अन्तरजातीय प्रेमविवाहले दिएको पीडा

२९ भाद्र २०७७, सोमबार ०७:३७ मा प्रकाशित
  • 113
  •  
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares

शुष्मा पोख्ररेल (नाम परिवर्तन) माइती घर तेह्रथुम जिल्ला (स्थान परिवर्तन) बुबा आमाकी कान्छी छोरी हुन् । शुष्माको एक दिदी र भाइ छन् । शुष्माको बुबा पसल गर्नुहुन्छ, आमा गृहणी हुनुहुन्छ र उनको हजुरबुबा पण्डित हुनुहुन्छ । २०५२ सालमा जन्मिएकी उनले धरान–१६ को नवोदय विद्या मन्दिरबाट र बालिका विद्यालयबाट विद्यालय शिक्षा पूरा गरिन् । २०६६ सालमा एसएलसी परीक्षा दिएर नतिजा कुरेर बसेको समयमा उनको आफ्नो मिल्ने केटा साथीको माध्यमबाट एक युवासँग भेट हुन पुग्यो । ती युवा अरु कोही नभएर केटा साथीकै ठूलो बाबाको छोरा थियो । ती युवासँगको भेटपछि शुष्माको जीवनले फरक मोड लियो ।

Advertisement

उनीहरुको भेट बिस्तारै प्रेममा परिणत भयो । उनीहरु एकअर्कालाई मन पराउन थाले, प्रेम गर्न थाले । दिनदिनै शुष्मा र ती युवकको बीचको प्रेम झागिंदै गएको तीन महिना बितेछ । तीन महिनापछि शुष्माको एसएलसी परीक्षाको नतिजा पनि सार्वजनिक भयो । उनी परीक्षामा पास भइन् र बालिका विद्यालयमै कक्षा ११ मा भर्ना भइन् । कक्षा ११ को परीक्षा लेखेपछि शुष्मा उनको प्रेमीले विवाह गर्ने निधो गरे । सोही निधो अनुसार उनीहरुले २०६७ सालको फागुन महिनामा प्रेम विवाह गरे । शुष्मा पोख्रेल बाहुनकी छोरी उनका श्रीमान् सिवा थरका दलित युवा थिए ।

उसको घर भोजपुर (स्थान परिवर्तन) थियो । तर, त्यतिबेला उनी धरानमै बसेर टेलरिङ्गको काम गर्दै थिए । विवाहको समयमा शुष्माको उमेर १७ बर्षको थियो भने उनका श्रीमान् २२ वर्षका थिए । विवाहपश्चात उनले शुष्मालाई भोजपुर लिएर गए र त्यही टेलरिङ्गको काम गर्न शुरु गरे ।

शुष्मा नयाँ दुलही बनेर श्रीमान्को घरमा भित्रिँदा त्यहाँ उनका सासु, ससुरा, नन्द, देवर र देवरानी थिए । शुष्मा खुशी थिइन् । श्रीमान्को रोजगारी पनि थियो भने उनले सबैको माया पनि पाएकी थिइन् । विवाह गरेको सात महिनापछि दशैं आयो उनलाई दिनदिनै माइती घरको सम्झनाले सताउन थाल्यो । उनले आफूलाई रोक्न सकिनन् र एकदिन उसले आमालाई फोन गरिन् । सन्तानका लागि कोमल र उदार हृदयकी आमाले उनलाई स्वीकार गर्न कति पनि ढिला गरिनन् । कानूनी रुपमा जातीय विभेद दण्डनीय भनिए पनि बर्षांैदेखि हाम्रो समाजमा जकडिएको जातीय विभेदको मानसिकता अझै फराकिलो बन्न सकेको छैन । मुखले जातीय विभेद अन्त्य गरौं भन्ने तर व्यवहारमा उतार्न नसक्ने मानसिकता हामीमा छदैछ । जसका कारण हिंसा र हत्यासम्म पनि भएका छन् ।

समाज परिवर्तनका लागि शुष्माको आमा बुबाले उठाएको यो कदम साच्चै उदाहरणीय छ । आफ्ना आमा बुबाको यो कदम र व्यवहारले शुष्मा झनै खुशी भइन् । दिनहरु बित्दै गए एक बर्षपछि उनले पहिलो सन्तानको रुपमा छोरी सिमरनलाई (नाम परिवर्तन) जन्म दिइन् । सिमरन अढाई बर्षकी भएपछि शुष्मा र उनका श्रीमान् फेरि धरान फर्किए । पहिले जस्तै श्रीमान्ले टेलरिङ्गको काम गरेर परिवार चलाउँदै गए । तीन बर्षको फरकमा शुष्माले फेरि दोस्रो सन्तानको रुपमा छोरी सेरिनालाई (नाम परिवर्तन) जन्म दिइन् । त्यसपछि बिस्तारै शुष्माको जीवनमा उतार–चढाव आउन थाल्यो । उनको खुशी धेरै दिन टिक्न सकेन । उनको श्रीमान्मा मादकपदार्थ सेवन गर्ने बानी रहेछ । श्रीमान्ले मादकपदार्थ सेवन गरेर उनलाई रातदिन कुटपिट गर्न शुरु गरे । घृणित लान्छनाहरु लगाउन थाले । शुष्माले अन्तरजातीय प्रेम विवाह गरेकाले माइतमा यी सब कुरा भन्न सक्दिन थिइन् त्यसैले शुष्माले सहनु विकल्प थिएन । शुष्माले श्रीमान्को व्यवहार सहदै गइन् ।
श्रीमान्को कुटाईबाट उनको शरीरभरि नीलडाम हुने गर्दथ्यो । विवाह गरेको नौ बर्ष बित्यो तर श्रीमान्को व्यवहारमा कुनै परिवर्तन आएन । झन् श्रीमान्का गतिविधि असह्य र उग्र बन्दै गए । हँुदा–हँुदा घरमा नुन, तेल र चामल किन्न समेत बेवास्ता गर्न थाले ।

शुष्माले ती दुई अबोध छोरीहरुका पेट भर्न कहिले मार्केटिङ त कहिले होटलमा जुठो भाडासम्म माझ्न बाध्य भइन् । अन्नतः यतिबेला उनीहरु खोलाको दुई किनार झंै भएका छन् । तर, पनि शुष्माले हिम्मत हारेकी छैनन् । गुलाव झंै सुन्दर दुई कलिला ८ बर्षीया र ३ बर्षीया छोरीहरुको ओठमा हाँसो ल्याउन चाहन्छिन् । छोरीहरुको अभिभाकत्व बहन गर्न चाहन्छिन् । कानूनी रुपमा श्रीमान्सँग अलग रहन चाहन्छिन् । उनी अहिले आत्मनिर्भरताका लागि सीप सिक्दै छिन् । जीवनसँग संघर्ष गर्दैछिन् । अहिले उनी आफना दुई छोरीहरुको साथमा एक संस्थाको संरक्षणमा छिन् ।
शुष्मा (नाम परिवर्तन)सँगको कुराकानीमा आधारित

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here