निर्यात बढ्यो, घटेन व्यापार घाटा

२८ आश्विन २०७७, बुधबार १०:५३ मा प्रकाशित
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

बिर्तामोड,

Advertisement

पूर्वीनाका काँकरभिट्टा हुँदै भारत लगायत तेस्रो देश निर्यात हुँदै आएको कृषि जन्य सामग्रीको निर्यात बढे पनि भुटान र बंगलादेशसँगको व्यापार घाटा भने बर्षेनि चुलिँदै गएको छ ।

बंगलादेश तथा भुटानको ट्रेड मेची भन्सार कार्यालयसँग मात्र रहे पनि निकासी र पैठारीमा सन्तुलन नहुँदा यी देशहरुसँगको व्यापार घाटा बढेको हो । नेपालको बंगलादेशसँग ११ प्रतिशत व्यापार घाटा भएको हो ।

नेपालले भारतलाई ८७ प्रतिशत कृषिजन्य वस्तु निर्यात गर्छ भने बंगलादेश र भुटान बाहेक अन्य देशमा १.५ प्रतिशत मात्र सामग्री निर्यात गर्दै आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्माले जानकारी दिए ।

कोरोना भाइरसका कारण औद्योगिक तथा व्यापारिक क्षेत्रको आर्थिक कारोवार सुस्त भइरहेका बेला कृषिजन्य वस्तुको कारोबार भने फस्टाएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै चालू आर्थिक वर्षको साउन र भदौ महिनामा ५१ लाख किलो चिया निर्यात भएको थियो । गत वर्ष सोही अवधिमा २३ लाख किलो मात्र चिया निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

त्यस्तै नगदेवालीका रुपमा रहेको अदुवा निर्यातमा समेत उल्लेख्य सुधार भएको छ । चालू आर्थिक वर्षको दुई महिनामा २५ लाख १५ हजार केजी अदुवा निर्यात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ११ लाख ७६ हजार केजी अदुवा निर्यात भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो आर्थिक वर्षमा कृषिजन्य वस्तुको निकासीमा सुधार भएको भन्सार अधिकृत विश्वकर्माले बताए । उनले भने– ‘कृषिजन्य वस्तुको निर्यातमा सुधार भएको छ, तर व्यापार घाटा भने बर्षेनि बढ्दै गएको छ ।’

बंगलादेशसँग व्यापार गर्ने एकमात्र भन्सारको रुपमा रहेको मेची भन्सार कार्यालयबाट वर्षेनि व्यापार घाटा बढेको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा एक अर्ब ४४ करोड व्यापार घाटा व्यहोरेको नेपालले गत आर्थिक वर्ष २०७६÷०७७ मा तीन अर्ब ९९ करोड व्यापार घाटा व्यहोरेको भन्सार अधिकृत विश्वकर्माले जानकारी दिए । नेपालबाट कृषिजन्य वस्तु मात्र निर्यात हुनु र बंगलादेशबाट मोटरपाट्र्स लगायतका महँगा सामान नेपाल भित्रिनुले पनि व्यापार घाटा बढ्दै गएको हो ।

भुटानसँग एक प्रतिशत मात्रै कृषि वस्तु निर्यात गर्दै आएको नेपालले चालू आर्थिक वर्षको हालसम्म कुनै पनि वस्तु निर्यात गर्न नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । भुटानसँग पनि नेपालको व्यापार घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा ९७ लाख ६२ हजार रुपैयाँ व्यापार घाटा भएको तथ्यांकमा उल्लेख गरिएको छ । भुटानबाट सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर, जिप्सन र कोइलाको आयात बढ्दै गएकाले आर्थिक घाटा अझै बढेर जाने सम्भावना रहेको भन्सार अधिकृत विश्वकर्माले बताए ।

यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाले गत साउन महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । ४३ करोडको लक्ष्य राखेको भन्सारले ५१ करोड राजश्व संकलन गरेको हो । त्यस्तै भदौ महिनामा ८४ करोड लक्ष्य राखेकोमा ८१ करोड राजश्व संकलन भएको छ । असोज महिनाको तेस्रो सातासम्ममा लक्ष्यको ६५ प्रतिशत राजश्व संकलन भइसकेको भन्सार अधिकृत विश्वकर्माले जानकारी दिए ।

पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने पेट्रोलियम पदार्थले भन्सार कार्यालयको ४० देखि ४५ प्रतिशत राजश्व संकलनमा टेवा पु¥याएको बताइएको छ । पेट्रोलियम पदार्थको आयातबाट मेची भन्सार कार्यालयमा दैनिक दुई करोड राजश्व संकलन हुने भन्सार अधिकृत विश्वकर्माको भनाइ छ । काँकरभिट्टा नाका हुँदै खाद्यान्न, तरकारी, गार्मेन्ट लगायतका सामानहरु समेत नेपाल भित्रिने गरेका छन् ।
सरकारले २०७६ साल चैत १६ गते नीतिगत निर्णय गर्दै भारतबाट आयात हुने सुपारीमा भने प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाउनु अघि भारतबाट सुपारी समेत आयात हुने गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here