मेचीमा सशुल्क पिसिआर परीक्षण सेवा सुरु

१४ आश्विन २०७७, बुधबार मा प्रकाशित

झापा,

मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पिसिआर परीक्षण सेवा शुरु गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पिसिआर परीक्षण गरेवापत नेपाल सरकारले तोकेबमोजिम रु. दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पिसिआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को एउटा मेसिन समेत थपिने उहाँले बताउनुभयो ।

सरकारले लक्षण नभएकाहरुको पिसिआर परीक्षण नगराउने नीति लिएपछि सर्वसाधारणले शुल्क तिरेर भए पनि स्वेच्छिक परीक्षण गराउन थालेका छन् । तर कोभिड अस्पतालमा भर्ना भएका बिरामीका लागि भने पिसिआर परीक्षण निःशुल्क गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिनुभयो ।

झापामा मेची प्रादेशिक मातहतका दुई वटा मेसिनबाट मात्र पिसिआर परीक्षण हुँदै आएको छ । पछिल्लो समय पिसिआर गराउनेको सङ्ख्या न्यून हुँदै गएको उहाँले बताउनुभयो ।

अस्पतालमा दैनिक एक हजार जनासम्मको सो परीक्षण गर्ने क्षमता छ । मेसिनको क्षमताको भने आधा पनि उपयोग भएको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here