नियमिततामा विराम लाग्नु हुँदैन

१२ आश्विन २०७७, सोमबार मा प्रकाशित

कोरोनाका कहरकैबीच झापाको बाह्रदशी गाउँपालिकाले विकास आयोजनाका कार्यक्रमहरुलाई अघि बढाएको छ । पालिकाले घोषणा गरेको ‘उज्यालो बाह्रदशी’बाट सबै नागरिकलाई विद्युत् सेवाको पहुँचमा पु¥याएको छ । तीन वर्षअघि कार्यक्रम घोषणा गर्दा पालिकामा साठ्ठी प्रतिशत बासिन्दाले मात्र विद्युत् सेवाको उपयोग गर्दै आएका थिए । स्थानीय तह गठन भए लगत्तै गाउँपालिकाले ‘उज्यालो बाह्रदशी’ अभियान घोषणा गर्दै बाह्रदशीका सबैलाई विद्युत् सेवाको पहुँचमा पु¥याउने प्रतिबद्धता जनाइएको थियो । गौरवको आयोजना भनिएको उक्त अभियानसँगै वडा नं. ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण गर्ने लक्ष्य राखिएको थियो । साढे छ करोड रुपैयाँभन्दा बढीको सो आयोजना पनि निर्माणको चरणमा रहेको छ । पुलको शिलान्यास संघीय सांसद राजेन्द्र लिङ्देनले गरेका थिए भने बाह्रदशी–६ स्थित साधुकोटीमा बाह्र करोड रुपैयाँको लागतमा भ्यूटावर निर्माण योजनालाई गौरवको आयोजनाका रुपमा निर्माण गर्न थालिएको छ ।

बाह्रदशीस्थित साधुकुटीको बेग्लै एतिहासिक एवम् धार्मिक महत्व छ । झापाका प्रचीन सम्पदा मध्येको एक साधुकुटीलाई पर्यटकीय दृष्टिले समेत प्रमुख तथा आकर्षक गन्तव्य बनाउने उद्देश्यले टावर निर्माणको काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी बाइस बिगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पनि पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन छत्तीस करोड रुपैयाँ लागत निर्धारण गरिएको छ । त्यस्तै बाह्रदशी–६ को कुमाल गाउँ जोड्ने सडक निर्माण कार्य, अन्धुवा खोलामा पक्की पुल, राजगढ बजारको स्तरोन्नति र केही कालोपत्रे सडक निर्माणलाई निरन्तरता दिने जस्ता जनसरोकारका विषयलाई पालिकाले महत्वका साथ अघि बढाउने भएको छ । कोरोनाको कहरकाबीच पनि चुनौतिको व्यवस्थापन गर्दै विकास निर्माणलाई प्राथमिकता दिनु स्वागतयोग्य काम हो ।

कोरोना त्रास तत्काल अन्त्य हुने सम्भावना छैन । त्यसैले बुद्धिमानी हुन्छ, यो सँगै मितेरी लगाउँदै अघि बढ्नु । कोरोना प्राथमिकतामा पर्नुपर्छ सरकारका लागि । साथै लिएर हिँड्नु भनेको असावधानी वा लापरवाही गर्नु हुँदै होइन । स्वास्थ्यका मापदण्डहरुको अक्षरशः पालना गर्दै उच्च सतर्कताका साथ नियमित गतिविधि सञ्चालन गर्नु व्यक्ति, संस्था वा सरकारको मूल दायित्व बन्नु पर्दछ । असावधानीले अनपेक्षित परिणाम आउन सक्छ, आफू वा आफ्ना प्रियजनसँग चिरवियोगको सामना गर्नुपर्ने पनि हुन सक्छ । अन्यत्रका उदाहरणहरु हेरेर, सिकेर अत्यन्त धेरै सजगता अपनाएर बाह्रदशीको जस्तै नियमित गतिविधि सञ्चालन गर्नुपर्छ, यसका लागि बाह्रदशी उदाहरण बन्न सकोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here