हस्तकला र मुर्तीकलामा आफूलाई एक साधकको रुपमा जीवनलाई बेतित गराउँदै गर्ने कलाकारको खोजी गर्ने हो भने झापाका हिम्मत नेङमाङको नाम आउँछ । उनी भित्रको कुशल कलाकारिताले देश–विदेशमा उनलाई चिनाएको छ । फूलहरुलाई एक मालामा जोडिए झैं देश भरिका कलाकारहरुलाई एकै ठाउँ गोलबद्ध गराउने नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान कलाकर्मीेहरुको प्रतिष्ठित संस्था, राष्ट्र तथा अन्तर्राष्ट्रियका विभिन्न स्थान अनि देशका विभिन्न जिल्लाका व्यवसायिक कलाकर्मीहरु माझ नेम्वाङ परिचित, सबैको प्रिय र प्रेरक व्यक्ति बन्न सफल भएका छन् ।
कनकाई–३, सुरुङ्गा गोहीखाडी निवासी ५० बर्षीय नेम्वाङ साहित्य क्षेत्रमा पनि आवद्ध छन् । साहित्य चौतारीमा लामो समयदेखि आवद्ध बन्दै झापाली साहित्य क्षेत्रको उत्थानको निमित्त आफ्नो समयलाई खर्च गरिरहेका छन् । २०६१ सालबाट व्यवसायी बन्ने योजना बनाएर सुरुङ्गा बजारमा सेवारो आर्ट (चित्रकला) सञ्चालनमा गर्दै आउँदा कमाएको प्रसिद्धीका कारण आज उनले जुनसुकै ठाउँ, कुनाकन्दरामा व्यवसाय गरे पनि ग्राहकहरु उनलाई खोज्दै आउने पहिचान बनाइसकेका छन् ।
विगत सात बर्षदेखि घरलाई नै व्यवसायिक स्थल बनाएका छन् । सुरुङ्गा बजारदेखि करिब दुई किलोमिटर दक्षिण झापा रोडमा घामपानीबाट ओत लाग्न बनाएको घर सामान्य जीवन शैलीमा आधारित मात्र छैन, घरबारी सबैतिर कलाकारिताले भरिपूर्ण छ । विभिन्न सृजनात्मक मूर्ति र भेटघाट गर्ने स्थल, फलैंचा, फूलाबारी बगैंचालाई पनि बढो कौशलताले सजाएका छन् । त्यस ठाउँमा पुग्दा लाग्छ कुनै रमणीय स्थल रिसोर्ट, पार्क नै हो ।
बाल्यकालदेखि नै कला क्षेत्रप्रति अभिरुची हुँदाहुँदै पनि पारिवारिक, सामाजिक चलन र इच्छाले जागिरे बन्नुपर्ने बाध्यतामा परेपछि पढाईको लागि काठमाडौं पुगेका नेम्वाङ उतैबाट भारतीय सेनामा जागिर खान पुगे । सेनाको जागिरे जीवनमा सेनाको आन्तरिक अनुशासन, समयसँगै डिउटीमा तैनाथ हुनुपर्दा उनी भित्रको कलाकारिता गर्ने इच्छा कुण्ठित भएपछि जागिरलाई भन्दा कलाकारितालाई अघि बढाउने सोचले छँदाछँदैको भारतीय सेनाको जागिर खाएको १० बर्षमा अवकास लिएर नेपाल फर्किएका नेम्वाङ आजभोलि शान्त, सुन्दर ग्रामीण परिवेशमा ढुंगा, कटर, छिनो र रंगसँग रमाइरहेका छन् ।
यतिबेला नेम्वाङ आफंै मात्र होइन छोराछोरी र कला सिक्न आउनेहरुलाई रमाइलो र आनन्द दिलाई रहेका छन् । आधुनिक उपकरणहरुलाई शतप्रतिशत प्रयोगमा ल्याएका छन् । काम गर्न धेरै सजिलो र छिटो भएको उनी बताउँछन् । आर्मीमै हँुदा बचेको समयमा सामान्यरुपमा चित्र कोर्ने काम गर्दै जाँदा पछि आर्मीको विभागले नै नक्सा बनाउने जिम्मेवारी सुम्पिएपछि उनी भित्रको कलाकारिता उजागर भएर आएको नेम्वाङ बताउँछन् । पछिल्लो समयमा चित्रकलाभन्दा मूर्तिकला चाहिँ अझ महत्वपूर्ण लागेर मूर्तिकलालाई अघि बढाउने सोचलाई साकार गर्दै रात–दिन मूर्ति बनाइरहेका नेम्वाङलाई आजसम्म कति मूर्ति बनाए भन्ने यकिन तथ्यांक नै छैन । अनुमानित तीन हजारभन्दा बढी मूर्तिहरु बनाइसकेको उनी बताउँछन् ।
