विपन्नले निःशुल्क पाउने मिटरबक्सको नाममा रकम असुल्नेलाई कारवाहीको माग

२७ श्रावण २०७७, मंगलवार मा प्रकाशित

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा समितिले उक्त उपभोक्ता समितिमाथि कारवाहीको माग गरेको छ ।

सरकारले विपन्न घरपरिवारलाई निःशुल्क उपलब्ध गराउँदै आएको मिटरबक्सको नाममा समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ, महेन्द्र राईलगायतले प्रति घरपरिवार रु दुई हजारसम्म रकम असुलेको प्रमाणसहित सोमबार जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।

नेपाल विद्युत् प्राधिकारणबाट काम भइरहेको खार्मीमा उपभोक्ता समितिको नाम गरेर विपन्न घरपरिवारबाट अवैधरूपमा रकम असुली गरेको नेकपा वडा समितिको दाबी छ । “विसं २०७६ मा ७३ र २०७७ मा ४२ घर गरी ११५ घरपरिवारबाट रकम असुलेको पाइएको छ”, नेकपा वडा समितिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र नगरप्रमुख दीपनारायण रिजाललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “अवैधरूपमा असुल गरिएको रकम तुरुन्त फिर्ता गराउनुका साथै रकम असुलीमा संलग्न व्यक्तिलाई तत्काल कानूनअनुसार कडाभन्दा कडा कारवाही गरियोस् ।”

विद्युत् जडान गर्दा प्राविधिकले पनि सेवाग्राहीबाट अवैधानिकरूपमा रकम असुल्ने गरेको पाइएकाले रकम असुल्नमा संलग्न प्राविधिकलाई समेत कानूनी कारवाही गर्न ज्ञापनपत्रमा भनिएको छ । “प्रशासनले सो मुद्दाको सत्यतथ्य प्रमाण हुँदाहुँदै पनि कानूनसम्मत फैसला नगरेमा सो मुद्दाको छिनोफानो नेकपा वडा समितिले गर्नेछ र सोबाट पर्न जाने क्षतिप्रति सम्बधित पक्ष जिम्मेवार हुनुपर्नेछ”, नेकपा वडा समितिका अध्यक्ष हर्कराज राईले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा भनिएको छ ।

नेकपा वडा समितिको ले ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले नेकपा वडा समितिले बुझाएको ज्ञापनपत्रको सम्बन्धमा नगरपालिकासँग समन्वय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिनुभएको छ । “स्थानीय सरकार भनेको नगरपालिका हो”, उहाँले भन्नुभयो, “यदि विपन्न घरपरिवारबाट जबर्जस्ती रकम असुल गरेको रहेछ भने छानबिन गरेर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।”

खार्मीमा पछिल्लो समय विद्युत् विस्तारको काम प्राधिकरण आफैँमार्फत भइरहेकाले स्थानीय उपभोक्ता समितिको कुनै भूमिका नहुने नगरप्रमुख रिजालले बताउनुभयो । “विपन्न घरपरिवारका लागि सरकारले निःशुल्क उपलब्ध गराएको भनेपछि कसैले पनि शुल्क लिन पाइँदैन”, उहाँले भन्नुभयो, “खार्मीमा विद्युत् विस्तार उपभोक्ता समितिको नाममा विपन्न घरपरिवारबाट रकम असुली भयो भनेर ज्ञापनपत्र आएको छ । उक्त समिति वैधानिकसमेत नरहेको र यदि साँचो ठहरिएमा कानूनी कारवाही गरिनेछ ।”

उपभोक्ता समितिका अध्यक्ष राईले भने नेकपा वडा समितिले लगाएको आरोप झुटो रहेको दाबी गर्नुभएको छ । “हामीबाट कुनै पनि शीर्षकमा रकम असुल्ने काम भएको छैन”, उहाँले भन्नुभयो, “नेकपा वडा समितिले आफूहरुलाई राजनीतिक स्वार्थपूर्तिका लागि बदनाम गराउन झुटो आरोप लगाएका हुन् ।”

विपन्न घरपरिवारका लागि भनेर दिइएको मिटरबक्सका लागि कार्यालयमा लाग्ने शुल्कवापत रु ५५ जम्मा गरी रसिद काटेर दिने गरिएको प्राधिकरणका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो । “अन्यका लागि रु दुई हजार ५५५ लाग्छ”, उहाँले भन्नुभयो, “विपन्न घरपरिवारका लागि निःशुल्क आएको हुँदा सम्बन्धित वडाको सिफारिसको आधारमा उपलब्ध गराउने गरिएको छ ।”

सात सय ७४ घरधुरी उपभोक्ता रहेको खार्मीमा टिआर कन्स्ट्रक्शन प्रालिमार्फत विद्युत् विस्तारको काम भइरहेको छ । ठेकेदार कम्पनीले उक्त विद्युत् विस्तारको जिम्मा लिए पनि प्राधिकरणकै कर्मचारीमार्फत काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाका अन्य ठाउँमा समेत उपभोक्ता समितिले रकम असुल्ने गरेको गुनासो आएको छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय धमाधम केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here