बाह्रदशीको स्तुत्य कार्य

२१ आश्विन २०७७, बुधबार मा प्रकाशित

मानिसको ‘दिन सक्ने’ क्षमता सँधै एकनाश रहँदैन । यस्तो क्षमता  अझ लोकोपकारी कार्य र पछिल्लो पुस्ताको हितमा देखिएकोछ भने त्यो लगानी र क्षमता सँधै बन्दनीय हुन्छ । समाजमा यस्ता मानिस औंलामा गन्न सकिने मात्र हुन्छन् जसले आफूलाई मेटेर अरुलाई बलियो बनाउने उपक्रम गरेका छन् । अर्थात् समाजको सेवा, सुविधा र उन्नतिका लागि उमेर, बैंश, ऊर्जा र कर्म समर्पण गर्ने थोरै मात्र हुन्छन् । तिनकै लगानी, सेवा र योगदानले समाज परिवर्तनमा सघाउ
पु¥याएको हुन्छ, समाजभित्रका अन्य अवयवहरुलाई स्वस्थ, सुदृढ र उन्नत बनाएको हुन्छ । हाम्रो परम्पराले त्यस्ता उपकारी, सहयोगी, निःस्वार्थ सेवीहरुलाई स्मरण, सम्मान र पुनस्र्मरण गर्न सिकाएको छ । पूर्वज, अग्रज तथा सुधारकहरुको योगदानको सम्मान गर्दै आगतलाई हस्तान्तरण गर्ने चेतना प्रवाह गरेको छ ।

नेपाली समाजको यस्तो विशिष्टता अहिले क्रमशः धुमिल हुँदै गएको छ । जसले समाज परिवर्तनका लागि पसिना बगाए, उमेर र ऊर्जा खर्च गरे, आफूलाई बिर्सिएर समाज सेवामा समर्पित भए उनीहरु समाजबाट विलुप्त हुनुहुँदैन । यदि त्यसोभयो वा गरियो भनेधरातल बिर्सिएको आरोप मात्र होइन कृतघ्नताको दुर्नाम समेत भोग्नु पर्नेछ । झापाकै माटोमा त्यस्ता धेरै अगुवाहरु ओझेलमा पर्दै जान थालेका छन् । व्यक्ति मरणशील हुन्छ, भौतिक रुपले शरीर नश्वर छ, नाश हुन्छ तर ऊ द्वारा सम्पादित कर्म समाजसापेक्ष छ वा थियो भने त्यसले मर्नु हुँदैन । यो भन्दाभन्दै पनि यही माटोभित्र विभिन्न कालखण्डमा भिन्न–भिन्न ढंगले योगदान दिने सत्पात्रहरु कति जीवनकालमै ओझेलमा पर्दै गएका उदाहरण छन् । मृत्युपर्यन्त सम्झना, श्रद्धा र पूजा गर्नुपर्ने, अरुको सुख, खुशी र प्रगति देख्न खोज्नेहरु समाजका गहना हुन्, जसलाई
इतिहासको सबै कालखण्डमा स्मरण गरिरहनु पर्दछ ।

झापा जिल्लाको हालको बाह्रदशी गाउँपालिकाले आफ्नो भूगोलभित्र रहेर त्यहींको उन्नतिका खातिर सम्पूर्ण वय खर्च गर्नु हुने, संलग्नताका आधारमा पूर्व राष्ट्रसेवक कर्मचारीलाई अद्वितीय सम्मान गरेको समाचार छ । यो समाचार सुखद् मात्र होइन उदाहरणीय, अनुकरणीय हुनुपर्दछ जो कोहीका लागि । तत्कालीन राजगढ गाउँ विकास समितिको सचिवका रुपमा कार्यरत इन्द्रप्रसाद अधिकारीले आफू कार्यरत् रहँदा त्यहाँको शैक्षिक, सामाजिक, स्वास्थ्य, सुरक्षा लगायतका क्षेत्रमा उत्कृष्ट सेवा गरेको भन्दै गाउँपालिकाको तर्फबाट नगदसहित सम्मान गरेको छ ।

सम्मान प्रदान गर्दै पालिका प्रमुख खड्गप्रसाद राजवंशीले अधिकारीको मुक्तकण्ठले प्रशंसा मात्र गरेनन् उनलाई आदिवासीका संरक्षक नै बताए । आदिवासी राजवंशी बहुल क्षेत्र राजगढमा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी पोष्ट स्थापना, सञ्चालनदेखि सामुदायिक अध्ययन केन्द्रको स्थापनामा समेत महत्वपूर्ण योगदान दिएका अधिकारी त्यस क्षेत्रमा आज पनि ‘इन्द्र सचिव’ उपनामले परिचित छन् ।

सेवानिवृत्त जीवन बिर्तामोडमा बिताइरहेका अधिकारी अस्वस्थ भएकै कारण पालिका परिवारले उनलाई निवासमै उपस्थित भएर सम्मान गर्नु पालिकाको स्तुत्य कार्य हो । समाज रुपान्तरणमा बल, बुद्धि, क्षमता, समय र ऊर्जा खर्च गर्ने सबै समाजका बन्दनीय हुनुपर्छ । अनि मात्र भावीपुस्ताले सामाजिक बन्न उत्प्रेरणा प्राप्त गर्न सक्छ । बाह्रदशीको यो उदाहरण सबै तह, क्षेत्रमा पुगोस्, अरु धेरै इन्द्रप्रसाद जन्मिउन र समाज सापेक्ष मानसिकता र कर्म बढेर जाओस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here