मानवीय संवेदना मर्न नदेऊ

२९ भाद्र २०७७, सोमबार ०७:५६ मा प्रकाशित

तीनतिर सीमाना जोडिएको नेपाली भूमि यस क्षेत्रकै ठूलो देश हिन्दुस्थानबाट अतिक्रमणमा परेको घटना र समाचार दुबै नौलो होइन । इतिहासदेखि नै भारतले प्रत्यक्ष र परोक्ष रुपले नेपाली भूमिमाथि अतिक्रमण गरिरहेको छ, फरक यत्ति हो कि सञ्चारको विकासले यो विषय चर्चामा आउन थालेको छ । पृथ्वीनारायण शाहको शासनकालमा शुरु भएको बृहत् नेपाल निर्माणको अभियान र त्यसपछि राजेन्द्रलक्ष्मी देवी शाह र बहादुर शाहको नायवीकालमा नेपाल टिष्टादेखि काँगडासम्म फैलिएकै हो । अंग्रेजको बढ्दो शक्तिलाई रोकेर उसको विस्तारवादी अभियानलाई निस्तेज पार्दै स्वतन्त्र र बलियो नेपाल बनाउन तत्कालीन सेना नायकहरुले दिएको योगदान बिर्सिने हो भने त्यो व्यक्ति वा जाति कृतघ्न ठहरिने छ । त्यसकारण पनि जब–जब नेपाली भूमिमाथि कुनै बाह्य शक्ति वा संस्थाले हस्तक्षेप गर्छ तब–तब नेपाली वीरताको इतिहास पुनर्लेखन, पुनस्र्मंरण तथा चर्चा हुने गर्छ । पछिल्लो पटक हाम्रो पश्चिमी सीमाना लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद उत्कर्षमा पुग्दा देशका अन्य भागमा मिचिएका नेपाली माटोको कुरा उठ्यो ।

Advertisement

नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरे लगत्तै नेपाली जनताले त्यस्तो दुष्कर्मको कडा प्रतिवाद गरे । जनताको प्रतिवादले सरकारलाई पनि बाध्य बनायो र आखिरमा मिचिएको भूमिलाई नेपाली नक्सामा समेटेर अस्तित्वको खोजी गरियो । त्यसलगत्तै चिसिएको नेपाल–भारत सम्बन्ध अझै सुधार भएको छैन भने वार्ता गर्ने नेपालको प्रयास पनि सार्थक हुन सकिरहेको छैन । त्यसयता विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सीमा विवाद ओझेलमा प¥यो । कोरोना रोकथामकै लागि सीमानाका बन्द गरिए । आवागमन ठप्प भयो, उपभोग्य वस्तुको निकासी–पैठारी समेत रोकियो । तदुपरान्त अत्यावश्यक वस्तुको आयात सुचारु पनि भयो, मुख्य नाका भएर सामान ढुवानी गर्ने सवारीसाधनहरु भित्रिन थाले । केही राहत पनि भयो, मानिसको दैनिकी केही सहज हुन थाल्यो, यद्यपि कोरोना कहर घट्ने अवस्थामा अझै छैन ।

आवश्यक उपभोग्य वस्तुमध्ये मानव स्वास्थ्यसँग जोडिएको औषधिको आयात त्यसबेलासम्म निर्वाध भइरह्यो । स्थानीय सहयोगी संस्थाहरुको समन्वय र सक्रियतामा औषधि ल्याउने काम निरन्तर भइरह्यो । तर, यतिबेला पूर्वी दक्षिणी नाका भद्रपुर–गलगलिया क्षेत्रबाट औषधि ल्याउन भारतीय पक्षले रोक लगाएको समाचार आएको छ । सीमा रक्षा गर्न तैनाथ एसएसबीका स्थानीय इञ्चार्जका रुपमा हरजीत रे आएपछि औषधि ल्याउन रोक लगाएको स्थानीयले गुनासो गरेका छन् । कतिपय विरामीले नियमित प्रयोग गर्ने औषधिका लागि भारतीय बजारमै निर्भर हुनुपर्दछ । त्यस्तोमा मानवीय संवेदनासँग जोडिएको औषधि युद्धकै समय भए पनि लान–ल्याउन पाइने विश्वव्यापी मान्यता छ । तर, एकजनाको सनकका भरमा औषधि ल्याउनै रोक लगाउनु अमानवीय मात्र होइन खेदजनक कार्य पनि हो । जीवन–मरणसँग जोडिएको यस्तो विषयमा नेपालतर्फका सम्बद्ध निकाय, जिल्ला प्रशासन, प्रहरी प्रमुख, सांसद लगायतका जनप्रतिनिधिहरुले भारतीय पक्षसँग वार्ताको पहल तत्काल गर्नुपर्दछ । स्थानीय तहबाट समाधान गर्न नसकिए केन्द्र मार्फत नै भए पनि असहमति अन्त्य गर्दै जीवन सहज बनाउन तत्काल पहल गर्नुपर्छ । यदि त्यसो नभए सरकारप्रतिको भरोसा टुट्न सक्छ, जो सरकार सम्बद्ध कसैलाई हितकर हुने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here