बनाएको हो र सबैले त्यसको पालना र मानना गरेर उत्पन्न विपद्बाट जोगिनु पर्ने हो । यही नै बुद्धिमानी हो र नियन्त्रण गर्ने भरपर्दो विधि पनि । आँखाले देख्न, हातले छुन र छाम्न अनि भौतिकताले अलग्याउन नसकिने भाइरस अहिले छ्याप्छ्याप्ती भइसकेको छ । हिमालदेखि तराई–उपत्यका र मेचीदेखि कालीसम्मका सबै पालिका क्षेत्रहरु संक्रमणको चपेटामा आइसकेका छन् ।

सरकार भने कोरोनाको कहर प्रारम्भदेखि नै विवादित बन्यो । स्वास्थ्य सामग्री खरिद प्रक्रिया हुँदै क्वारेन्टिन निर्माण, खानपिन, सुरक्षा तथा सेवा प्रवाहको विषयमा आलोचित भयो । यहाँसम्म कि क्वारेन्टिनमा रहेका महिला बलात्कृत समेत हुन पुगे । शंकास्पद व्यक्तिहरुको यथासमय परीक्षण नहुँदा क्वारेन्टिनमै जीवन गुमाउने अवस्था पनि आयो । विदेशबाट उद्दार गरेको भनिएकाहरुले पनि असुरक्षित र उपेक्षित महशुस गर्नु प¥यो । उपचार सामग्री खरिददेखि नै कमिशन, अनियमितता र भ्रष्टाचारको खेल शुरु भयो । यी सबैबाट आक्रोशित युवावर्ग भद्र आन्दोलनमा उत्रिए । कुनै वाद, विचार दलसँगको आबद्धता नदेखाइ युवाहरुले राजधानी लगायत देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन गरे तर सरकार सबैबाट बेखबर ‘मनमौजी’ हिँडिरहेको छ । यस्तोमा प्रत्येक व्यक्ति स्वयम् सचेत नहुने हो भने भविष्य सुरक्षित हुँदैन । दूरी कायम गर्ने, अत्यावश्यक बाहेक हिँडडुल नगर्ने, सावधानी, सजगता अपनाउनाले मात्र महामारीको कहरबाट जोगिन सकिन्छ । कतै लोकभाखामा सुनिने गरेको ‘आफ्ना र जिउको सम्हार नगरे आउँदैन जोवन फिरी’ गीतको मर्मलाई आत्मसात गरौं । यसमा मात्रै सबैको कल्याण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here