२३ सय बर्षअघि लिच्छवीकालका मूर्तिहरुको महत्व आज पनि उत्तिकै रहेको र इतिहासको एक दस्तावेज बनेकोले उनी पनि चाहन्छन् आफूले बनाएका मूर्ति अबको सयौं बर्षमा पनि रहिरहने र त्यो सँगै आफ्नो नाम पनि रहने हुँदा भविष्यका लागि आजैबाट मेहनत गरिरहेका छन् उनी । व्यवसायिक मूर्ति बनाउने काम उनको जीवनयापनको माध्ययम हो भने देश समाजको लागि भनेर आधुनिक मूर्तिहरु बनाएर सरकारलाई हस्तान्तरण गर्ने र आफंैले नेपालमै पहिलो एकल मूर्ति संग्रहालय निर्माण गर्ने कार्यलाई पूरा गर्न योजनाबद्ध भएर कामप्रति लागीरहेका छन् । अब उनको बृहत लक्ष्य भनेको आफूले देखेको सपना मूर्ति संग्रहालय स्थापना गर्नु रहेको छ ।
नेपालमा व्यवसायिक रुपमा मूर्तिकलामा लाग्नेहरु औलामा गन्न सक्ने मात्रमा छन् । आजको समयमा मूर्तिकलाको मागलाई परिपूर्ति गर्न यति दक्ष जनशक्तिले धान्न सक्ने अवस्था छैन, अझ वर्तमानभन्दा भविष्यमा मूर्तिकलालाई निरन्तरता दिनका लागि जनशक्ति तयार पार्न पनि उनी उत्साहित बनेका छन् । उनले मूर्तिका लागि चाहिने ढुंगा सरकारले उपलब्ध गराई दिएको खण्डमा स्थानीय सरकारले मूर्तिकार बन्न पठाएका नयाँ पुस्तालाई आफूले जानेको सीप सिकाई दिने प्रस्ताव स्थानीय सरकार समक्ष राखेको बताउँछन् । कलाकार नेम्वाङले एउटा मूर्ति बराबर छ लाख ५० हजार रुपैयाँसम्म लिएको स्मरण गर्दै भन्छन्– ‘कुनै मूर्ति बनाउन महिनौंदेखि बर्ष दिनभन्दा धेरै समय लाग्ने भएकाले मेहनत अनुसार पारिश्रमिक लिने गरेको छु ।’
भारतको बिहार, बंगाल, जालन्दा, दिल्ली, आसामसम्म नेम्वाङले बनाएका मूर्तीहरु पुगेको र नेपालका प्रदेश नं. १ का प्रायः सबै जिल्लामा आफ्नो सृजना स्थापना गरिएको देख्दा खुशी लाग्ने गरेको बताउँदै उनी भन्छन्– ‘केही महिनाअघि बसिरहेको अवस्थामा रुखबाट चराको अण्डा खस्यो खसेको अण्डा हेर्दा एक किसिमको अनौठो आकृति देखे त्यसलाई मूर्तिमा उतारेको छु यस्तो काम गर्दा बढी आनन्द मिल्छ ।’ उनले वर्तमानलाई भविष्यमा चिनाउन कोरोना महामारीले समाजमा पारेको प्रभावलाई पनि मूर्तिकलामा उतारेको बताए । नेम्वाङको घर, बारी र बगैंचामा राखिएका मूर्तिहरुलाई सूक्ष्म रुपले हेदै जानु हो भने घण्टौं लाग्छ । राष्ट्रिय, जिल्ला स्तरका विभिन्न दर्जनौं संघ–संस्थाबाट सम्मानित भइसकेका नेम्वाङको जोस, जागर, योजनालाई हेर्ने र बुझ्ने हो भने नेम्वाङ लाखौं नागरिकका लागि प्रेरणाका श्रोत बन्न सक्छन् ।
प्रस्तुति : विनोद पाण्डे