उपभोक्ताले मरमत गर्न सकेनन् निवुखोला जलविद्युत्

३० असार २०७७, मंगलवार मा प्रकाशित

फिदिम,

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिब १५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् ।

हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा पुगेको हो । करिव १६ वर्षअघि निर्माण भएको आयोजना जीर्ण अवस्थामा पुगेपछि विद्युत् उत्पादन नियमित हुन नसक्दा उपभोक्ताहरु समस्यामा परेका छन् ।

उक्त आयोजना ‘आइबिपी’ नामक दातृ संस्थाको ५० प्रतिशत अनुदान सहयोगमा निर्माण भएको थियो । पछिल्लो पटक पहिरो तथा वर्षात्का कारण विद्युत् गृहसम्म पानी पु¥याउने पाइपलाइन क्षतिग्रस्त भई विद्युत् उत्पादनमा अवरोध आएको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद नेम्वाङले बताउनुभयो । पाइपलाइन तथा विद्युत् गृहमा पहिरोले क्षति पु¥याउँदा उपभोक्ताले मात्रै मर्मत गर्न नसकेको उहाँको भनाइ छ ।

“संरचना जीर्ण हुँदा लघु जलविद्युत् नै बन्द हुने स्थिति आएको छ”, उहाँले भन्नुभयो । उक्त आयोजनाले काममा खटाएका तीन जना कर्मचारीलाई मासिक पारिश्रमिकसमेत उपलब्ध गराउन कठिन परेको जनाएको छ । “प्रत्येक घरधुरीले मासिक रु ११० महशुल सङ्कलन गरी कर्मचारीलाई तलब दिँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “अब न मर्मतमा खर्चने पैसा छ, न उपभोक्ताबाट उठाउने अवस्था नै ।” नियमित विद्युत् उत्पादन नहुँदा उपभोक्ता समस्यामा परेका छन् ।

फाल्गुनन्द गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ मा आयोजना मर्मत गर्ने विषयलाई नीति तथा कार्यक्रममा राखेको जानकारी पाएको भन्दै उपभोक्ता समितिका सचिव भगीरथ नेम्वाङले सरकारी सहयोग प्राप्त नभए आयोजना बन्द हुने बताउनुभयो । “गाउँपालिकासहित अन्य निकायसँग सहयोग मागिरहेका छौँ । सहयोग प्राप्त नभए वर्षौंदेखि उज्यालोमा बस्न पाएका हामी १५० परिवार अन्धकारमा पर्छौँ”, उहाँले भन्नुभयो ।

जलविद्युत् आयोजनाबाट उत्पादित १२ किलोवाट क्षमताको विद्युत्ले दिउँसोको समयमा यहाँ कुटानीपिसानी तथा तेल पेल्ने मिलसमेत सञ्चालन हुँदै आएको थियो । यस्तै विद्युत् उत्पादनका लागि ल्याइएको पानीको पाइपलाइनलाई सिँचाइको रुपमा समेत प्रयोग हुँदै आएको थियो ।

पाइपलाइनको मर्मतमा ठूलो खर्च लाग्ने र उक्त खर्च उपभोक्ता मात्रैले सङ्कलन गर्ने अवस्था नभएपछि कतिपय उपभोक्ता निराश बनेका छन् । यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार हुन अझै केही समय लाग्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here