अति विपन्न दलित परिवारका घर निर्माण

३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

झापा, 

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ र २ का अति विपन्न ६ घर दलित परिवारको सरकारले घर निर्माण गरिदिएको छ । फाल्गुनन्द एक, नवमीडाँडाका तीन र वडा नं २ इम्बुङका तीन घर विपन्न दलितको जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर निर्माण गरिदिएको हो । प्रदेश नं १ को शहरी विकास तथा भवन निर्माण आयोजनाबाट प्रत्येक घर रु तीन लाख ३२ हजार ५०० को लागतमा निर्माणसम्पन्न भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुङ्वाङले जानकारी दिनुभयो ।


फाल्गुनन्द–१ र २ का अति विपन्न ६ घर दलित परिवारको घर निर्माण भइसकेको अध्यक्ष कुरुङ्वाङले बताउनुभयो । फाल्गुनन्द–१ नवमीडाँडाका भवानीबहादुर दर्जी, कमलबहादुर दर्जी र पूर्णबहादुर विश्वकर्माको घर निर्माण भएको छ । यस्तै फाल्गुनन्द–२, इम्बुङका मीरा बाग्दश, धनबहादुर दर्जी र धनराज दर्जीको घर निर्माणसम्पन्न भएको हो । सरकारले घर निर्माण गरिदिएपछि विपन्न वर्गका उनीहरु हर्षित भएका छन् । गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला सरकारले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत प्रदान गरेको कमलबहादुर दर्जीकी श्रीमती फूलमाया दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लागि पनि सरकार छ भन्ने आभास भएको छ, सरकारले घर निर्माण गरिदिएर हाम्रा निम्ति ठूलो राहत प्रदान गरेको छ ।”
सरकारले घर निर्माण गरी दिएपछि विपन्न वर्गका पूर्णबहादुर विश्वकर्मा पनि खुशीले दङ्ग हुनुहुन्छ । “घर बनाउन सक्ने अवस्था थिएन, सरकारले घर निर्माण गरिदिएकाले हामी हर्षित भएका छौँ”, उहाँले भन्नुभयो, “सरकारले यतिका खर्च गरेर घर निर्माण गरेर हामी गरिबको उद्धार गरेको छ ।” यस्तै सरकारले घर निर्माण गरिदिएपछि फाल्गुनन्द–१ का भवानीबहादुर दर्जीले समेत खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी विपन्नको घर बनाउने अवस्था थिएन, बालबच्चाहरु धेरै, सरकारबाट घर पाइयो, बसियो, आनन्द भयो, एकदम गौरव लागेको छ ।”
जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु प्राविधिक मापदण्डबमोजिम नै निर्माणसम्पन्न भएको फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंङ नेम्वाङले बताउनुभयो । वडा नं. २ मा निर्माण गरिएका घरहरु गुणस्तरीय सामग्रीको प्रयोग गरी प्रभावकारी ढङ्गले निर्माण गरिएको उहाँको भनाइ छ ।
खानेपानीको महसुल घट्यो
पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुक्खा क्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्यूनतम महसुल घटाइएको हो । यसअघि न्यूनतम महसुल रु ५०० तोकिएको तर त्यसलाई घटाएर न्यूनतम महसुल रु २५० पु¥याइएको छ । तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको सोमबार बैठक बसेर महसुल घटाइएको समितिका महासचिव अमरसिंह थापाले बताउनुभयो ।
महसुल परिमार्जन गर्न यसअघि नै समितिले कार्यादल गठन गरेको थियो । गठित कार्यदलको प्रतिवेदनका आधारमा खानेपानीको महसुल घटाइएको समितिका महासचिव थापाले बताउनुभयो । तमोर लिफ्ट खानेपानी उपभोग गर्दै आएका उपभोक्ताले तीन हजार लिटर पानी प्रयोग गर्दा रु २५० महसुल बुझाउनुपर्ने हुन्छ । तीन हजारदेखि ६ हजार लिटर पानी प्रयोग गर्दा पुरानै महसुल कायम भएको तर तीन हजारभन्दा कम पानी प्रयोग गर्दा भने रु २५० बुझाउनुपर्ने थापाको भनाइ छ ।
सुक्खा क्षेत्रका आर्थिक रुपमा विपन्न र एकल परिवारका लागि यो निणर्यले राहत पुग्ने समितिका कार्यवाहक अध्यक्ष तथा कार्यदलका संयोजक मेघराज निरौलाले बताउनुभयो । यसअघि महसुल बढी भएको भन्दै जनगुनासो बढ्न थालेपछि कार्यादल गठन गरिएको थियो । विपन्न र एकल परिवारले गुनासो गरेपछि महसुलमा फेरबदल गर्नु परेको निरौलाको भनाइ छ । सो बैठकमा तमोर लिफ्ट उपभोक्ता समितिका पदाधिकारी, निर्माण कम्पनी र खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्राविधिकको उपस्थितिमा बैठक बसेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here